काठमाडौं । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले गल्छी-त्रिशूली सडक र त्रिशूली नदीका विभिन्न पुलमा क्षति पुर्याएपछि विभिन्न चार वैकल्पिक सडक संचालनमा ल्याइएको छ ।
सडक डिभिजन नुवाकोटले धादिङ, नुवाकोट र रसुवा जाने चार वैकल्पिक सडकहरू निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात संचालनमा ल्याएको हो ।
पूर्वाधारमन्त्री सुनिल लम्सालले सामाजिक संजाल फेसबुक मार्फत चार वैकल्पिक सडक संचलनमा ल्याइएको जानकारी दिएका हुन् ।
उनका अनुसार धादिङबेँसी जान पृथ्वी राजमार्गको मास्टारदेखि त्रिशूली पुल पार हुँदै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार, परेवाटार हुँदै धादिङबेसीसम्म सडक संचालनमा ल्याइएको छ ।
त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालले जोड्न गल्छी त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दाँया किनार तर्फबाट कल्लेरीटार- कोशीखोला-पिमलटार-दर्शनटार-छत्रेखोला-गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म ४० किमी सडकमा यातायात संचालन गरिएको छ ।
देवीघाट स्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पको रूपमा पिपलटार-धमले-निरञ्जना-बाघखोर-हर्रे-देउराली-कोल्पुटार सडकमार्फत चार पाङ्ग्रे सवारी संचालन गर्ने व्यवस्था मिलाइएको छ ।
रसुवा आवतजावतका लागि ढिकुरे (मध्यपहाडी राजमार्ग) हुँदै फेदी बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्या ङ, सानो खोला, धनस्वारा, भोर्ले, जिबजिबे, बोगटीटारसम्मको नुवाकोट खण्डमा सडक संचालन योग्य बनाइएको छ । साथै, रसुवा खण्डमा पनि मर्मत कार्य जारी रहेको उनले जानकारी दिएका छन् ।
सडक डिभिजन नुवाकोटले आपतकालीन अवस्थामा विभिन्न उपकरण प्रयोग गरी सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्ने कार्य निरन्तर गरिरहेको छ।


