काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)कै लामो महादेवटार सुरुङ ब्रेक थ्रु भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको महादेवटारको बाँयातर्फको ३४८६ मिटर लामो सुरुङ ब्रेक थ्रु भएको हो ।
आयोजनासँग सम्बन्धित इन्जिनियर मंगालाल श्रेष्ठले सामाजिक संजाल फेसबुकमार्फत महादेवटार सुरुङ ब्रेक थ्रु भएको जानकारी दिएका छन् । उनले धेद्रेबाट महादेवटार जोड्ने ३.४८६ किमी लामो सुरुङ सफलतापूर्वक ब्रेक थ्रु भएको बताएका छन् ।
‘बाढीले ल्याएको जीवन मरणको दुःखको बेलामा एउटा सुखद् खबर छ । आज हामी संलग्न काठमाडौं तराई फास्ट ट्रयाक आयोजनामा पर्ने संलग्न काठमाडौं तराई फास्ट ट्रयाक आयोजनामा पर्ने ३.४८६ किमी लामो धेद्रे-महादेवटार टनेलको सफलतापूर्वक ब्रेक थ्रु भएको छ,’ उनले लेखेका छन् ।
योसँगै फास्ट ट्रयाक निर्माणमा थप उपलब्धी हासिल भएको छ । फास्ट ट्रयाकमा एकैपटक ७ वटा सुरुङ निर्माण भइरहेका छन् । फास्ट ट्रयाकको कुल लम्बाइको १५.४६ प्रतिशतखण्ड सुरुङमार्ग रहेको छ । कुल ७०.७९९ किमी लामो फास्ट ट्रयाकमा कुल ११.२१ किमी लम्बाइ (एकतर्फी)का सुरुङ निर्माण भइरहेका हुन् । हरेक स्थानमा सवारी साधन जाने र आउने छुट्टाछुट्टै सुरुङ निर्माण भइरहेका हुन् ।
महादेवटारकै दाँयातर्फको ३४२२ मिटर लामो अर्को सुरुङ पनि ब्रेक थ्रु नजिक पुगेको छ । यसको पनि ३ हजार मिटर बढी खनिसकिएको बताइएको छ । महादेवटार सुरुङमा लाइनिङको काम पनि सँगसँगै भइहरेको छ । बाँयातर्फ आधा बढी सकिसकेको छ भने दाँयातर्फ एकतिहाई बढी लाइनिङको काम सकिएको छ । महादेवटार सुरुङको ठेक्का चाइना स्टेटले २१ अर्ब ६१ करोड रुपैयाँमा पाएको छ ।

फास्ट ट्रयाककै तेस्रो र चौथो लामो धेद्रे र लेनडाँडा दुवै सुरुङ २ वर्ष अघि नै ब्रेक थ्रु भइसकेको छ । काठमाडौंबाट निजगढ जानेतर्फको १७५३ मिटर लामाे धेद्रे सुरुङ २०८१ साउन २१ गते र काठमाडौं आउनेतर्फको १६५३ मिटर लामो सुरुङ २०८१ जेठ ११ गते ब्रेक थ्रु भएको थियो ।
त्यस्तै, लेनडाँडाको काठमाडौंबाट निजगढतर्फ जाने लेनडाँडामा १६३३ मिटर २०८१ जेठ ४ गते र काठमाडौंतर्फ आउने १६२२ मिटर लामो सुरुङ २०८१ असार २० गते छेडिएको थियो । लेनडाँडा सुरुङमा सेकेढडरी लाइनिङको काम समेत सकिएको छ भने धेद्रेमा अन्तिम चरणमा पुगेको छ ।
यी बाहेक चन्द्रामभीर, देवीचौर र मौरीभीर सुरुङ खन्ने काम धमाधम भइहरेको छ । फास्ट ट्रयाकको दोस्रो लामो चन्द्राम भीर सुरुङ खन्ने काम करिब ३० प्रतितश सकिएको छ । यहाँ बाँयातर्फ २२१३ मिटर र दाँयातर्फ २२६१ मिटर लामो सुरुङ खन्ने काम भइरहेको छ । साथै, यो सुरुङमा पनि सेकेण्डरी लाइनिङको काम सुरू भइसकेको छ ।
देवीचौरमा बाँयातर्फ १०७५ मिटर र दाँयातर्फको ११०० मिटर सुरुङ निर्माण गरिँदैछ । सिसौटारमा फास्ट ट्रयाककै सबैभन्दा छोटो सुरुङ निर्माण भइरहेको छ । यहाँ दाँयातर्फ ४८० मिटर र बाँयातर्फ ५६० मिटर लामो छ ।
त्यस्तै, मौरीभीरमा दाँयातर्फ ५३६ मिटर र बाँयातर्फ ६६३ मिटर लामो सुरुङ निर्माण भइरहेको छ । देवीचौर र मौरीभीर सुरुङ दोस्रो चरणमा ठेक्का लगाइएकाले प्रगति कम छ ।
वि. सं. २०७४ देखि सुरू गरिएको फास्ट ट्रयाकको गत असार मसान्तसम्म ४८.७२ प्रतिशत काम सकिएको छ । हालसम्म समष्टिगत रूपमा ९२ अर्ब ६८ करोड रुपैयाँ खचए भइसकेको छ ।


