हुन्डाईको ध्यान अब रग्ड र मस्कुलर गाडीमा

काठमाडौं । दक्षिण कोरियाली चर्चित अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो गाडी उत्पादनको रणनीति परिवर्तन गर्ने भएको छ । कम्पनीले लाइफ स्टाइल भेहिकलको विकास गर्दै आफ्नो बिक्रीमा बढोत्तरी गर्ने योजना अगाडि बढाएको हो ।

हुन्डाईले नयाँ ‘बडी-अन-फ्रेम प्लेटफर्म’मा आधारित रहेर लाइफ स्टाइल पिकअप र रग्ड एसयूभीहरू विकास गर्ने तयारी गरेको हो । यस्ता ठूला र मस्कुलर गाडी कम्पनीले अमेरिकामा रहेको प्लाण्टबाट उत्पादन गर्नेछ ।

यसअघि हुन्डाई विद्युतीय र सहरी क्षेत्रको लागि कार उत्पादन गर्ने कम्पनीको रूपमा परिचित थियो । आफ्नो पुरानो छविलाई विस्तार गर्दै आगामी दशकमा पिकअप, अफरोड एसयूभी र रग्ड बडी-अन-फ्रेम गाडी उत्पादनमा लाग्ने उसले संकेत दिएको हो ।

हुन्डाईका प्रमुख जोसे मुनोजले हालै आयोजित ‘इन्भेष्टर डे’ कार्यक्रममा कम्पनीको नयाँ उत्पादन रणनीति सार्वजनिक गरेका हुन् । उनले त्यस कार्यक्रममा एउटै बडी-अन-फ्रेम प्लेटफर्ममा धेरै मोडल विकास गर्ने योजना सुनाएका थिए ।

हुन्डाईले सन् २०३० सम्म विश्वव्यापी बिक्री ३५ प्रतिशतले बढाएर ५५ लाख ५० हजार युनिट पु¥याउने लक्ष्य राखेको छ । कम्पनीले आगामी चार वर्षमा हुने अनुमानित बिक्री वृद्धिको करिब आधा हिस्सा नयाँ सेग्मेन्ट र नयाँ उत्पादन ल्याउने अपेक्षा राखेको छ । त्यसैको लागि पहिलोपटक बडी-अन-फ्रेम सेग्मेन्टमा ठूलो लगानी गर्न लागेको हो ।

नयाँ प्लेटफर्ममा बन्ने पहिलो मोडल मिड साइज पिकअप ट्रक हुने बताइएको छ । लामो समयदेखि विकासमा रहेको उक्त पिकअप परम्परागत हाइब्रिड वा रेन्ज एक्सटेन्डर प्रविधि मध्ये कुनै एकमा आउने अनुमान छ । यसलाई हुन्डाईले सन् २०२९ बाट बिक्री थाल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नयाँ प्लेटफर्मका बारेमा हुन्डाई मोटर्सका मुखिया मुनोज भन्छन्, ‘हामी नयाँ प्लेटफर्ममा आधारित उत्पादन धेरैभन्दा धेरै विकास गर्न चाहन्छौं । एउटै प्लेटफर्मबाट धेरै मोडल विकास गरेर उत्पादन वृद्धि गर्ने हाम्रो लक्ष्य हो ।’

नयाँ रग्ड मोडलहरू अमेरिकामा उत्पादन हुनेछन् । सम्भवत हुन्डाईको जर्जिया राज्यमा रहेको प्लाण्टबाट मस्कुलर उत्पादन सुरू हुनेछ । जहाँ अहिले पनि किया र हुन्डाईका ठूला मोडल उत्पादन हुन्छन् ।

हुन्डाईले अमेरिकामा उत्पादन गर्ने नयाँ पिकअप र एसयूभी अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गर्ने जनाइसकेको छ ।


Back_to_top