चीन र वेलायतसँग ४० वटा बेलिब्रिज मागियो

काठमाडौं । सरकारले वेलायत र चीनसँग ४० वटा बेलिब्रिज सहयोग मागेको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीले ३५ मोटरेबल पुल बगाएपछि सरकारले दुई देशसँग ४० वटा बेलिब्रिज मागेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक संजालमार्फत बेलायतसँग १० वटा र चीनसँग ३० वटा बेलिब्रिज उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंस्थित बेलायती राजदूतावासलाई ७० मिटरभन्दा लामा र डबल लेन भएका १० वटा बेलिब्रिज अनुदानमा उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।

त्यस्तै, नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको उनले जानकारी दिएका छन् ।

उनले सरकारले क्षतिग्रस्त पूर्वाधारहरू जतिसक्दो चाँडो सम्भव भएमा मर्मत गर्ने र मर्मत सम्भव देखिए पुनः निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । प्रभावित क्षेत्रमा सञ्चार र ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुर्याउन बाँकी रहेको उनले जानकारी दिए ।

अन्य पूर्वधार पहिल्यकै अवस्थामा फर्काउन सम्बन्धित मन्त्रालयहरूको नेतृत्वमा तीव्र गतिमा काम भइरहेको छ। उनका अनुसार गल्छी-मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी निर्माण अघि बढाइएको छ। बिहीबारदेखि नै रुख कटान र भित्ता काटेर ट्रयाक खोल्ने काम सुरू भएको छ।

कृष्णभीरको समस्या दीर्घकालीन रुपमा समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे आवश्यक अध्ययन गरिने उनले बताए । ‘भदौभित्र उक्त सडकखण्डमा यातायात सञ्चालन गर्नेछौं । परेवाभीरमा डाइभर्सन निर्माण भइ यातायात सुरू भइसकेको छ भने त्यसको स्तरोन्नतिको काम पनि भइरहेको छ,’ उनले भनेका छन् ।

त्रिशूली–वेत्रावती सडकखण्डअन्तर्गतको १० किलोमिटरमध्ये ८ किलोमिटरमा लेदो हटाइएको छ भने बाँकी २ किलोमिटरमा काम जारी रहेको उनले जानकारी दिएका छन् । क्षतिग्रस्त थप ३५ किलोमिटरमा काम गर्नका लागि आपत्कालीन बोलपत्र आह्वान भइसकेको उनले बताए ।

त्यस्तै, बाढीले बगाएको पुलमध्ये तीन ठाउँमा बेलिब्रिज जडानको काम अघि बढिसकेको उनले जानकारी दिए । उनका अनुसार देवीघाटस्थित तादीमा बेलिब्रिज राख्न फाउण्डेसन निर्माण सुरू भइसकेको छ। शुक्रबारसम्म तादीमा बेलिब्रिज पुर्याउने प्रयास भइरहेको छ।

बेत्रावतीमा बेलिब्रिज राख्न सर्भे भइ फाउण्डेसन निर्माण सुरू भएको छ । त्रिशूलीमा बेलिब्रिज जडान गर्न सर्भे सकिएको उनले बताए । उक्त स्थानमा १२० मिटरको बेलिब्रिज आवश्यक देखिएको छ।


Back_to_top