अलह्वील ड्राइभमा आयो सोरेन्टो हाइब्रिड, चाँडै नेपाल आउने

काठमाडौं । कोरियन अटोमोबाइल ब्राण्ड कियाको सोरेन्टो हाइब्रिडको फेसलिफ्ट मोडल भारतमा सार्वजनिक भएको छ ।

कम्पनीले भारतीय बजारमा नयाँ सोरेन्टो हाइब्रिडको ८ भेरियन्ट बिक्री सुरू गरेको हो । कम्पनीले नयाँ सोरेन्टको सुरूआती मूल्य २९ लाख ४९ हजार भारु र टप भेरियन्टको ४० लाख १९ हजार भारु (एक्स शोरुम) तोकेको छ । साथै, कम्पनीले सोरेन्टोको डिजेल भर्सन समेत सार्वजनिक गरेको छ ।

कम्पनीले सोरेन्टो हाइब्रिड पहिलोपटक अलह्वील र फ्रन्ट ह्वील दुवै अप्सनमा ल्याएको छ । कियाले चौथो जेनेरेसनको सोरेन्टोको डिजाइनमा व्यापक परिवर्तन गरेको छ । नयाँ सोरेन्टो कियाको नयाँ ‘अपोजिट युनाइटेड’ डिजाइन ल्याङ्ग्वेजमा आधारित छ । जसको बाह्य र भित्री बनावटमा व्यापक परिमार्जन गरिएको छ ।

कम्पनीले नयाँ सोरेन्टोमा ईभी ९ बाट प्रेरित ठाडो एलईडी हेडलाइट र स्टार म्याप डीआरएल दिएको छ । यसले गाडीलाई पुरानो मोडलको तुलनामा अझ धेरै प्रिमियम, बोल्ड र आधुनिक देखाएको छ ।

बोनेटको अगाडिको भागलाई अझ ठाडो र सीधा बनाइएको छ। बम्परको तल्लो भागमा फराकिलो स्कीड प्लेट र एयर इन्टेक राखिएको छ । साइड डिजाइनमा क्लिन र बोल्ड बडी लाइन्स राखिएका छन् । भेरियन्ट अनुसार नयाँ डिजाइनका १८ र १९ इन्चको अलोय ह्वील उपलब्ध छन्। पछाडिको भागमा दुवैतर्फका टेललाइटलाई माथिबाट जोडिएको छ। नयाँ बम्पर र परिमार्जित स्कीड प्लेटले पछाडिको लुकलाई क्लिन र मस्कुलर बनाएको छ।

किया सोरेन्टो हाइब्रिड ६ र ७ सिट अप्सनमा उपलब्ध छ । क्याबिनको सबैभन्दा ठूलो आकर्षण ड्यासबोर्डमा रहेको एउटै प्यानलभित्र जोडिएको ड्युअल १२.३ इन्चको कर्भ डिजिटल डिस्प्ले हो । यसमा इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट स्क्रीन एकसाथ जोडिएका छन्।

सेन्टर कन्सोलमा परम्परागत गियर लिभरको सट्टा आधुनिक सिफट बाइ वायर रोटरी डायल राखिएको छ । यसले गर्दा कन्सोलमा कप होल्डर, वायरलेस चार्जिङ प्याड र अन्य स्टोरेजका लागि पर्याप्त ठाउँ मिलेको छ । यसको क्याबिनमा नाप्पा लेदर, सिन्थेटिक सुेड र उच्च गुणस्तरका सफ्टटच मेटेरियल प्रयोग गरिएको छ । यसमा परिमार्जित ६४ कलर एम्बियन्ट मुड लाइटिंग स्ट्रिप्स, हेड अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रीक सिट जस्ता फिचर छन् ।

कम्पनीले फेसलिफ्ट सोरेन्टोको पावरट्रेन भने पुरानैलाई निरन्तरता दिएको छ । यसमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रो म्याग्नेटिक मोटर दिएको छ । यसमा ब्याट्री भने १.४९ किलोवाट आवर क्षमताको छ । यसको इन्जिन र मोटरले संयुक्त रुपमा २३५ हर्ष पावर तथा ३५० न्युटन मिटर टर्क प्रदान गर्छ ।

सुरक्षाको हिसाबले पनि यो एसयूभी निकै उत्कृष्ट रहेको छ । यसमा भेरियन्ट अनुसार ७ देखि ११ वटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउण्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट लगायतका थुप्रै आधुनिक फिचर पाउन सकिन्छ ।

चाँडै नेपाल आउने

भारतमा बिक्री सुरू भएसँगै सोरेन्टो हाइब्रिड फेसलिफ्ट चाँडै नेपाली बजारमा आउने छ । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले किया सोरेन्टो एसयूभीको नयाँ भर्सन नेपाल ल्याउने भएको हो ।

कम्पनीले नयाँ सोरेन्टो नेपाल ल्याउन प्रक्रिया समेत सुरू गरिसकेको छ । कम्पनीले चाँडै बिक्री थाल्ने तयारीका साथ नयाँ सोरेन्टो अधिकतम खुद्रा मूल्य मूल्य प्रकाशन गरेको छ । कम्पनीले यो गाडीको खुद्रा मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले नयाँ सोरेन्टो नेपालमा कहिले सार्वजनिक हुन्छ भन्ने आधिकारिक घोषणा गरेको छैन । तर, तर, यही फेस्टिभ सिजनमा बिक्री सुरू हुने अनुमान छ ।


Back_to_top