ईभी चार्जर कत्रो राख्ने ? यस्तो आयो अध्ययन प्रतिवेदन

काठमाडौं । विद्युतीय सवारीसाधनका लागि मेगावाट क्षमताका अल्ट्रा–फास्ट चार्जर विकास भइरहेका बेला एउटा नयाँ अध्ययनले चार्जिङ व्यवसायमा उच्च पावरभन्दा धेरै चार्जिङ प्लग बढी महत्वपूर्ण हुन सक्ने देखाएको छ ।

फिनल्यान्डको ईभी चार्जिङ उपकरण तथा सफ्टवेयर कम्पनी केम्पपावरले सार्वजनिक गरेको श्वेतपत्रअनुसार चार्जिङ स्टेशनमा जडान गरिएको कुल विद्युत् क्षमताभन्दा चार्जिङ पोइन्टको संख्याले उपयोग दर र आम्दानीमा बढी प्रभाव पार्छ ।

कम्पनीले आफ्नो चार्ज आई एनालिटिक्स प्लेटफर्ममार्फत उत्तर अमेरिकी बजारबाट संकलन गरेको तथ्यांक विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
अध्ययनअनुसार आठवटा प्लग भएको चार्जिङ स्टेशनको उपयोग दर उच्च क्षमताका थोरै चार्जर भएको स्टेशनको तुलनामा तीन गुणासम्म बढी देखिएको छ ।

तथ्यांकले १०० किलोवाटबाट ४०० किलोवाट क्षमतामा पुग्दा स्टेशनको उपयोग दर करिब ३ प्रतिशतबाट ५ प्रतिशतभन्दा केही माथि मात्र पुगेको देखाउँछ । तर, दुईवटा प्लगबाट आठवटा प्लग पुग्दा उपयोग दर करिब २ प्रतिशतबाट १० प्रतिशतसम्म बढेको छ ।

ऊर्जा बिक्रीमा पनि धेरै प्लग भएका स्टेशन अगाडि छन् । औसतमा आठ प्लग भएको स्टेशनले १ लाख २८ हजार ३४२ किलोवाट आवर ऊर्जा वितरण गरेको छ । चार प्लग भएको स्टेशनले ६१ हजार ४५३ किलोवाट आवर मात्र वितरण गरेको तथ्यांकमा उल्लेख छ ।

केम्पपावरका अनुसार सबै ईभीले आफ्नो विज्ञापनमा उल्लेख गरिएको अधिकतम चार्जिङ क्षमता लामो समयसम्म प्रयोग गर्दैनन् । उदाहरणका लागि ३०० किलोवाट पीक चार्जिङ क्षमता भएको कारले १० देखि ८० प्रतिशत चार्ज हुँदा औसतमा १०० देखि १५० किलोवाट मात्र लिन सक्छ ।

त्यसैले प्रत्येक चार्जिङ पोइन्टमा अत्यधिक पावर उपलब्ध गराउनुभन्दा मध्यम क्षमताका धेरै प्लग राख्नु व्यवसायिक रूपमा बढी प्रभावकारी हुन सक्ने कम्पनीको निष्कर्ष छ । सबै कनेक्टर प्रयोग भइरहेको अवस्थामा प्रतिप्लग करिब १०० किलोवाट क्षमता प्रभावकारी हुने अध्ययनले देखाएको हो ।

केम्पपावरले ‘डिस्ट्रिब्युटेड पावर’ र ‘डाइनामिक पावर म्यानेजमेन्ट’ प्रणालीलाई चार्जिङ नेटवर्कको उपयुक्त मोडेलका रूपमा अघि सारेको छ । यस प्रणालीमा उपलब्ध कुल विद्युत् क्षमता आवश्यकताअनुसार विभिन्न चार्जिङ पोइन्टमा बाँड्न सकिन्छ ।

यो निष्कर्ष नेपालको सन्दर्भमा पनि महत्वपूर्ण हुन सक्छ। यहाँ चार्जिङ स्टेशन निर्माण गर्दा चार्जरको उच्च किलोवाट क्षमतालाई भन्दा धेरै प्लगमा भ्यान दिनु उपयुक्त हुन्छ । एउटै स्थानमा एक वा दुईवटा अत्यधिक क्षमताका चार्जर राख्नुभन्दा धेरै गाडीले एकैपटक चार्ज गर्न सक्ने मध्यम क्षमताका प्लग राख्नु बढी उपयोगी हुन सक्छ ।

विशेषगरी राजमार्ग र व्यस्त सहरी क्षेत्रमा भविष्यको चार्जिङ पूर्वाधार विस्तार गर्दा ‘कति किलोवाट ?’ भन्दा ‘एकैपटक कति गाडी चार्ज गर्न सकिन्छ ?’ भन्ने विषय महत्वपूर्ण बन्ने देखिएको छ । त्यसैले हाम्रो सडक संजाल र पूर्वाधार अनुसार ४० किलोवाट आवरदेखि १०० किलोवाट आवरसम्मको चार्जर उपयुक्त हुन सक्छ ।


Back_to_top