३ नयाँ एसयूभी ल्याउँदै महिन्द्रा, नेपालको लागि कुन रोचक ?

काठमाडौं । भारतीय एसयूभी एक्स्पर्ट महिन्द्राले सन् २०२७ सम्ममा तीन नयाँ मोडल बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले आउने वर्ष ३ नयाँ मोडल बजारमा ल्याउने भएको हो ।

कम्पनीले अटोमोबाइल बजारमा आफ्नो पकड थप मजबुद बनाउन थार फेसलिफ्ट ल्याउन लागेको छ । साथै, विल्कुलै नयाँ मोडल बीई-०७ र भिजन एस पनि ल्याउने जनाएको छ ।

बजारमा ल्याउने घोषणा भएको ३ वटै एसयूभी फरक सेग्मेन्ट र प्रविधिमा आधारित हुनेछन् । तीन ढोका भएको थारले लाइफस्टाइल भेहिकल खोज्नेको आवश्यकता पूरा गर्छ । बीई-०७ विद्युतीय एसयूभी सेग्मेन्टमा बीई-०६ भन्दा महँगो मूल्यमा आउने अनुमान छ ।

भिजन एस धेरै बिक्री हुने कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध हुनेछ । नयाँ प्रविधि र डिजाइन समेट्ने भिजन एस पनि निकै प्रतिक्षा गरिएको मोडल हो ।

सबैभन्दा पहिला आउँदै थार थ्री डोर फेसलिफ्ट

महिन्द्राको आउँदै गरेका तीनमध्ये महिन्द्रा थार थ्री डोर फेसलिफ्ट सबैभन्दा पहिला बजारमा आउने छ । हालै परीक्षणका क्रममा देखिएको तस्बिरहरुको आधारमा ठूलो परिवर्तनसहित नयाँ थार आउने छ ।

कम्पनीले थारको अगाडि फेसियामा ठूलो परिवर्तन गर्ने अनुमान गर्न सकिन्छ । नयाँ ग्रिल, एलईडी हेडल्याम्प र थार रक्सबाट प्रेरित डिजाइन एलिमेन्ट उपलब्ध हुनेछ । नयाँ थारको ह्वील पनि परिवर्तन हुनेछ ।

महिन्द्राले थारको इन्जिन लगायतका कुरा परिवर्तन गर्ने सम्भावना कम छ । अहिलेकै पेट्रोल र डिजेल इन्जिनमा आउने नयाँ थारमा म्यानुअल र अटोमेटिक गियरबक्स रहनेछ । रियर ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा नयाँ थार आउने छ ।

इलेक्ट्रीक एसयूभी बीई०७

महिन्द्राले ल्याउने दोस्रो महत्वपूर्ण उत्पादन बीई-०७ हुनेछ । यसलाई बीई ६ भन्दा ठूलो साइजमा ल्याउन लागिएको छ ।

सम्भवत सन् २०२७ लागेपछि (भारत मोविलिटी एक्स्पो २०२७) मा यसलाई सार्वजनिक गर्नेछ । बीई-०७ को लम्बाइ ४.६ मिटर हुने अनुमान छ । यसको धेरै कुरा अहिलेसम्म बाहिर ल्याइएको छैन ।

भिजन एसबाट नयाँ सेग्मेन्टमा प्रवेश

महिन्द्राले ल्याउन लागेका नयाँ उत्पादन मध्ये भिजन एसलाई धेरैले चासो दिएका छन् । यो एसयूभी भारतमा धेरै बिक्री हुने सेग्मेन्टमा उपलब्ध गराएको छ ।

कम्पनीले किया सेल्टोस र हुन्डाई क्रेटाको सेग्मेन्टमा बिक्री गर्नेगरी भिजन एस ल्याउन लागेको हो ।

भिजन एस महिन्द्राको नयाँ एनयू-आईक्यू मोडुलर प्लेटफर्ममा बन्ने अनुमान छ । यो प्लेटफर्मको विशेषता भनेको मल्टीपल पावरट्रेन प्रयोग गर्न मिल्नु हो ।

एनयू–आईक्यू प्लेटफर्ममा आन्तरिक दहन इन्जिन, हाइब्रिड तथा पूर्ण विद्युतीय पावरट्रेन प्रयोग गर्न सकिनेछ । महिन्द्राले यस प्लेटफर्ममा आधारित एसयूभीहरू सन् २०२७ देखि उत्पादनमा जाने जनाएको छ ।

उत्पादन सुरु हुने भनिएपनि भिजन एसमा लाग्ने इन्जिन, ब्याट्री क्षमता वा अन्य टेक्नीकल डिटेल केही बाहिर ल्याइएको छैन ।

तीन फरक रणनीति, एउटै लक्ष्य

महिन्द्राले यी ३ मोडलको सहायतामा भारतीय बजारमा आफुलाई थप बलियो बनाउने योजना अगाडि सारेको छ । जहाँ उपभोक्ताले इन्जिन, हाइब्रिड र ईभी सबै पाउने छन् ।

पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रिक प्रविधिलाई समानान्तर रूपमा अगाडि बढाउँदै बजारमा आफ्नो पकड बलियो बनाउने योजना महिन्द्राले अगाडि सारेको हो ।

नेपालको लागि कुन रोचक ?

महिन्द्राका सबै उत्पादन नेपालका लागि रोचक हुन्छन् । बिक्री संख्या ठिकठाक भएपनि महिन्द्राका एसयूभीहरु हाम्रो सडकमा सफल मानिन्छन् ।

नेपाली बजारमा महिन्द्राका फोर ह्वील गाडी निकै सफल छन् । यस्तोमा लाइफस्टाइल प्रोडक्ट थार सबैभन्दा रोचक हुनेछ ।


Back_to_top