तादीमा ‘एक्रो ब्रिज’ निर्माण रफ्तारमा

काठमाडौं । भदौ १० गते आएको बाढीले पक्कि पुल बगाएपछि नुवाकोटको विदुर नगरपालिका ५, देवीघाटस्थित तादी नदीमा बेलिब्रिज निर्माण रफ्तारमा अघि बढेको छ ।

नेपाली सेनाको इन्जिनियरिङ टोलीले ताँदीमा अमेरिकन प्रविधिको एक्रो ब्रिज धमाधम निर्माण गरिरहेको हो ।

नेपाली सेनाका अनुसार इन्जिनियरहरुले दिनरात पुल जडानको काम गरिरहेका छन् । उक्त पुल निर्माणमा ५५ जनाको टोलीले खटिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार उक्त पुलको लम्बाइ ६० मिटर रहेको छ । ५.५ मिटर चौडाइको यो पुलको भारवहन क्षमता ५० टन रहेको छ ।

पुलको मुख्य संरचना नदी माथि वारपार जोडिसकिएको छ । तीव्र गतिमा काम भइरहेकाले यो साता भित्रै निर्माण सम्पन्न गरी सवारी संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।यो पुल संचालनमा आएसँगै गल्छी विदुर सिधा सडक संजालमा जोडिनेछ ।

एक्रो ब्रिज बेलिब्रिज जस्तै देखिने प्रिफ्याब्रिकेटेड स्टिल ट्रसको आधुनिक पुल हो। यसका विभिन्न भागहरू (स्टिलका ट्रस, बिम र डेक) पहिले नै फ्याक्ट्रीमा बनेका हुन्छन्। निर्माण स्थलमा लगेर केवल बोल्ट र नट वा पिनको सहायताले जोडिन्छ।

यो पुल केही हप्तामै जडान गर्न सकिन्छ । आवश्यकता अनुसार पुलको लम्बाइ र भारवहन क्षमता बढाउन वा घटाउन सकिन्छ। कुनै ठाउँमा अस्थायी रूपमा प्रयोग गरिसकेपछि यसलाई खोलेर अर्को ठाउँमा लैजान र पुनः जडान गर्न सकिन्छ।


Back_to_top