एरोक्स १५५ र एनटर्क १५० बीच कडा टक्कर, तपाईंको रोजाइ कुन ?

काठमाडौं । नेपाली बजारमा प्रिमियम तथा पावरफुल स्कुटरको माग बढ्दै गएको छ । मुख्यगरी १५० सीसी आसपासको सेग्मेन्टमा तीव्र प्रतिस्पर्धा बढिरहेको हो ।

ग्राहकको चाहाना र बजारको बढ्दो मागलाई मध्येनजर गर्दै बिक्रेताहरूले पनि धमाधम पावरफुल स्कुटर भित्र्याइरहेका छन् । यसैक्रममा, गत साउनमा मात्रै नेपाली बजारमा टीभीएसको शक्तिशाली एनटर्क १५० स्कुटर आएको छ ।

जगदम्बा मोटर्सले सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा नयाँ पावरफुल एनटर्क सार्वजनिक गरेको हो । कम्पनीले हाल मूल्य नतोकी बुकिङ लिइरहेको छ । स्पोर्टी लुक्स, आधुनिक टेक फिचर र पावरफुल इन्जिनका कारण यसले राम्रै प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।

एनटर्क १५० को सिधा प्रतिस्पर्धा यामाहाको म्याक्सी स्कुटर एरोक्स १५५ सँग हुने देखिन्छ । यामाहा एरोक्स ३ वर्षदेखि नेपालमा बिक्री हुँदै आएको छ । यसले पनि राम्रै प्रतिक्रिया पाइरहेको छ । यहाँ हामीले यी दुई स्कुटर बीच तुलनात्मक भिन्नता बारे चर्चा गरेका छौं ।

डिजाइन

डिजाइनको हिसाबले यामाहा एरोक्स १५५ म्याक्सी-स्कुटर शैलीमा आधारित छ । यसको अगाडिको भाग आक्रामक देखिन्छ भने एलईडी हेडलाइट, स्पोर्टी बडी प्यानल, अग्लो टेल सेक्सन, डबल लेबल सिट र ठूलो १४ इन्च ह्वीलले यसलाई आकर्षक लुक दिएको छ । एरोक्सको डिजाइन यामाहाका स्पोट्र्स मोटरसाइकलबाट प्रभावित देखिन्छ ।

टीभीएस एनटर्क १५० मा आक्रामक तथा फ्युचरिस्टिक डिजाइन अपनाइएको छ । स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यसको डिजाइनमा क्वाड मल्टीपोइन्ट प्रोजेक्टर एलईडी हेडलाइट, एरोडाइनामिक विङ्लेट, नेकेड ह्यान्डलबार, स्पोर्टी मफलर, सिंगल पीस सिट र स्प्लिट ग्राब रेल दिइएको छ । जसले फरक र मस्कुलर लुक्स प्रदान गर्छ ।

इन्जिन

यामाहा एरोक्समा १५५ सीसी, सिंगल सिलिण्डर, लिक्विड कुल्ड, एफआई इन्जिन दिइएको छ । यसले १५ पीएस पावर र १३.९ एनएम टर्क उत्पादन गर्छ । यसमा यामाहाको भीभीए प्रविधि समेत उपलब्ध छ ।

टीभीएस एनटर्कमा १४९.७ सीसी, सिंगल सिलिण्डर, एयर कुल्ड, थ्री भल्ब, एफआई इन्जिन प्रयोग गरिएको छ । यसले १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ ।

एनटर्कको टप स्पीड प्रतिघण्टा १०४ किमी र एरोक्सको ११५ किमी रहेको छ । पावरमा एरोक्स अगाडि रहे पनि टर्कमा एनटर्क केही अगाडि छ ।

सस्पेन्सन, डाइमेन्सन र ब्रेक

एरोक्समा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि युनिट स्विङ ट्विन शक अब्जर्बार दिइएको छ । १२६ किलोग्राम तौल रहेको एरोक्सको लम्बाइ ह्वीलबेस १३५० एमएम र ग्राउन्ड क्लियरेन्स १४५ एमएम छ । यसमा ट्युबलेस टायर, अलोय ह्वील, अगाडि डिस्क ब्रेक, एबीएस र पछाडि ड्रम ब्रेक दिइएको छ ।

एनटर्कमा अगाडि हाइड्रोलिक ड्याम्परसहितको टेलिस्कोपिक सस्पेन्सन र पछाडि कोइल स्प्रिङसहितको हाइड्रोलिक ड्याम्पर दिइएको छ । एनटर्कको तौल ११५ किलोग्राम रहेको छ । यसको ग्राउण्ड क्लियरेन्स १५५ एमएम र ह्वीलबेस १२८५ एमएम छ । यसमा पनि ट्युबलेस टायर, अगाडि एबीएस सहितको डिस्ब्रेक, पछाडि ड्रम ब्रेक र अलोय ह्वील पाइन्छ ।

इन्धन ट्याकं

यामाहा एरोक्समा ५.५ लिटर र एनटर्कमा ५.८ लिटर क्षमताको इन्धन ट्याकं छ । यी दुवै स्कुटरमा ३० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज पाउन सकिन्छ ।

टेक फिचर

एरोक्स १५५ मा वाइ कनेक्ट एपसहितको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एलईडी लाइट, स्मार्ट की, ट्र्याक्सन कन्ट्रोल, अटो स्टप स्टार्ट सिस्टम, मल्टि फङसन की स्वीच, चार्जिङ पोर्ट, साइड स्ट्याण्ड कटअफ, ई२० कम्पिटेबल इन्जिन लगायतका फिचरहरू छन् ।

एनटर्क १५० स्कुटरमा सेग्मेन्ट पहिलो फुल डिजिटल टीएफटी क्लस्टर, नेभिगेसन असिस्ट, एलेक्सा इन्टिग्रेसन, स्मार्ट वाच इन्टिग्रेसन, म्युजिक कन्ट्रोल, अन्तिम पार्क लोकेसन, कल एसेप्ट रिजेक्ट, भेहिकल लाइभ ट्रयाकिङ र ओभर द एयर सर्भिस अपडेट सिस्टम पाइन्छ ।

साथै, आइगो असिस्ट बुस्ट मोड, राइडिङ मोड, ट्रयाक्सन कन्ट्रोल, हाजार्ड ल्याम्प, फलोमि हेड्ल्याम्प, क्रयास अलर्ट, हाइ स्पिड अलर्ट, इमर्जेन्सि ब्रेक वार्निङ, एडजस्टेबल ब्रेक लिभर, यूएसबी पोर्ट र अल इन वान लक जस्ता फिचरहरू पाइन्छ ।

टेक फिचरका हिसाबले एनटर्क १५० निकै अघि छ । यसका अलावा दुवै स्कुटरमा फ्रन्ट ग्लोभ बक्स र अन्डर सिट स्टोरेज उपलब्ध छ ।

मूल्य

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्ल्यू राइडले एरोक्स १५५ को मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।

जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको एनटर्क १५० को हालसम्म आधिकारिक मूल्य घोषणा गरेको छैन । कम्पनीले उचित मूल्यमा ल्याए प्रतिस्पर्धीलाई कडा टक्कर दिन सक्ने देखिन्छ ।

निष्कर्ष

समग्रमा पावर र स्पोर्टी राइडिङका लागि एरोक्स १५५ राम्रो देखिन्छ । फिचर, कनेक्टिभिटी तथा नयाँ डिजाइनका हिसाबले एनटर्क १५० आकर्षक विकल्प बन्न सक्छ । यद्यपि, एनटर्कको मूल्य घोषणा नभएकाले अहिले मूल्यका आधारमा कुन सस्ताे/महँगाे भन्न सक्ने अवस्था छैन ।


Back_to_top