टेस्लाका कारमा अब आफैँले उत्पादन गरेको ब्याट्री

काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले आफ्ना विद्युतीय कारमा आफैँले उत्पादन गरेको ब्याट्री प्रयोग गर्ने भएको छ ।

कम्पनीले आफ्नो प्लान्टमा प्रशोधन भएको लिथियम आयन ब्याट्री साइबरट्रकमा प्रयोग गरेर उत्पादन थालेको हो । टेस्लाले आफ्नो टेक्सासमा रहेको लिथियम रिफाइनरीबाट उत्पान गरेको लिथियमलाई ४६८० ब्याट्री सेलमा प्रयोग गरी साइबरट्रक तयार गरेको जनाएको छ ।

साइबरट्रकको आधिकारिक एक्स अकाउन्टबाट सेप्टेम्बर ४ मा कारखानाको तस्बिर राख्दै यसबारे जानकारी दिएको थियो । त्यही पोस्टलाई टेस्लाका सीईओ एलन मस्कले ‘लिथियम मेड इन अमेरिका’ अर्थात् ‘अमेरिकामै उत्पादित लिथियम’ भन्दै आफ्नो अकाउन्टमा सेयर गरेका थिए ।

टेक्सासको रोब्सटाउनमा टेस्लाको लिथियम रिफाइनरीमा ‘स्पोड्युमिन अयस्क’ प्रशोधन गरी ब्याट्रीमा प्रयोग हुने ग्रेडको लिथियम हाइड्रोक्साइड उत्पादन गरिन्छ । त्यही लिथियम प्रयोग गरेर अस्टिनस्थित गिगाफ्याक्ट्री टेक्सासमा ४६८० ब्याट्री सेल उत्पादन गरिएको हो ।

यसले कच्चा पदार्थ प्रशोधनदेखि ब्याट्री सेल उत्पादन र विद्युतीय सवारी निर्माणसम्मको महत्वपूर्ण काम टेस्लाको आफ्नै आपूर्ति शृंखलाभित्र आएको छ । अब उसलाई ईभी बनाउन धेरैको सहयोग आवश्यक पर्नेछैन ।

टेस्लाले अहिलेसम्म आफ्नै रिफाइनरीबाट उत्पादित लिथियम प्रयोग गरेर कति वटा साइबरट्रक निर्माण भएको छ भन्ने खुलाएको छैन । साथै, अन्य कुनकुन मोडलमा यो ब्याट्री प्रयोग हुन्छ भन्ने पनि जानकारी प्राप्त भएको छैन ।

सन् २०२३ मा सुरू भएको रिफाइनरी

रोब्सटाउन स्थित लिथियम रिफाइनरीको निर्माण सन् २०२३ मा सुरु भएको थियो । प्लान्टलाई २०२६ को सुरूवातदेखि नै पूर्ण क्षमतामा संचालन गरिएको टेस्लाले जनाएको छ ।

कम्पनीका अनुसार यो उत्तर अमेरिकाकै पहिलो ‘स्पोड्युमिन अयस्क’बाट सिधै लिथियम हाइड्रोक्साइड उत्पादन गर्ने प्लान्ट हो । टेस्लाले परम्परागत लिथियम प्रशोधन विधिको तुलनामा आफ्नो रिफाइनिङ प्रक्रियामा एसिड प्रयोग नगर्ने भएकाले वातावरणीय प्रभाव कम हुने दाबी गरेको छ ।

गत जुलाईमा आयोजित ‘लिथियम डे’ कार्यक्रममा टेस्लाले रोब्सटाउन प्लान्ट पूर्ण क्षमतामा संचालनमा आएको पुष्टि गरेको थियो । सोही कार्यक्रममा कम्पनीले ब्याट्री रिसाइक्लिङसँग सम्बन्धित नयाँ पेटेन्ट पनि सार्वजनिक गरेको थियो ।

ब्याट्री आपूर्ति शृंखला आफैं बनाउँदै टेस्ला

टेस्लाले पछिल्लो समय ब्याट्रीको कच्चा पदार्थदेखि सेल उत्पादनसम्मको निर्भरता घटाउँदै आफ्नै उत्पादन क्षमता विस्तार गरिरहेको छ । कम्पनीले ब्याट्रीको एनोड र क्याथोड उत्पादनमा समेत लगानी बढाइरहेको छ ।

टेस्लाले म्याक्सवेल टेक्नोलोजिजको प्रविधिबाट विकसित ड्राइ इलेक्ट्रोड प्रक्रियालाई ब्याट्री उत्पादनमा प्रयोग गर्ने योजना अघि बढाएको छ । यस प्रविधिले ब्याट्री उत्पादन प्रक्रियालाई सरल र कम ऊर्जा खपत गर्ने बनाउने लक्ष्य राखेको छ ।

टेस्लाका वित्त प्रमुख वैभव तनेजाले यसअघि विश्वव्यापी रूपमा ब्याट्री सेलको आपूर्ति कम्पनीका लागि सबैभन्दा ठूलो बाधामध्ये एक रहेको बताएका थिए । त्यसैले आफ्नै कच्चा पदार्थ, रिफाइनिङ र सेल उत्पादन क्षमता विस्तार गर्नु टेस्लाको दीर्घकालीन रणनीतिक प्राथमिकताका रूपमा देखिएको छ ।


Back_to_top