काठमाडौं । धादिङ सदरमुकाम धादिङबेँसी जान फुर्केखोलामा ९४ मिटर लामो बेलिब्रिज जडान बारे चिनियाँ विशेषज्ञहरूसँग परामर्श लिन थालिएको छ ।
भदौ १० गते आएको बाढीले त्रिशूली नदीले फुर्केखोलास्थित पक्कली पुल बगाएसँगै उक्त स्थानमा लामो बेलिब्रिज राख्ने बारे सडक विभागले चिनियाँ विज्ञ टोलीसँग परामर्श सुरू गरेका हो ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले चिनियाँ विशेषज्ञहरूसँग फुर्केखोलामा बेलिब्रिज राखेने बारे चिनियाँसँग परामर्श भइरहेको जानकारी दिएका हुन् ।
आइतबार पृथ्वी राजमार्गको स्थलगत अनुगमनका क्रममा उनले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार चीन सरकारले नेपाललाई १०० मिटर लामा बेलिब्रिज उपलब्ध गराएको छ । त्यही बेलिब्रिज बीचमा पिलर नराखी राख्ने बारे परामर्श भइरहेको उनले बताए ।
‘चीनबाट आएको १०० मिटर लामा पुल आएका छन् । फुर्केखोला पुलमा ९४ मिटर लामो स्पानमा पिलरबिनाको बेलिब्रिज राख्ने विषयमा चिनियाँ विशेषज्ञहरूसँग परामर्श भइरहेको छ । चीनबाट आएको पुल त्यहाँ जडान गर्न सकेमा २ देखि ३ हप्ताभित्र यातायात सुचारु गर्न सकिनेछ,’ उनले भने ।
सडक विभागसँग पुल निर्माणमा आवश्यक दक्षता रहेको उनको भनाइ छ ।


