मूल्य एउटै भएका पन्च ईभी र भिगो, कुनको बलियो पक्ष के ?

काठमाडौं । विद्युतीय कार बजारमा छनोट थपिएसँगै प्रतिस्पर्धाको स्वरूप पनि बदलिएको छ । एउटै मूल्यमा व्यापक फरक साइजका विद्युतीय गाडी किन्न पाइने भएसँगै सेग्मेन्ट नै फरकका गाडी बीच प्रतिस्पर्धा सुरू भएको हो ।

अहिले बजारमा यस्तै प्रतिस्पर्धा टाटा पन्च ईभी र नामी भिगोमा देख्न सकिन्छ । यी दुई गाडी मध्ये टाटा पन्चको टप स्पेक र भिगोको इन्ट्री भेरियन्ट एउटै मूल्यमा किन्न पाइने भएको हो ।

केही वर्षअघिसम्म ईभी किन्ने मानिसले गाडीको ब्राण्ड, रेन्ज र मूल्यलाई प्रमुख बनाएर हेर्थे । अहिले समान बजेटमा कति ठूलो कार, ठूलो साइजको ब्याट्री, कति शक्तिशाली मोटर र कस्ता प्रविधि छन् भन्ने कुराले महत्व राख्ने भएको छ ।

ठ्याक्कै यस्तै रोचक प्रतिस्पर्धाको उदाहरण बनेका छन् टाटा पन्च ईभी र डोङफेङ नामी भिगो । मूल्य उस्तै भए पनि यी दुई ईभीमा साइज, ब्याट्री, पावर र फिचरमा भने ठूलो अन्तर पाउन सकिन्छ ।

साइजमा धेरै फरक

पन्च ईभीको तुलना गर्दा नामी भिगो लम्बाइमा निकै ठूलो छ । भिगो एसयूभीको लम्बाइ ४३०६ एमएम छ भने पन्च ईभीको ३८८० एमएम छ । लम्बाइमा भिगो करिब ४२६ एमएम लामो छ ।


चौडाइमा पनि भिगो १८६८ एमएम फराकिलो छ । जबकि पन्च १७४२ एमएम चौडा छ । ह्वीलबेसमा पनि ठूलो अन्तर छ । भिगोको ह्वीलबेस २७१५ एमएम र पन्चको २४४५ एमएम छ ।

बुट स्पेसमा पनि भिगो अगाडि छ । यसको बुट क्षमता ५०० लिटर छ । पन्च ईभीमा ३६६ लिटरको बुट पाउन सकिन्छ ।

ग्राउण्ड क्लियरेन्समा भने टाटा पन्च अगाडि देखिन्छ । पन्चमा १९५ एमएम र भिगोमा १९० एमएम ग्राउण्ड क्लियरेन्स छ । तर, पन्च ईभीको ह्वीलबेस निकै छोटो भएको कारण ग्राउण्ड क्लियरेन्सको फाइदा पन्चलाई धेरै हुन्छ ।

ब्याट्री र मोटर

नामी भिगोमा ५१.८७ किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर दिइएको छ । पन्च ईभीमा ४० किलोवाट आवरको ब्याट्री र ९५ किलोवाटको इलेक्ट्रीक मोटर छ । गाडीको तौल कम भएको कारण पावरमा पन्च पनि भिगोभन्दा कमजोर छैन । रेन्ज भने भिगोमा बढी पाइन्छ ।

भिगोलाई एकपटक फुल चार्ज गरेर ३५० किलोमिटरसम्म चलाउन सकिन्छ । पन्च ईभीको रेन्ज ३१५ किलोमिटर हाराहारी छ ।

फिचरमा नयाँ पुस्ताको चुनौती

फिचरको आधारमा पनि यी दुई बीचको प्रतिस्पर्धा रोचक नै छ । आजकल ईभी किन्ने ग्राहकले एउटा कारमा ठूलो टचस्क्रीन, कनेक्टेड फिचर, एडभान्स सेफ्टी सिस्टम, ३६० डिग्री क्यामेरा र स्मार्ट ड्राइभिङ प्रविधि खोज्छ ।

यो मामलामा भिगो अगाडि नै देखिन्छ । तर, टाटा पन्च पनि कमजोर छैन । सनरुफ, स्पेयर टायर र सिप्रदीको बलियो सर्भिस नेटवर्कको फाइदा पन्च चढ्नेलाई हुन्छ ।

स्पेसिफिकेसनका आधारमा नामी भिगो अगाडि देखिन्छ । भारतमा उत्पादन हुनु, तुलनात्मक रूपमा पाटर््सको मूल्य सस्तो हुनुको कारणले पनि पन्च ईभीलाई फाइदा पुगेको छ ।
नामी भिगो पनि एमएडब्लू वृद्धिले ल्याएको उत्पादन हो । उसले पनि देशभर बलियो नेटवर्क निर्माण गरिसकेको छ । सर्भिस लगायतका काममा पनि कम्पनीले तीव्र रूपमा काम गरिरहेको बुझ्न सकिन्छ ।

साइजको फाइदा र बेफाइदा

पन्च ईभी कम्प्याक्ट साइजमा उपलब्ध छ । त्यसैले यसलाई घरमा सानो पार्किङ हुने र धेरै नै भिडभाड एरियामा चलाउनु पर्ने मानिसले सजिलै किन्ने निर्णय लिन सक्छन् ।

साँघुरा सडकमा प्रयोग गर्नु पर्ने र दैनिक शहरी प्रयोगका लागि सानो आकार कतिपय ग्राहकका लागि फाइदाजनक हुन्छ ।

ठूलो कार र धेरै फिचर चाहने ग्राहक स्वतः भिगोतर्फ आकर्षित हुन सक्छन् । मोर्डन डिजाइन र एथेष्ट फिचरहरू भिगोको बलियो पक्ष हो ।

निष्कर्ष

नामी भिगो साइजमा ठूलो छ । यसको प्रतिस्पर्धा बीवाइडी एटो टु, लिपमोटर बी०३ एक्स, टाटा नेक्सन ईभी जस्ता मोडलसँग हुनुपर्ने हो । तर, नामीको भिगो निकै आक्रमक मूल्यमा ल्याइएको हुनाले पन्चको सेग्मेन्टमा पनि मूल्यको कारण प्रतिस्पर्धी बन्यो ।

टाटा पन्च नेपालमा बलियो पकड बनाइसकेको मोडल हो । विगतमा नै १४०० हारहारी पन्च बिक्री भएको थियो । सिप्रदीले फेसलिफ्ट पन्च ल्याएर २०० युनिट हाराहरी डेलिभरी दिइसकेको जनाएको छ । जसले पन्चको क्रेजलाई झल्काउँछ ।

त्यसैले यी दुई गाडीको मूल्य उस्तै भए पनि प्रयोगमा ठूलो भिन्नता छ । त्यो भिन्नतालाई उपभोक्ताको आवश्यकता र प्रयोगले जित्छ ।

 


Back_to_top