काठमाडौं । ४५ लाख रुपैयाँ आसपास तिरेर विद्युतीय एसयूभी खोज्नेलाई बीवाइडी एटो-२ एसेन्सियल र लिपमोटर बी ०३ एक्स मध्ये कुनै एक मोडल मनपर्न सक्छ ।
यी दुई एसयूभी बीचमा तुलना गर्दा दुवै कम्प्याक्ट एसयूभी हुन् । तर, ब्याट्री क्षमता, रेन्ज, मोटर पावर र सामान राख्ने ठाउँलाई आधार मान्दा यी दुई गाडीको प्राथमिकता फरक देखिन्छ ।
बीवाइडी एटो-२ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ छ । लिपमोटर बी०३ एक्सको आधिकारिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, साँग्रिला मोटर्सले २ लाख रुपैयाँ छुट दिएर ४४ लाख ९९ हजारमा बिक्री गर्दै आएको छ ।
साइमेक्स इंकको सर्वाधिक सफल मोडल एटो-२ सँग सिधा प्रतिस्पर्धा गर्न सक्ने लिपमोटर बी०३ एक्स हालै नेपाल आएको भए पनि त्यति धेरै चर्चा पाउन सकिरहेको छैन ।

दुवै चिनियाँ ब्राण्डले उत्पादन गरेका ईभी अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो चर्चा कमाइरहेका मोडल हुन् । युरोपमा पनि हालै प्रवेश गरेको बी०३ एक्स के साँच्चै बीवाइडी एटो-२ को प्रतिस्पर्धी बन्ला त ? हेरौं यी दुई गाडीको बीच पाइने तुलनात्मक भिन्नता ।
ब्याट्री र रेन्ज
विद्युतीय गाडी खरिद गर्दा ग्राहकले सबैभन्दा पहिले चासो राख्ने विषय ब्याट्री र रेन्ज हो । यसमा बी०३एक्सको तथ्यांक बलियो देखिन्छ ।
बी०३एक्समा ५३ किलोवाट आवरको ब्याट्री छ । यसले डब्लूएलटीपी टेस्ट अनुसार ३८२ किलोमिटर रेन्ज दिने बताइएको छ ।
एटो-२ एसेन्सियलमा ४५.१२ किलोवाट आवरको ब्याट्री छ । यसलाई सिंगल चार्जमा ३१२ किलोमिटर चलाउन सकिने डब्लूएलटीपीको परीक्षणले देखाएको छ ।
बी०३एक्सको ब्याट्री क्षमता एटो-२ भन्दा ७.८८ किलोवाट आवर बढी छ । त्यसैले उसको रेन्ज पनि ७० किलोमिटर अगाडि देखिन्छ ।
मोटर पावर र टर्क
मोटरको अधिकतम पावर हेर्दा बी०३एक्स अगाडि छ । यसमा १४५ किलोवाट क्षमताको मोटर छ । एटो-२ को सबै भेरियन्टमा १०० किलोवाटको मोटर छ । टर्कमा भने एटो-२ अगाडि छ । बी०३एक्सले २०० न्युटन मिटर टर्क उत्पादन गर्छ भने एटो-२ एसेन्सियलमा २९० न्युटन मिटर टर्क पाइन्छ ।
बी०३ एक्सले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन ८.६ सेकेण्ड लगाउँछ । एटो-२ एसेन्सियलका लागि त्यही गति भेटाउन करिब ९ सेकेण्ड लाग्छ ।
ग्राउण्ड क्लियरेन्समा अन्तर
नेपालको सडक अवस्थालाई हेर्दा ग्राउण्ड क्लियरेन्सलाई बेवास्ता गर्न मिल्दैन । एटो-२ एसेन्सियलमा २०० एमएम ग्राउण्ड क्लियरेन्स उपलब्ध छ । लिपमोटर बी०३ एक्समा १९० एमएम छ । यसले एटो-२ लाई ग्राउण्ड क्लियरेन्समा १० एमएमको अग्रता दिन्छ ।

खाल्डाखुल्डी भएका सडक, अग्ला स्पिड ब्रेकर र ग्रामीण सडकमा गाडीको तल्लो भाग ठोक्किने जोखिम कम गर्न बढी ग्राउण्ड क्लियरेन्स उपयोगी हुन सक्छ । तर, सस्पेन्सनको सेटअप, गाडीको ओभरह्याङ र यात्रुसहितको तौलले पनि सडकमा गाडीको व्यवहार फरक पार्न सक्छ ।
बुट स्पेस
गाडीमा सामान राख्ने बुट स्पेसको तुलना गर्दा बी०३एक्सको क्षमता राम्रो छ । यसमा अधिकतम ५१० लिटरको बुट स्पेस छ । एटो-२ मा भने ४०० लिटरको बुट स्पेस छ ।
लामो यात्रामा धेरै सामान लिएर यात्रा गर्नेको लागि बी०३ एक्सको ठूलो बुट उपयोगी हुन सक्छ । तर, कम्पनीले कुन स्थानबाट कसरी बुट स्पेस मापन गरेको हो त्यो किन्नुअघि एकिन गर्दा राम्रो हुन्छ ।

निष्कर्ष
एटो-२ एसेन्सियल बढी ग्राउण्ड क्लियरेन्स र धेरै टर्क भएको विद्युतीय कार हो । बी०३एक्समा ठूलो ब्याट्री, बढी रेन्ज, उच्च मोटर पावर र ठूलो बुट स्पेस छ ।
तर, गाडीको मूल्य तुलना गर्दा खरिद मूल्य मात्र हेर्नु पर्याप्त हुँदैन । ब्याट्री वारेन्टी, चार्जिङ क्षमता, बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको उपलब्धता र पुनर्बिक्री मूल्य पनि महत्वपूर्ण हुन्छन् ।
त्यसैले कम मूल्य, उच्च ग्राउण्ड क्लियरेन्स र पर्याप्त टर्क चाहिने ग्राहकका लागि एटो-२ एसेन्सियल आकर्षक विकल्प हुन सक्छ । ठूलो ब्याट्री, लामो रेन्ज, बढी मोटर पावर र ठूलो बुट स्पेस प्राथमिकतामा राख्ने ग्राहकले भने बी०३एक्सलाई रोज्न सक्छन् ।

