पोखरा-दुबई उडानले निरन्तरता पाउने, १ वर्षको टिकट बुकिङ खुला

काठमाडौं । यही असोज ७ गतेदेखि सुरू भएको दुबई-पोखरा-दुबई हवाई उडानले निरन्तरता पाउने देखिएको छ । फ्लाइ दुबईले आगामी १ वर्ष (सन् २०२७ अक्टोबर ३० सम्म)को टिकट बुकिङ खुलाएसँग उडान नियमित हुने भएको हो ।

एयरलाइन्सले सुरूमा ६ महिनाका लागि बुकिङ खुलाएकोमा अहिले बढाएर १ वर्षको खुला गरेको हो । कम्पनीले कम्तीमा १ वर्षको बुकिङ खुलाएसँगै व्यवसायीहरु उडान नियमित र दिगो हुुनेमा थप विश्वस्त देखिएका छन् ।

फ्लाइ दुबईले असोज ७ गतेदेखि नियमित रुपमा दुबई पोखरा उडान गर्दै आएको छ । यस अवधिमा मौसम खराबीका कारण फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अरु दिनमा नियमित उडान भइरहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

गत सोमबारसम्ममा फ्लाइ दुबईको उडानमार्फत ३ हजार ११३ यात्रु दुबईबाट पोखरा आएको र पोखराबाट १ हजार ४२३ यात्रु दुबई प्रस्थान गरेका छन् । तुलनात्मक रुपमा दुबईबाट पोखरा आउनेभन्दा पोखराबाट दुबई जाने यात्रु कम रहेका छन् ।

फ्लाइ दुबईले हप्ताको सातै दिन एक उडान गर्दै आएको छ । उडान तालिका अनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थान गर्दै आएको छ । फ्लाई दुबईले हाल १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान गर्दै आएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरू गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय गन्तव्यमा चार्टर उडान गरेका थिए ।

फ्लाई दुबईको उडान सुरू भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकसँग पोखराको हवाई सञ्जाल विस्तार भएको छ । त्यसबाट दीर्घकालिन रुपमा पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

सन् २०२३ जनवरीदेखि संचालनमा आएको यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरू गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।

सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ ।


Back_to_top