सन् २०२७ को पहिलो त्रैमासमा आउँदै हुन्डाईको नयाँ कम्प्याक्ट ईभी

काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईको नयाँ कम्प्याक्ट इलेक्ट्रीक एसयूभी २०२७ को पहिलो त्रैमासमा सार्वजनिक हुने भएको छ ।

हाल परीक्षणको क्रममा रहेको हुन्डाईको ‘एचई १ आइ कोडनेम दिएर बनाइ रहेको नयाँ इलेक्ट्रीक एसयूभी आगामी वर्षको सुरुमै बजारमै आउने भएको हो ।

यद्यपि, कम्पनीले आधिकारिक रुपमा लन्च मिति घोषणा गरेका छैन । हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक तथा सीईओ तरुण गर्गले यसअघि नयाँ ईभी २०२६ को अन्त्यसम्ममा आउने बताएका थिए । तर, स्रोतहरुका अनुसार उक्त ईभी जनवरी २०२७ मा सार्वजनिक हुने तय भएको हो ।

हुन्डाईको नयाँ कम्प्याक्ट इलेक्ट्रीक एसयूभीले हुन्डाईको ‘ई जीएमपी के’ प्लेटफर्म प्रयोग गर्नेछ । जसले विदेशमा बिक्री हुने ‘इन्स्टर ईभी’ लाई पनि आधार प्रदान गरेको छ।

यो नयाँ मोडल तमिलनाडुस्थित हुन्डाईको श्रीपेरम्बदुर प्लाण्टमा उत्पादन हुनेछ । यसलाई विशेष गरी भारतीय बजारका लागि नै निर्माण गरिएको हो ।

नयाँ कम्प्याक्ट ईभीमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका ब्याट्री प्याकमा उपलब्ध हुनेछ । यी ब्याट्रीले क्रमशः ३०० किलोमिटर र ३५५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।

यो कम्प्याक्ट ईभीले सुरुमा ‘ एस भोल्ट’ द्वारा आपूर्ति गरिएका ब्याट्री सेलहरू प्रयोग गर्नेछ । हुन्डाईले ‘एक्ससाइड’ सँगको सहकार्यमार्फत स्थानीय रूपमा उपलब्ध गराइएका ब्याट्री सेलहरू प्रयोग गर्ने योजना बनाएको छ । यद्यपि एक्ससाइडको ब्याट्री उत्पादनमा भएको ढिलाइले गर्दा यो केही पछि सरेको छ।

हुन्डाईले यो कम्प्याक्ट ईभीमा लेभल २ एडस र ‘नेक्ट जेनेरेसन इन्फरमेसन सिस्टम रहने कुरा पुष्टि गरेको छ । जुन ब्राण्डका केही नयाँ मोडलहरूमा देखिएको ‘प्लेओस कनेक्ट’ प्रणाली हुन सक्छ।

नयाँ ईभीमा पनि इन्स्टर ईभीको जस्तै क्याबिन रहने सम्भावना छ । हुन्डाई इन्स्टरमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टम छ । यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल र ब्लाइन्ड स्पट निगरानीसहितको ३६० डिग्री क्यामेरा उपलब्ध छ।

नयाँ ईभीले टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी ३एक्सओ ईभी, किआ सिरोस लगायत ईभीसँग प्रतिस्पर्धा गर्नेछ।


Back_to_top