काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले आफ्नो बहुप्रतीक्षित स्पोट्र्स कार रोडस्टरको भारतमा बुकिङ खुला गरेको छ ।
कम्पनीले भारतीय बजारमा टेस्ला रोडस्टरको ३ भेरियन्टको बुकिङ खुलाएको हो । टेस्लाको भारतीय वेबसाइटमा राखिएको विवरण अनुसार दुई भेरियन्टको बुकिङ मूल्य तोकिएको छ भने एउटा भेरियन्टको तोकेको छैन ।
कम्पनीले रोडस्टर थ्रस्ट भेरियन्ट बुक गर्न ग्राहकले कुल २ करोड ५० लाख २५ हजार भारु (४ करोड नेपाली रुपैयाँ) बुझाउनुपर्नेछ । जसमा सुरूमा ५ लाख १ हजार र १० दिनपछि २ करोड ४५ लाख भारु तिर्नुपर्नेछ । रोडस्टर पर्फमेन्स भेरियन्ट भने ५० लाख भारु (सुरूमा ५ लाख १ हजार र १० दिनपछि ४५ लाख) तिरेर बुकिङ गर्न सक्नेछन् । रकेट भेरियन्टको भने कुनै बुकिङ मूल्य तोकेको छैन ।
टेस्लाले रोडस्टरको बुकिङ खुलाए पनि यसको बिक्री तथा डेलिभरी कहिलेदेखि सुरू हुन्छ भन्ने बारे केही जानकारी दिएको छैन। त्यस्तै, भारतमा प्रयोग हुने भेरियन्टको अन्तिम मूल्य र उपलब्ध सुविधासम्बन्धी विवरण पनि सार्वजनिक हुन बाँकी छ ।
थ्रस्ट भेरियन्टमा एक ग्राहकले एउटा मात्र गाडी अर्डर गर्न पाउने व्यवस्था गरिएको छ । यसको उपलब्धता सम्बन्धित देशको कानुन तथा नियामक व्यवस्थामा निर्भर हुने टेस्लाले जनाएको छ । त्यसैले थ्रस्टर प्रणाली प्रयोग गर्न अनुमति नभएका बजारमा यो भेरियन्ट वा उक्त सुविधा उपलब्ध नहुन सक्छ ।
रोडस्टर पर्फर्मेन्स भेरियन्टमा दुई जना बस्न मिल्छ । यसमा सक्रिय वायुगतिकीय प्रणाली र बहुमोड सक्सन प्रणाली उपलब्ध छन्। यी प्रविधिले गाडीलाई उच्च गतिमा सडकसँगको पकड कायम राख्न र स्थिरता बढाउन मद्दत गर्ने उद्देश्य राख्छन्।
त्यस्तै, थ्रस्ट भेरियन्टमा पर्फर्मेन्सका सुविधासँगै थप एक्सेलेरेसन थ्रस्टरहरू उपलब्ध हुनेछन्। टेस्लाले यसलाई दौडका लागि तयार गरिएको दुई सिटे गाडीका रूपमा प्रस्तुत गरेको छ । यसको उपलब्धता भने सीमित रहनेछ ।
त्यस्तै, रकेट भेरियन्टमा एक जना मात्र बस्न मिल्ने व्यवस्था छ । यसमा पूर्ण उडान प्रणाली उपलब्ध हुने टेस्लाको दाबी छ । यो भेरियन्ट निमन्त्रणा प्राप्त ग्राहकका लागि मात्र उपलब्ध हुने बताइएको छ ।
रोडस्टरको डिजाइन अमेरिकी एसआर-७१ र एफ-३५ विमानबाट प्रेरित रहेको टेस्लाले जनाएको छ । कम्पनीका अनुसार यस गाडीमा स्पेसएक्सका उपकरण तथा प्रविधिसमेत समावेश गरिएका छन्।
गाडीको होचो बनावट, विमानको ककपिटजस्तो भित्री संरचना र थ्रस्टर प्रणालीले यसलाई परम्परागत स्पोट्र्स कारभन्दा फरक बनाउने अपेक्षा गरिएको छ ।
रोडस्टर सार्वजनिक हुँदा मञ्चमा गाडी हावामा उडेको दृश्यले निकै चर्चा पाएको थियो। उड्ने कारको कल्पना गर्नेहरूका लागि उक्त दृश्य आकर्षणको केन्द्र बनेको थियो । यद्यपि, थ्रस्टर तथा उडान प्रणालीका सुविधा कुन बजारमा उपलब्ध हुनेछन् भन्ने विषय स्थानीय कानुन र नियामक व्यवस्थाले निर्धारण गर्नेछ ।
टेस्लाले सन् २०२८ मा रोडस्टरको उत्पादन सुरू गर्ने जनाएको छ । तर, सुरूआतमा लेफ्ट ह्याण्ड ड्राइभ गाडी उत्पादन हुनेछन् । भारतमा बुकिङ खुलिसके पनि राइट ह्याण्ड ड्राइभ गाडीको उत्पादन कहिलेदेखि सुरू हुन्छ भन्ने खुलाइएको छैन ।
रोडस्टरको बुकिङ खुला गरेसँगै टेस्ला इन्डियाले ६ सिटे मोडल वाई एलमा निःशुल्क एक्सेलेरेसन बुस्ट सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । यो सुविधा प्रयोग गर्दा गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.५ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ ।

