काठमाडौं । दशैंको टिकाको दिन आज काठमाडौं उपत्यकाका विभिन्न ५ रुटमा निःशुल्क बस सेवा संचालन हुने भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपत्यकामा सर्वसाधारणको सुविधालाई मध्यनजर गर्र्दै निःशुल्क बस सेवा संचालन गरेका हुन् ।
नेपाल प्रहरीले ३ र सशस्त्र प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा उपलब्ध गराएका हुन् ।
नेपाल प्रहरीको रुट नम्बर १ अनुसार नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालसम्म बस संचालन हुनेछ ।
त्यस्तै, रूट नम्बर २ नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किने छ।
त्यसैगरी, रूट नम्बर ३ नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजुचोक, नयाँबसपार्क, नारायणगोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँबसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनः नक्सालमा फर्किने छ ।
नेपाल प्रहरीको निःशुल्क बस सेवा बिहान ८ बजेबाट पहिलो सिफ्ट र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेबाट सुरु हुनेछ।
त्यस्तै, सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ।
त्यस्तै, अर्को रुट सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलंकी, बल्खु, कोटेश्वर,नयाँ बसपार्कसम्म हुँदै चल्नेछ ।
सशस्त्रको निःशुल्क बस बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म संचालन हुने छन् ।

