काठमाडौंका यी ५ ठाउँमा बन्दैछन् नयाँ पुल

काठमाडौं । सडक डिभिजन कार्यालयले काठमाडौंका विभिन्न स्थानमा ६ वटा पुल निर्माण गरिरहेको छ । सो पुल मध्ये ५ वटा पुल चालू आर्थिक वर्षभित्र सम्पन्न गरिने काठमाडौं डिभिजन कार्यालयले जनाएको छ । 

डिभिजन कार्यालयका इन्जिनियर सुदर्शन कार्कीका अनुसार उपत्यकामा बन्दै गरेका ६ वटा पुल मध्ये ५ वटा पुल यही आवमा सम्पन्न हुने छ । हाल काठमाडौं डिभिजन कार्यालयले जडिबुटिमा बन्न लागेको बेली ब्रीज, साँखुको मनमती पुल, काठमाडौं र ललितपुर जोड्ने बागमती–नैखण्डी पुल, घटेकुलोको आसीसी पुल र तीनथानामा बन्दै गरेको पुलको निर्माण यही वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको हो । 

जडिबुटीमा २४ .३८ मिटर लम्बाइको पुल निर्माण भइरहेको छ । उक्त स्थानमा बेली ब्रीज निर्माण हुने क्रममा रहेको छ । सो पुल गत आर्थिक वर्षको असारसम्ममा सम्पन्न हुनुपर्ने थियो । यसको म्याद थप गरि चालु आर्थिक वर्षको असोज÷कार्तिक महिनासम्ममा सम्पन्न गर्ने डिभिजन कार्यालय जानकारी गरिएको छ । 

यस्तै साँखु स्थित मनमती खोलामा आसीसी पुल निर्माण हुने क्रममा रहेको छ । सो २१ मिटर लम्बाईको पुल निर्माण कार्तिक महिनासम्ममा सम्पन्न गरिने भएको छ । 

काठमाडौं–ललितपुर जोड्ने नैखण्डी पुल समेत कार्तिक महिनासम्ममा सम्पन्न हुने भएको छ । यस्तै घट्टेकुलोमा आरसीसी पुल बनिरहेको छ । सो पुल १२ मिटर लम्बाइको रहेको छ । सो पुल चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

तीनथानामा बन्न लागेको पुलको स्ट्रकटर बनिसकेको र अब पुल हाल्न मात्र बाँकी रहेको डिभिजन कार्यालयले जानकारी दिएको छ । 

सेतीदेवी वागमती खोला पुल भने आगामी आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । सो पुल ९५ मिटर लम्बाइको बन्न लागेको हो । पुलको लम्बाई लामो भएकोले त्यसको निर्माणमा समय लाग्ने भएको छ । 


Back_to_top