उपत्यकाको ट्राफिक व्यवस्थापनमा नाडाले सहयोग गर्ने, दियो २०० सीसीको मोटरसाइकल

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ कार्यसमितिले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालसँग भेटी उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र त्यसको निराकरण कसरी गर्ने भन्ने विषयमा छलफल गरेको छ ।

उक्त भेटघाटमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका समस्या र चुनौतिका विषयमा छलफल गर्दै पैदलयात्रुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासँग मिलेर काम गर्न चाहेको बताएका थिए ।

सो छलफलको क्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखा र नाडा विच विगतको समयदेखि नै हुँदै आएको सहकार्य बारे चर्चा गरेको नाडाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष दुलालले विशेषगरी ट्राफिक प्रहरीले सडक दुर्घटनालाई सक्दो घटाउन उल्लेखनिय भूमिका निर्वाह गर्न आग्रह गरेको र आफुहरुको सहयोग हुने बताएका थिए ।

उक्त छलफलमा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यले राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका व्यावहारिक समस्याहरु बारे उल्लेख गर्दे त्यसको समाधानका लागि समेत आग्रह गरेका थिए ।

छलफलको अन्तमा ट्राफिक प्रहरी प्रमुख ढकालले सवारी साधन पैठारीकर्ताहरुले आफनो साधन विक्री गर्दा ग्राहकलाई ट्राफिक जनचेतना जगाउने एउटा पेपर समेत दिने व्यवस्था गर्न आग्रह गरेका थिए ।

उक्त छलफलपछि नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकाललाई २०० सीसी क्षमताको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरेका थिए ।

नाडाले २०६७ सालदेखि नै आफ्नो प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्दे आएको छ ।

उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो ।


Back_to_top