पछिल्लो ३ दिनमा कतिले छाडे काठमाडौं, यस्तो छ ट्राफिकको तथ्यांक

काठमाडौ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमबाट बच्नका लागि ठूलो संख्यामा मानिसहरुले उपत्यका छाडेका छन् ।

ट्राफिक प्रहरी महाशाखाको तथ्याकं अनुसार पछिल्लो ३ दिनमा मात्र ५ लाख ९८ हजार ३ सय ५४ जनाले उपत्यका छाडेर बाहिरिए । त्यसै गरी ८७ हजार ६ सय १६ सवारी साधनहरु उपत्यकाका विभिन्न नाका हुँदै बाहिरिए ।

उपत्यका बाट बाहिरिनेको तुलनामा भित्रिनेको संख्या ज्यादै न्यून रहेको देख्न सकिन्छ । ३ दिनको अवधिमा उपत्यका भित्रिनेको संख्या १ लाख ५७ हजार ७ सय १ जना मात्र रहेको छ भने सो अवधिमा ४७ हजार २ सय ८९ सवारी साधनहरु उपत्यका भित्रिएका थिए ।

दैनिक रुपमा क्रमशः बाहिरिनेको संख्या बढेको थियो । चैत्र ७ गत १ लाख ३० हजार ८ सय २२ जना उपत्यका छाडेका थिए । सो दिन २० हजार १०५ सवारी साधन बाहिरिएका छन् । यसदिन ६३ हजार ३ सय ११ यात्रुहरु उपत्यका भित्रिएका थिए भने १४ हजार ४५७ सवारी साधनहरु उपत्यका प्रवेश गरेका छन् ।

त्यसैगरी चैत्र ८ गते २ लाख ६ हजार ३३९ जनाले उपत्यका छाडेका थिए भने २९ हजार ७३ सवारी साधनहरु विभिन्न नाका हुँदै बाहिरिएका थिए । सो दिन ४८ हजार २७२ यात्रुहरु उपत्यका प्रवेश गरेका छन् भने १६ हजार ७ सय ४७ सवारी साधनहरु उपत्यकामा भित्रिए ।

त्यसैगरी हिजो (चैत ९ गते) मात्रै २ लाख ६१ हजार १९३ जनाले राजधानीबाट बाहिरिए । सो दिन ३८ हजार ४३८ वटा सवारी साधन उपत्यकाका विभिन्न नाकाबाट बाहिरिए । हिजोकै दिनमा उपत्यका भित्रिनेको संख्या ४६ हजार ११८ रहेको छ भने १६ हजार ७४७ सवारी साधनहरु उपत्यका भित्रिए ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार सरकारले आज (सोमबार) देखि लामो दूरीका सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने घोषणा गरेसँगै बाहिरिने संख्या बढेको थियो ।

‘आजबाट सबैलाई सार्वजनिक सवारी साधनको प्रयोग नर्गन र आफ्नै ठाउँमा सेल्फ क्वारेन्टाइनमा बस्नका साथै सुरक्षा अपनाउने निर्देशन पछि अघिलला दिनमा बाहिरिने ह्वात्तै बढेका हुन्,’ उनले भने ।


Back_to_top