नेपाल आउन थाल्याे उच्च गुणस्तरको पेट्रोल

काठमाडौं । भारतीय आयल निगमले निर्धारित समयभन्दा एक हप्ता अघिबाटै बीएस ६ मापदण्डको बिक्री वितरण सुरु गरेसँगै नेपालमा पनि बीएस ६ मापदण्डको इन्धन आयात सुरु भएको छ ।

नेपाल आयल निगमले पनि भारतीय आयल निगमसँग इन्धन ल्याएर नेपालमा बिक्री वितरण गर्ने हुँदा नेपालमा पनि बीएस ६ मापदण्डको इन्धन आउन थालेको हो ।

‘नेपालमा बीएस ६ मापदण्डको इन्धन आयात सुरु भएको छ । अहिले केही पेट्रोल पम्पबाट बीएस ६ मापदण्डको इन्धन बिक्री सुरु गरिएको र आगामी चैत १९ गतेबाट सबै पम्पमा बीएस ६ मापदण्डको इन्धन उपलब्ध हुनेछ’, नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले मेरोअटोसँग भने ।

अहिले आईओसीले भारतमा रहेका आफ्ना २८ हजार पेट्रोल पम्पमा बीएस ६ मापदण्डको इन्धन आपूर्ती सुरु गरेको जनाएको छ ।

भारतीय आयल कर्पोरेशनका चेयरम्यान संजीव सिंहले भारतीय मिडियासँग कुरा गर्दै भारतमा बीएस ६ मापदण्डको इन्धन एकहप्ता अघिदेखि सफलतापूर्वक बिक्री वितरण सुरु भएको जानकारी दिए ।

बीएस ६ मा आउँदा के फरक ?

बीएस ६ मापदण्डको इन्धनमा पार्टिकुलेट म्याटरको मात्रा घट्ने छ । जसको कारण सवारीसाधनले गर्ने प्रदुषणमा कमी आउने छ ।

साथै, युरो ६ मापदण्डको पेट्रोलियम पदार्थमा सल्फर कन्टेन्ट कम हुने छ । पेट्रोलियम पदार्थमा सल्फर कन्टेन्ट जति कम हुन्छ त्यतिनै वातावरण प्रदूषण पनि कम हुन्छ । यस्तोमा नयाँ मापदण्डको पेट्रोलियम पदार्थ आयात हुँदा त्यसले सवारी साधनको आयुमा समेत फरक पार्नेछ ।


Back_to_top