होन्डा यूनिकर्न १५० र १६० मा तपाईको छनोट कुन ? यस्तो छ हाम्रो सिफारिस

काठमाडौं । नेपाली बजारमा होन्डाले यूनिकर्नको दुई मोडल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले केही समय बन्द गरेको यूनिकर्न १५० लाई पुनः बजारमा ल्याएको छ भने यूनिकर्न १६० को पनि बिक्री वितरण गर्दै आएको छ ।

भारतीय बजारमा होन्डाले उत्पादन गरेको यूनिकर्न नेपाली बजारमा निकै सफल मोडलको रुपमा स्थापित भएको छ । स्याकार ट्रेडिङले बिक्री वितरण गर्दै आएको यी दुई मोडलमा रहेका भिन्नतालाई यहाँ हामीले केलाउने प्रयास गरेका छौं ।

डायमेन्सनको आधारमा

सबैभन्दा पहिला यी दुई मोटरसाइकलको डायमेन्सनको कुरा गरौँ । यूनिकर्न १५० को लम्बाई २०९२ एमएम, चौडाई ७५६ एमएम र उचाई ११०० एमएम रहेको छ भने ह्वीलवेस १३३६ एमएम रहेको छ ।

यूनिकर्न १६० को लम्बाई २०४५ एमएम, चौडाई ७५७ एमएम र उचाई १०६२ एमएम रहेको छ । यसको ह्वीलवेस पनि यूनिकर्न १५० भन्दा छोटो रहेको छ । यसमा १३२४ एमएमको ह्वीलवेस रहेको छ ।

यूनिकर्न १५०

ग्राउन्ड क्लियरेन्समा पनि यूनिकर्न १५० राम्रो रहेको छ । यूनिकर्न १५० को ग्राउण्ड क्लियरेन्स १७९ एमएम रहँदा यूनिकर्न १६० मा १५० एमएम मात्र रहेको छ ।

डायमेन्सनलाई आधार बनाएर तपाई यूनिकर्न किन्न चाहनु हुन्छ भने १६० को तुलनामा १५० उत्कृष्ट रहेको छ ।

इन्जिनमा कति फरक

दुबै मोटरसाइकलमा बीएस ४ मापदण्डको एयरकुल्ड इन्जिन दिइएको छ । यूनिकर्न १५० मा १४९.२ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन रहेको छ भने यूनिकर्न १६० मा १६२.७१ सीसी क्षमताको सिंगल सिलिण्ड इन्जिन रहेको छ ।

यूनिकर्न १५० मा रहेको इन्जिनले अधिकतम ८००० आरपीएममा १२.९१ पीएस पावर र ५५०० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्छ ।

त्यस्तै यूनिकर्न १६० मा रहेको इन्जिनले ८००० आरपीएममा अधिकतम १४ पीएस पावर प्रदान गर्छ भने ६००० आरपीएममा १३.९२ एनएम टर्क प्रदान गर्छ । पावरको हिसावले यूनिकर्न १६० राम्रो रहेको छ ।

माइलेज

मोटरसाइकल किन्नुभन्दा धेरै खर्च फ्यूलमा हुने हुँदा माइलेजको विषयमा धेरै मानिस सचेत हुने गर्छन् । त्यसमा पनि होन्डाका मोटरसाइकल किन्ने ग्राहक यस्ता विषयमा धेरै जागरुक हुने गरेको पाइन्छ ।

यूनिकर्न १६०

एआरएआईका अनुसार हाइवेमा होन्डा यूनिकर्न १५० ले प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्छ भने १६० ले प्रतिलिटर ६१ किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ । सहरमा यी दुबै मोटरसाइकलको माइलेज ३८ किलोमिटर प्रतिलिटर रहेको छ ।

मूल्यमा कुन ठिक ?

मूल्य अनुसार मोटरसाइकल छनोट गर्दा यी दुई मोटरसाइकलमा १३ हजार रुपैयाँको फरक पाउन सकिन्छ । होन्डा यूनिकर्न १५० को मूल्य २ लाख ६१ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरि यूनिकर्न १६० को मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर बिक्री वितरण भइरहेको छ ।
मूल्य अनुसार हेर्दा यूनिकर्न १५० केही किफायती रहेको छ ।

रिसेल मूल्य

नेपालमा मोटरसाइकल किन्नेको सर्वाधिक चासो त्यसको रिसेल मूल्यमा हुने गर्छ । नेपालमा होन्डाको सफल मोटरसाइकल भएकाले यूनिकर्नको रिसेल मूल्य राम्रो आउने गर्छ । त्यसमा पनि यूनिकर्न १६० को तुलनामा यूनिकर्न १५० निकै सफल भएकाले रिसेल मूल्यको आधारमा यूनिकर्न १५० उत्कृष्ट मान्न सकिन्छ ।

निष्कर्ष

नेपाली बजारमा यूनिकर्न १५० को सफलता १६० को तुलनामा धेरै राम्रो हुनुले हामी १५० किन्न ठिक मान्छौं । अर्को पाटो यसको मूल्य हो । करिब १३ हजार मूल्य कम हुँदा मूल्यको हिसावले पनि यूनिकर्न १५० उत्कृष्ट रहेको मान्न सकिन्छ ।


Back_to_top