काठमाडौं । टाटाको मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो ‘ईभी लर्निङ सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरूको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले टाटाको आफ्नै विद्युतीय गाडीको प्रयोग गर्दै सञ्चारकर्मी सहितको समूहलाई थापाथली स्थित टाटाको सोरूमबाट नैकाप हुँदै बागडोलसम्म पुर्याएको थियो ।

उक्त कार्यक्रममा कम्पनीले नैकापमा रहेको ‘ईभी लर्निङ सेन्टर’मा विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी दिएको थियो। कार्यक्रममा सहभागी पत्रकारका लागि सो सेन्टरमा मूलत: विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय सञ्चार मार्फत कसरी कार्य गर्दछ भन्नेबारे विशेष जानकारी गराइएको थियो।
ईभी गाडीको ब्याट्रीमा कारणवश कुनै समस्या देखा परे निश्चित अवयवहरू जस्तै ‘मोडुल’ र ‘सेल’ परिवर्तन गरी यसको समाधान न्यून खर्चमा नै सहजै गर्न सकिने कम्पनीले जनाएको छ । सिप्रदीले नेपाली अटोमोबाइल बजारमा कुनै ईभी ब्याट्री बिग्रिए त्यसको मर्मत गर्न निकै खर्च लाग्ने गरेको र अत्यन्तै झन्झटिलो हुने भ्रम रहेकोले त्यसबारे जागरण गर्न यस कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

त्यसैगरी, कम्पनीले कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई ललितपुरको बागडोल स्थित रहेको टाटाको ‘सर्भिस सेन्टर’ को अवलोकन गराएको थियो । अवलोकनको क्रममा इभीको मर्मत सम्भारका लागि प्रयोग गरिने प्राविधिक पक्षहरू बारे सूचित गरिएको थियो । यसको अतिरिक्त ईभीको ब्याट्रीको समस्या कसरी निरुपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो ।

टाटाले नेपालको समग्र विद्युतीय गाडीको बजार अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्य रहेको बताउँदै यस भ्रमण कार्यक्रमको आयोजना गरेको सिप्रदीको दावी रहेको छ ।


