काठमाडौं । सन् २०२१ सुरु हुनै लागेको छ । मोटरसाइकल विक्रेता कम्पनीहरु पनि नयाँ वर्षमा नयाँ मोडलको प्रतिक्षामा रहेका छन् । बजाज, यामाहा, होन्डा, टीभीएस, अप्रिलिया र हिरोले आफ्ना नयाँ मोडल बजारमा ल्याउने तयारी गरिरहेका छन् । अबको दुई महिना भित्र यी कम्पनीहरुले विभिन्न १० नयाँ मोडल बजारमा उतार्दै छन् ।
कोभिड १९ को संक्रमण फैलन थालेसँगै आत्तिएको अटो बजारमा केहि नयाँ मोटरसाइकल आए भने केहि विश्व प्रसिद्ध मोटरसाइकल ब्राण्डसमेत नेपाल आए । कोभिडको भए कम हुँदै जाने क्रममा मोटरसाइकलको व्यापार पनि उच्च भयो । चल्तिका ब्रान्डका नयाँ मोटरसाइकल पाउनै गाह्रो अवस्था सृजना भयो ।

यहि परिस्थितिको फाइदा उठाउन विभिन्न ब्राण्डले नयाँ मोडलहरु सार्वजनिक गर्ने तयारी गरेका छन् । बजाजले नेपाली बजारमा २५० सीसी सेग्मेन्टमा नै आफ्नो पहिलो टुरर मोटरसाइकल भित्र्याउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । कम्पनीले बजाज डोमिनार २५० यहि महिना भित्रै नेपाली बजारमा ल्याउने जनाएको हो ।

त्यस्तै अप्रिलियाले भारतमा सार्वजनिक गर्ने तयारी गरिरहेको अप्रिलिया एसएक्सआर १६० फेब्रुअरीमा नेपाल ल्याउने तयारी थालेको कम्पनीले जनाएको छ । नेपाली बजारमा प्रिमियम स्कुटर विक्री गर्दै आएको कम्पनीले १६० सीसी क्षमताको म्याक्सी स्कुटर नेपाल ल्याउन लागेको हो ।

यामाहाले नेपाली बजारमा बिग बाइक सेग्मेन्टमा नयाँ ४ मोटरसाइकल तथा स्कुटरको विक्री सुरु गर्ने भएको छ । यामाहाले आर ६, एमटी ०९, टीम्याक्स ५६० र बोल्टको विक्री सुरु गर्ने भएको हो । कम्पनीले विग बाइकको छुट्टै शोरुम निर्माण गरेर चाँडै यी मोटरसाइकलको विक्री सुरु गर्ने जनाएको छ ।

हिरोले नेपाली बजारमा लामो समयदेखि सार्वजनिक गर्ने तयारी गरिरहेको मोटरसाइकल एक्स्ट्रीम १६० आर फेब्रुअरी २०२१ सम्ममा सार्वजनिक हुने कम्पनी स्रोतले बताएको छ । १६० सीसी सेग्मेन्टमा यो मोटरसाइकल नेपाली बजारमा सफल हुनसक्ने मोटरसाइकलको रुपमा हेरिएको छ ।

होन्डाले हाइनेस ३५० नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । होन्डा हाइनेस ३५० क्रुजर मोटरसाइकल नेपाल छिट्टै भित्र्याउने भएको हो । यो सँगै कम्पनीले हर्नेट २.० समेत नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

केहि दिनअघि काठमाडौंमा परिक्षणमा देखिएको टीभीएस एनटर्क बीएस ६ छिट्टै सार्वजनिक हुने कम्पनी स्रोतले जनाएको छ । नेपाली बजारमा चर्चित स्कुटर बीएस ६ भर्सनमा केहि दिनमा नै सार्वजनिक हुन लागेको हो ।


