जनवरी २०२१ मा सार्वजनिक हुँदै रेनो किगर, यी हुन् मुख्य ५ आकर्षण

काठमाडौं । रेनोले सब फोर मिटर सेग्मेन्टमा पहिलो एसयूभी किगर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सन् २०२१ को जनवरी अन्त्यसम्ममा बजारमा ल्याउने तयारी गरिरहेको किगर अहिले निकै चर्चामा रहेको सब फोर मिटर एसयूभी हो ।

भारतमा रेनोले उत्पादन गर्ने किगर एसयूभी नेपाली बजारमा पनि आउने भएकाले यसको चर्चा यहाँ गर्नु सान्दर्भिक हुन्छ । रेनो डस्टरभन्दा कम मूल्यमा आउने भएकाले पनि यसको चर्चा बढ्दै गएको हो ।

नेपालमा सब फोर मिटर सेग्मेन्टमा अहिले मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट जस्ता मोडल बिक्री हुँदै आएको छ भने निकट भविष्यमा निसान म्याग्नाइट आउने छ । यस्तोमा सन् २०२१ को मध्यसम्ममा नेपाल आउने रेनो किगरलाई बजारमा स्थापित गर्न निकै ठूलो तयारी गर्नु पर्ने हुन्छ ।

सब फोर मिटर एसयूभी मुख्यत फिचर र मूल्यको हिसावले प्रतिस्पर्धी बन्ने हो भने राम्रो संख्यामा विक्री गर्न सकिने मोडलमा पर्छ । त्यसैले रेनोले किगरमा कस्ता विशेषता दिदै छ भन्ने विषय हामीले यहाँ जानकारी दिने कोशिष गरेका छौं । जुन कम्पनीले केहि महिना अगाडि सार्वजनिक गरेको कन्सेप्टमा आधारित रहेको छ ।

इन्जिन

नेपालमा गाडीमा लाग्ने कर नै इन्जिनको सीसीमा आधारित रहेकाले यसमा कस्तो र कत्रो इन्जिन दिइएको छ भन्ने विषयको सबैभन्दा पहिला चर्चा गर्नु उपयुक्त देखिन्छ । कम्पनीले यसमा १.० नेचुरल एस्पायर्ड र १.० टर्बो चार्ज्ड इन्जिन दिने छ । यसमा रहने नेचुरल एस्पायर्ड इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क प्रदान गर्छ भने १.० टर्बो इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क प्रदान गर्ने छ ।

कम्पनीले आफ्नो पहिलो सब फोर मिटर एसयूभीमा ५ स्पीड म्यानुयल र सिभीटी गियरबक्स रहने छ ।

मुख्य फिचर

किगरको इन्टेरियर निकै आकर्षक रहने अनुमान गर्न सकिन्छ । ८ इन्चको फ्लोटिङ इन्टरटेन्टमेन्ट सिस्टम, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, एलइडी प्रोजेक्टर हेडल्याम्प, क्रुज कन्ट्रोल, स्टेरिङ माउन्ट अडियो सिस्टम, भ्वाइस रिकोग्नेसन टेक्नोलोजी, पुस बटम स्टार्ट÷स्टप, इलेक्ट्रीकल्ली एड्जस्टेवल विङ मिरर, अटोमेटिक क्लाइमेट कन्ट्रोल यसमा रहने छ ।

सुरक्षा फिचर

सुरक्षाको लागि कम्पनीले एयरव्याग, ३६० डिग्री क्यामेरा, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर, एराउन्ड भ्यू मिरर, टायर प्रेसर मोनिटर, आईएसओ फिक्स चाइल्ड सिट, सिटवेल्ट रिमाइन्डर, हाइ स्पीड अर्लट जस्ता फिचर यसमा उपलब्ध रहने छ ।

डिजाइन

किगर झट्ट हेर्दा निकै आकर्षक लुक्समा आउने बुझ्न कठिन छैन । यूरोपियन डिजाइनमा तयार हुने किगरमा स्प्लीट हेडल्याम्प, रेनोको सिग्नेचर ग्रिल, अगाडि र पछाडि बम्परमा स्कीड प्लेट, साथमा दिइने बडी क्लेडिङले किगरलाई बल्की देखाउने छ । साथै, रुफ माउन्ट स्पोइलर र एलइडी टेल ल्याम्पले किगर निकै स्पोर्टी देखिने अनुमान गर्न सकिन्छ ।

साइज

रेनो किगलको लम्बाई ३९९४ एमएम, चौडाई १७५८ एमएम र उचाई १५७२ एमएम रहने छ । यसमा कम्पनीले २५०० एमएमको ह्वीलवेस प्रदान गर्ने छ । किगरमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहने छ ।


Back_to_top