काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले माघदेखि दैनिक १० हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लाइसेन्स छाप्ने भएको छ ।
यसअघि ब्लक डाटा उपलब्ध नहुँदा अत्यावश्यक लाइसेन्स मात्रै छाप्दै आएको केन्द्रले अब भने ब्याक लग (प्रिन्ट हुन बाँकी) लाइसेन्स छाप्ने तयारी गरेको हो ।
यातायात व्यवस्था विभागले एकैपटक १ लाख थान लाइसेन्सको ब्लक डाटा उपलब्ध गराउने भएसँगै केन्द्रले अब लाइसेन्स छपाईलाई तीव्रता दिन लागेको हो । विभागले कर्णाली प्रदेशका १ लाख आवेदनको ब्लक डाटा ‘मिडलवेयर सफ्टवेयर’मा इन्ट्री गरिसकेकाले छपाइका लागि सुरक्षण मुद्रण केन्द्रमा पठाउने भएको हो ।
विभागका निर्देशक (सूचना प्रविधि शाखा प्रमुख) केशव खतिवडाले कर्णालीका १ लाख लाइसेन्सको ‘ब्लक डाटा’ मिडलवेयर सफ्टवेयरमा इन्ट्री गरिसकेकाले शुक्रबार मुद्रण केन्द्रमा पठाउन लागिएको जानकारी दिए ।
‘यसअघि मिडलवेयर सफ्टवेयर तयार नहुँदा ब्लकमा डाटा पठाउन सकिएको थिएन । अत्यावश्यक लाइसेन्सको मात्रै पठाउँदै आएका थियौं । अहिले सफ्टवेयर बनाइ कर्णाली प्रदेशको १ लाख लाइसेन्सको डाटा इन्ट्री गरिसकेका छौं । शुक्रबार छपाइका लागि मुद्रण केन्द्रलाई ब्लक डाटा उपलब्ध गराउँछौं,’ उनले मेरोअटोसँग भने, ‘अहिले सुदूरपश्चिमसँगै अन्य प्रदेशको पनि धमाधम डाटा इन्ट्री गर्न सुरू गरेका छौं । क्रमशः लट लटमा पठाउँदै जान्छौं ।’
कात्तिक २१ देखि क्यूआर कोडसहितको लाइसेन्स छाप्न सुरू गरेको केन्द्रले दुई महिनामा जम्मा ९ हजार मात्रै लाइसेन्स छापेको छ । हालसम्मको काम सुस्त देखिए पनि अब माघ महिनादेखि गति बढाइने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए ।
‘सुरूआती चरण परीक्षणकाल भएकाले थोरै मात्र छपाइ भएको हो । अब नयाँ जनशक्ति थपेर कामको गति बढाइन्छ । माघदेखि दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने आन्तरिक तयारी भइरहेको छ,’ उनले भने ।
हाल नयाँ ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका गरी ३० लाखको हाराहारीमा लाइसेन्स प्रिन्ट हुन बाँकी छ । लाइसेन्स छपाइका लागि केन्द्र र विभाग बीच गत कात्तिक १२ गते सम्झौता भएको थियो । सो अनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनुपर्ने छ ।
विभागसँगको सम्झौता अनुसार सुरूको ३ महिना एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा ९ लाख गरी १२ लाख लाइसेन्स छपाइ गरिने जनाइएको छ ।

