काठमाडौं । काठमाडौंमा पछिल्लो १ वर्षमै झण्डै १ लाख नयाँ दुईपाँग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) थपिएका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारामा मात्रै ९८ हजार ७२७ वटा नयाँ दुईपाँग्रे सवारी दर्ता भएका हुन् ।
यो अघिल्लो आव २०८१/८२ को तुलनामा २६.४४ प्रतिशत अर्थात् २० हजार ६४६ युनिट धेरै हो । उक्त आवमा कुल ७८ हजार ८१ युनिट नयाँ दुईपाँग्रे सवारी दर्ता भएका थिए । उपत्यकामा आधादर्जन यातायात कार्यालय रहे पनि दुईपाँग्रे सवारीको दर्ता गुर्जुधारामा मात्रै हुँदै आएको छ ।
कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार गत आवमा पेट्रोलबाट चल्ने ८८ हजार ३५३ युनिट मोटरसाइकल र स्कुटर दर्ता भएको जानकारी दिए । यो अघिल्लो आव २०८१/८२ को तुलनामा १० हजार युनिट धेरै हो । उक्त आवमा गुर्जुधार कार्यालयमा पेट्रोलबाट चल्ने ७३ हजार ८१ युनिट मोटरसाइकल/स्कुटर दर्ता भएका थिए ।
त्यस्तै, गत आवमा इलेक्ट्रीक स्कुटर दर्ता दोब्बरले बढेको छ । अघिल्लो आवमा ५ हजार इलेक्ट्रीक स्कुटर दर्ता भएकोमा गत आवमा दोब्बरले बढेर १० हजार ३७४ युनिट पुगेको छ ।
गत आवमा दुईपाँग्रे सवारी साधनको बिक्री बढ्दा नयाँ दर्ता पनि ह्वात्तै बढेको हो । सार्वजनिक यातायात सहज, छिटो र भरपर्दो नहुँदा आमसर्वसाधरण बाध्यात्मक रूपमा दुईपाँग्रे निजी सवारीतफए आकर्षित भइहरेका छन् । साथै, पछिल्लो समय राइड सेयरिङ, फुड डेलिभरी, कुरियर लगायतका सेवामा रोजगारी बढेसँगै धेरैले नयाँ मोटरसाइकल/स्कुटर खरिद गरिरहेका छन् ।
नयाँ दुईपाँग्रे सवारीको खरिदबक्री बढेसँगै दर्ता पनि बढेको सूचना अधिकारी शिवाकोटी बताउँछन् । ‘गत आवमा नयाँ मोटरसाइकल र स्कुटरको दर्ता २६ प्रतिशतले बढेर झण्डै १ लाख पुगेको छ । नयाँ सवारीको बिक्री बढेसँगै दर्ता पनि बढेको हो,’ उनले मेरोअटोसँग भने ।
ईभीको हिस्सा १०.५३ प्रतिशत पुग्यो
गत आवमा कुल दर्ता भएका दुईपाँग्रे सवारीमध्ये विद्युतीयको हिस्सा १०.५१ प्रतिशत पुगेको छ । जबकि, अघिल्लो आवमा नयाँ दर्ता भएका दुईपाँग्रेमा ईभीको हिस्सा ६.४ प्रतिशत मात्र थियो ।
नेपालमा चारपाँग्रे ईभी बिक्रीले रफ्तार लिइरहँदा दुईपाँग्रे भने निकै सुस्त थियो । तर, गत फेब्रुअरीमा मध्यपूर्वमा सुरू भएको द्धन्द्ध इलेक्ट्रीक स्कुटरको आकर्षण बढाउने ‘ट्रिगर प्वाइन्ट’को रूपमा देखियो । पेट्रोलको मूल्य अस्वभाविक बढ्दा उपभोक्ता एकाएक इलेक्ट्रीक स्कुटरतर्फ आकर्षित हुँदै गएका हुन् ।
पेट्रोलबाट चल्ने सवारीको तुलनामा ईभीको संचालन खर्च कम हुनु, मर्मत कम लाग्ने, पछिल्लो समय बजारमा धेरै रेन्ज दिने स्कुटर आउनु लगायत कारणले उपभोक्ता ईभीतर्फ आकर्षित भइरहेको देखिन्छ । जसकारण बिक्री र नयाँ दर्ता उल्लेख्य रूपमा बढेको हो ।
गत आवमा हालसम्मकै धेरै २३ हजार युनिट बढी इलेक्ट्रीक स्कुटर आयात भएको छ । जसमध्ये झण्डै आधा स्कुटर काठमाडौंमा मात्र दर्ता भएका हुन् ।
यातायात कार्यालय गुर्जुधारामा हालसम्म दर्ता भएको कुल दुईपाँग्रे सवारीको संख्या १६ लाख ६० हजार नाघेको छ । यद्यपि, तीमध्ये केही लगत कट्टा र ठाउँसारी गरी अन्य प्रदेशमा दर्ता हुन गएको कार्यालयले जनाएको छ ।


