पल्सर १५० को क्रेज बढ्दो, एफजेड र आरटीआर पछिपछि

काठमाडौं । सन् २०२० कोभिड १९ को संक्रमणको बाबजुद करिब १ लाख ९० हजार मोटरसाइकल आयात भएको देखिन्छ । यस अवधिमा आयात भएका मध्ये सबैभन्दा धेरै संख्या १५० सीसी सेग्मेन्टमा रहेको तथ्यांकले देखाएको छ ।

सन् २०२० मा १५० सीसी सेग्मेन्टमा बजाज पल्सर सर्वाधिक विक्री भएको मोटरसाइकल हो । बजाजको कुल विक्रीमा ५० प्रतिशत हिस्सा पल्सर १५० को रहेको देखिन्छ । बजाज पल्सर १५० नेपालमा २ भेरियन्टमा विक्री हुँदै आएको छ ।

नेपालमा १५० सीसी सेग्मेन्टमा पल्सर १५०, एफजेड १५० सिरिज र टीभीएस आरटीआर १६० सिरिज सर्वाधिक विक्री हुनेको सूचीमा रहेका छन् । तर, यामाहा एफजेड सिरिज र टीभीएस आरटीआर सिरिज दुबैको विक्रीभन्दा पल्सर १५० एक्लैको विक्री धेरै रहेको छ । बजाजले सन् २०२० मा नेपालमा आयात गरेको डाटा हेर्दा यामाहा एफजेड १५० र आरटीआर १६० दुवैले भन्दा ३ हजार ६१४ यूनिटले धेरै रहेको देखिन्छ ।

बजाजको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले १५ डिसेम्वर २०२० सम्ममा २६ हजार ५९५ यूनिट पल्सर १५० नेपाल ल्याएको छ । यसमा पल्सर १५० क्लासिक र डबल डिस्क दुई भेरियन्ट रहेको छ ।

त्यस्तै यामाहाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यूले १५० सीसी सेग्मन्टमा १३ हजार ४९२ यूनिट मोटरसाइकल भित्र्याएको छ । कम्पनीले १५० सीसी सेग्मेन्टमा दोस्रो स्थान ओगटेको छ । कम्पनीले १५० सीसी सेग्मेन्टमा एफजेड १५० सिरिजका एफजेडएस भि ३, भि २ र एफजेड ल्याएको हो ।

त्यस्तै टीभीएसको नेपालको आधिकारिक वितरक जगदम्वा मोटर्सले १५० सीसी सेग्मेन्टमा तेस्रो स्थानमा बनाउन सफल भएको छ । कम्पनीले १५० सीसी सेग्मेन्टमा आरटीआर १५०, आरटीआर १६० २भल्भ र १६० फोर भी गरेर ९ हजार ४८९ यूनिट नेपाल भित्र्याएको हो ।


Back_to_top