काठमाडौं । कियाले पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको निरो मोडललाई आईसी इन्जिन, हाइब्रिड इन्जिन र इभीमा विक्री गर्दै आएको छ । नेपाली बजारमा भने कियाले सन् २०२० मा किया निरो इभी मात्रै ल्याएको थियो ।
अहिले किया नेपालको वेभसाइटमा निरो इभी उपलब्ध रहेको उल्लेख छ । तर, बजारमा तत्काल किन्न भने निरो इभी उपलब्ध छैन । कन्टिनेन्टल ट्रेडिङले निकै राम्रो विक्री र बुकिङ पाएको निरो इभी सप्लाईमा समस्या हुँदा किन्न खोज्ने ग्राहकले पाउन सकेका छैनन् ।
कियाले निरो इभीको नयाँ जेनेरेशन मोडलको तयारी गरिरहेको छ । कम्पनीले २०२२ न्यूयोर्क इन्टरनेशनल अटो शोमा नयाँ निरो देखाएको थियो । विशेषत युवा ग्राहकलाई आकर्षित गर्न कम्पनीले यसको बाहिरी डिजाइनमा पनि ब्यापक परिमार्जन गरेको देख्न सकिन्छ । यसलाई बजारमा भने २०२३ मा मात्रै ल्याउने कम्पनीको योजना रहेको छ ।
नयाँ निरो इभीमा पनि कियाले आफ्नो चर्चित टाइगर नोज ग्रिल प्रयोग गरेको छ । हार्टविट एलइडी डे टाइम रनिङ लाइटसँगै दिइएको भर्टिकल हेडल्याम्पले यसको अगाडिको भागलाई निकै आक्रमक बनाएको छ । ठूलो र स्लीम ग्रिल डिजाइन र कम्पनीले तेस्रो जेनेरेशन के प्लेटफर्ममा बनेको कारण यसको बडी डिजाइन निकै आकर्षक देखिन्छ ।
कियाले नयाँ निरो इभीमा १७ इन्चको अलोय ह्वील, अगाडि ग्रिलमा दिइएको चार्जिङ पार्टले चालकलाई सहज बनाउँछ । पहिलो जेनेरेशन निरोको तुलनामा नयाँ निरोको पछाडिको विन्डस्कृनको बनोट पनि फरक देखिएको छ । साथै, पछाडिको लाइटमा पनि परिमार्जन गरेको छ ।

नयाँ निरोको सबैभन्दा बलियो पक्ष यसको इन्टेरियर डिजाइन हो । निकै स्लीम र आकर्षक ड्यासबोर्ड, आकर्षक डिजाइनमा तयार भएको डिजिटल क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टम, डायल नव सहितको गियर छनोट गर्ने बटम, टु स्पोक स्टेरिङ ह्वील, इन्फोटेन्टमेन्ट सिस्टमको तल दिइएको टच बटमहरुले यसको ड्यासबोर्डलाई निकै आकर्षक देखाएको छ ।
कियाले नयाँ जेनेरेशन निरोमा दिएको इन्ट्रुमेन्ट क्लष्टर र इन्फोटेन्टमेन्ट दुबैको साइज समान १०.२५ इन्च रहेको छ । यसमा १० इन्चको हेडअप डिस्प्ले, डिजिटल कि, एयर प्यूरिफायर, एम्बीयन्ट लाइट, आवाजबाट कमाण्ड दिन मिल्ने सिस्टम उपलब्ध हुनेछ ।
कियाले पहिलेको तुलनामा निरोको साइज पनि बढाएको छ । नयाँ निरो पहिलोकोभन्दा ६५ एमएम थप लामो, २० एमएम फराकिलो र २० एमएम लामो ह्वीलवेसमा आउने छ । यसको उचाई भने परिमार्जन हुनेछैन ।
नयाँ निरो ४४२० एमएम लामो, १८२५ एमएम फराकिलो र १५४५ एमएम अग्लो हुनेछ । यसको ह्वीलवेस २७२० एमएमको हुनेछ । यसको मोटर भने परिमार्जन हुने छैन । १५० किलोवाट क्षमातको मोटर र ६४.८ किलोवाट क्षमताको ब्याट्री यसमा रहने छ ।


