काठमाडौं । यामाहा एफजेड-एक्सको अपग्रेड भर्सन आउने भएको छ । यामाहा इन्डियाले यसको अपग्रेडेड २०२३ भर्सन चाँडै बजारमा ल्याउने भएको हो ।
यामाहाले सन् २०२१ पहिलो पटक भारतमा उत्पादन गरेको एफजेड-एक्स त्यसपछि कुनै परिवर्तन भएको थिएन । अब कम्पनीले केही परिमार्जन गर्न लागेको हो ।
कम्पनीले यसको डिजाइनमा सामान्य परिर्वतन गरको छ । नयाँ भर्सनको फ्रन्टमा हेडल्याम्पसँगै विन्ड स्क्रीन दिएको छ । एड्भेन्चर मोडलमा जस्तै फ्रन्ट नोच (फेन्डर) यसमा उपलब्ध हुनेछ । यसका साथै, यामाहाले एफजेड-एक्स मोडलमा डबल च्यानल एबीएस दिन लागेको छ । यसअघि यसमा सिंगल च्यानल एबीएस उपलब्ध थियो ।
इन्टरनेटमा सार्वजनिक भएको तस्बीरका अनुसार २०२३ एफजेड-एक्समा गोल्ड कलर अलोय ह्वील प्रयोग गरिएको छ । यसका अलावा मोटरसाइकलमा अन्य धेरै परिर्वतन भएको छैन ।
यामाहा एफजेडएक्समा १४९ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको छ । यसले १२.४ हर्स पावर तथा १३.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।
अपग्रेड भएर आउन लागेको एफजेड-एक्स मोटरसाइकल अबको केही हप्ता भित्रै सार्वजनिक हुने अनुमान गरिएको छ ।


