नेक्सन ईभी VS एक्सयूभी ४००, थाहा पाउनुहोस् ६ तथ्य

काठमाडौं । महिन्द्राले दुई ब्याट्री अप्सनमा एक्सयूभी ४०० सार्वजनिक गरेसँगै टाटा नेक्सन ईभीसँग यसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेक्सनको तुलनामा एक्सयूभी ४०० साइज, रेन्ज र पर्फमेन्समा अलग देखिन्छ ।

भारतीय दुई ब्राण्ड बीच ईभी उत्पादन र विक्रीमा हुन लागेको प्रतिस्पर्धालाई धेरैले रोचक मानिरहेका छन् । पछिल्लो एक वर्ष दुवै भारतीय ब्राण्डको लागि निकै सुखद बन्यो । त्यसबाटै हौसिएर दुवै कम्पनीले एकपछि अर्को नयाँ मोडल घोषणा गरिरहेका छन् ।

यी दुई कम्पनी बीच विशेषतः एसयूभी सेग्मेन्टमा निकै ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । यस बीच महिन्द्राले टाटाको हेड डिजाइनर प्रताप बोसलाई आफ्नो बनाएपछि भने अझ दुई ब्राण्ड बीचको प्रतिस्पर्धा निकै टक्करपूर्ण देखिएको छ ।

महिन्द्राले हिजो भारतमा आफ्नो एक्सयूभी ४०० सार्वजनिक गरेसँगै यी दुई मोडल बीचको प्रतिस्पर्धा रोक बन्ने देखिएको हो । यी दुई प्रतिस्पर्धी बीच हुने टक्करलाई यी मोडलमा भएका फिचरले कति साथ दिन्छ, त्यो हेर्न भने अझै केही महिना कुर्नु पर्ने हुन्छ ।

ब्याट्री साइज

टाटा नेक्सन ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । नेपालमा एउटा मात्रै अप्सन उपलब्ध रहेको भए पनि भारतमा रेगुलर मोडलमा ३०.२ र म्याक्स मोडलमा ४०.५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ ।

महिन्द्राले आफ्नो नयाँ एक्सयूभी ४०० मा पनि ३४.५ र ३९.४ किलोवाट क्षमताको ब्याट्री दिएको छ ।

मोटर

महिन्द्राले एक्सयूभी ४०० को दुवै भेरियन्टमा ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । तर, टाटाले नेक्सनको स्टायडर्ड भेरियन्टमा ९५ किलोवाट र म्याक्स भेरियन्टमा १०४ किलोवाट क्षमताको मोटर दिएको छ ।

रेन्ज

टाटा नेक्सन ईभीको रेगुलर मोडलले ३१२ किलोमिटर रेन्ज प्रदान गर्ने एआरएआइले प्रमाणित गरेको छ । तर, उसको नेक्सन म्याक्स मोडलले ४३७ किलोमिटर रेन्ज दिने दाबी छ ।

एआरएआइको परीक्षणमा एक्सयूभी ४०० का दुवै भेरियन्ट नेक्सनभन्दा धेरै रेन्ज दिनेगरी प्रमाणित भएको छ । एक्सयूभी ४०० को रेगुलर मोडलले ३७५ र लङ रेन्ज मोडलले ४५६ किलोमिटर रेन्ज दिने छ ।

सुरक्षा

महिन्द्राले एक्सयूभी ३०० लाई केही परिमार्जन गरेर एक्सयूभी ४०० बजारमा ल्याएको हो । यसको साइज एक्सयूभी ३०० को तुलनामा ठूलो छ । तर, बडी डिजाइन र इन्टेरियरमा धेरै फरक छैन । एक्सयूभी ३०० ले यसअघि नै ५ स्टार रेटिङ पाएको कारण नयाँ एक्सयूभी ४०० ले पनि ५ स्टार रेटिङ पाउने उत्पादकले विश्वास लिएका छन् ।

टाटा नेक्सन पनि ग्लोबल एनक्यापमा परीक्षण भएको छैन । कम्बस्चन इन्जिनयुक्त नेक्सनले क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएको थियो । त्यसैले यसले पनि ५ स्टार रेटिङ पाउने टाटा मोटर्सले विश्वास लिएको छ ।

चार्जिङ समय

टाटा नेक्सनको दुवै मोडलमा ३.३ किलोवाट र ७.२ किलोवाट क्षमताका एसी चार्जर छन् । यसले ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।

महिन्द्राको एक्सयूभी ४०० मा पनि ३.३ किलोवाटको होम चार्जर र ७.२ किलोवाटको एसी चार्जर उपलब्ध छ । यसले ५० किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

मूल्य

नेपालमा महिन्द्रा एक्सयूभी ४०० आएको छैन । तर, मोटर पावर अनुसार कर लाग्दा नेक्सनको तुलनामा एक्सयूभी ४०० निकै महंगो पर्न जान्छ । तर, भारतमा भने सुरूआती मूल्य नेक्सन ईभीको १४ लाख ९९ हजार र एक्सयूभी ४०० को १५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top