काठमाडौं । भारतीय अटोमोबाइल महिन्द्रा अटोले आफ्नो लोकप्रिय एसयूभी स्कोर्पियो एनको फेसलिफ्ट संस्करण चाँडै बजारमा ल्याउने भएको छ ।
कम्पनीले निर्माण गरिरहेको २०२६ महिन्द्रा स्कोर्पियो एन फेसलिफ्ट हाल भारतमा परीक्षणका क्रममा देखिएको हो ।
‘द कार शो’द्वारा सार्वजनिक गरिएको जासुसी तस्बिरमा देखिए अनुसार फेसलिफ्ट स्कर्पियो एन डिजाइन परिवर्तन र फिचरहरू थपिएर आउने छ ।
कम्पनीले भारतको मिड-साइज एसयूभी सेग्मेन्टमा सबैभन्दा धेरै बिक्री हुने मोडेल स्कोर्पियो एनलाई अझ आधुनिक र ग्राहकको बढ्दो अपेक्षा अनुसार बजारमा ल्याउने देखिएको छ ।
भारतमा पछिल्लो समय सनरुफ भएका गाडीको माग बढ्दो छ । त्यसैलाई मध्येनजर गर्दै कम्पनीले स्कोर्पियो एन फेसलिफ्टमा प्यानोरामिक सनरुफ उपलब्ध गराउने भएको छ । यो डुअल-पेन प्यानोरामिक सनरुफ खोल्न मिल्ने खालको हुनेछ । जुन बीई ६ र एक्सईभी ९ ई मोडेलभन्दा फरक विशेषताको रहेको रहने छ ।
त्यस्तै, कम्पनीले स्कर्पियो एन फेसलिफ्टमा ३६० डिग्री क्यामेरा पनि राख्ने भएको छ । यसको बाहिरी साइड मिरर (ओभीआरएम)मा क्यामेरा जडान गरिएको देखिएको छ । यसमा ब्लाइन्ड स्पट मोनिटरिङ सुविधा पनि उपलब्ध गराइने अपेक्षा गरिएको छ।
कम्पनीले सन् २०२५ स्कोर्पियो एनको जेड एड टी भेरियन्टमा लेभल-२ एडास सुरक्षा प्रणाली दिएको थियो । यसमा अगाडि ठोक्किने चेतावनी, अटोमेटिक इमरजेन्सी ब्रेक, स्टप एन्ड गो सहितको क्रुज कन्ट्रोल, लेन किप असिस्ट, ट्राफिक साइन रेकग्निसन लगायतका आधुनिक सुरक्षा सुविधाहरू थिए।
कम्पनीले २०२६ स्कोर्पियो एन फेसलिफ्टको डिजाइन समेत परिवर्तन गरेको छ । यसको अगाडि भागमा ठूलो र आक्रामक ग्रिल दिइने छ । जुन अगाडिको बम्परसम्म फैलिएको हुनेछ। त्यस्तै, नयाँ एलईडी हेडलाइटका साथै मोडमा घुम्ने फग ल्याम्प पनि समावेश गर्ने अनुमान गरिएको छ ।
कम्पनीले स्कोर्पियो एन फेसलिफ्टमा १८ इन्चकै पाँग्रा दिनेछ । तर, यसको एलोय ह्वीलको डिजाइन पूर्ण रूपमा नयाँ हुनेछ। यसको इन्टेरियरमा १०.२ इन्चको ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम दिइनेछ । जसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट हुनेछ। इन्स्ट्रुमेन्ट क्लस्टर थार रोक्सको जस्तै पूर्ण डिजिटल टीएफटी युनिट हुनेछ । साथै, क्याबिन लाइट कन्ट्रोल प्यानल हालै सार्वजनिक गरिएको एक्सयूभी सेभेन एक्सओसँग साझा हुन सक्ने सम्भावना छ।
यी सबै सुधार र नयाँ फिचरले महिन्द्रा स्कोर्पियो एन फेसलिफ्टले मिड-साइज एसयूभी सेग्मेन्टमा आफ्नो दबदबा अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

