काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थप भएको छ ।
२०७९ पुस १५ गते ३ वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो । सो अनुसार २०८२ पुस १५ भित्र काम सम्पन्न हुनुपर्थ्यो । तर, उक्त अवधिमा करिब एकतिहाई मात्र काम पूरा भएपछि ६ महिना म्याद थपिएको हो ।
नागढुंगा-मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्ड मुग्लिन-मलेखु सडकका इन्जिनियर विजय दरैले १८३ दिन म्याद थप गरिएको जानकारी दिए । उनका अनुसार डिजाइनको तथ्यांक गलत पर्दा सडकको नक्सांकन फरक परेकाले समयमा काम गर्न नपाएका कारण म्याद थपिएको हो ।
थपिएको म्याद अनुसार आगामी असार १५ गतेसम्म आयोजनाको काम सम्पन्न हुनुपर्नेछ । तर, हालको प्रगति हेर्दा सो समयमा पनि काम पूरा हुने सम्भावना कम छ । हालसम्म यस सडकको करिब ३७ प्रतिशत मात्रै काम पूरा भएको छ । अझै ६३ प्रतिशत काम बाँकी रहेको छ ।
निर्माण कम्पनीले साइट क्लियरेन्समा ढिलाइ, रुख कटान, खम्बा सार्न समयमा नसकिएको, निर्माण सामग्री अभाव, सवारीको उच्च चापलगायत कारण निर्माण तोकिएको समयमा हुन नसकेको बताएको छ ।
३८.८६ किलोमिटर लामो यो खण्डको हालसम्म ९ किलोमिटरभन्दा केही बढी कालोपत्र सकिएको छ । धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ । फिस्लिङलगायत क्षेत्रमा कालोपत्रको तयारी गरिएको छ ।
अन्य स्थानमा हाल नाली, बेरियर, पुललगायत सडकका विभिन्न क्षेत्रका काम भइरहेको इन्जिनियर दरैले बताए । उनका अनुसार दैनिक १५० हाराहारी मजदुरले काम गरिरहेका छन् । आयोजनाका तर्फबाट आवश्यक सहजीकरण गरेर थप भएको समयमा सक्ने गरी कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनिएको उनको भनाइ छ ।
यो खण्डको ठेक्का शर्मा–जेडआइसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा पाएको छ । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ ।
मुग्लिन-नागढुङ्गा खण्डलाई तीन खण्डमा विभाजित गरी स्तरोन्नतिको काम भइरहेको छ । पहिलोखण्ड नागढुंगा-नौबिसेको काम अन्तिमचरणमा पुगेको छ भने दोस्रोखण्ड नौबिसे-मलेखुको आधा सकिएको छ ।
यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।

