काठमाडौं । सन् २०२५ मा नेपालमा ३ दर्जन बढी ब्राण्डका ११ हजार ७७३ युनिट विद्युतीय कार (ईभी) नेपाल भित्रिए ।
बीवाइडी, टाटा, हुन्डाई, एमजी, दीपल, ओमोडा जेको, लीपमोटर लगायत ब्राण्डको कार राम्रै संख्यामा भित्रिएका छन् भने अन्य ब्राण्डको न्यून छ । केही ब्राण्डको आयात १० युनिटभन्दा पनि कम रहेको छ ।
सन् २०२५ मा ५० बढी मोडलका विद्युतीय कार आयात हुँदा तीन मोडलको मात्रै आयात १ हजार युनिट कटेको छ भने ७ मोडलको आयात ५०० युनिट कटेको छ । यहाँ हामीले सन् २०२५ मा ५०० युनिट बढी आयात भएका मोडल र संख्या बारे चर्चा गरेका छौं ।
सन् २०२५ मा ३ ब्राण्डका ७ मोडलको आयात ५०० युनिट बढी रहेको छ । जसमा बीवाइडीका चार मोडल, टाटाका दुई र एमजीको एक मोडल रहेका छन् ।
सन् २०२५ मोडलका आधारमा टाटा टिगोर ईभी सबैभन्दा धेरै आयात भएको छ । सिप्रदी ट्रेडिङले १ वर्षको अवधिमा १ हजार १४६ युनिट टिगोर ईभी ल्याएको हो । यद्यपि, यो प्यासेन्जर कार नभई ट्याक्सीको रूपमा नेपाल आएको हो ।
दोस्रो धेरै आयात हुनेमा बीवाइडी एटो टु रहेको छ । गत भदौमा आयोजित नाडा अटो शो २०२५ मा नेपाल आएको बीवाइडी एटो-टुले ४ महिनामै १ हजार ७४ युनिटको आयात भएको हो ।
त्यस्तै, सन् २०२५ को मार्चबाट नेपालमा बिक्री सुरू भएको एमजी एस फाइभ तेस्रो धेरै आयात हुने मोडल बनेको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स सन् २०२५ मा एमजी एस फाइभ १ हजार ५२ युनिट आयात गर्न सफल भएको छ ।
चौथो धेरै आयात हुनेमा बीवाइडीकै एटो वान रहेको छ । गत साउनमा नेपाल आएको एटो वान सन् २०२५ मा ८३० युनिट आयात भएको हो ।
त्यस्तै, बीवाइडीकै चर्चित मोडल एटो थ्री र डल्फिन पनि ५०० युनिट बढी आयात भएको छ । साइमेक्स इंकले यी मोडल क्रमशः ६३६ र ५३५ युनिट नेपाल ल्याएको हो ।
त्यस्तै, टाटाको पन्च ईभी पनि ५०० युनिटभन्दा धेरै आयात हुने कार बनेको छ । सिप्रदी ट्रेडिङले सन् २०२५ मा ५३४ युनिट पन्च ईभी नेपाल ल्याएको हो ।

