काठमाडौं । सरकारले राष्ट्रिय राजमार्गहरूमा पहिरो नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा राष्ट्रिय राजमार्गहरूमा पहिरो नियन्त्रणका गर्नका लागि ३ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।
मन्त्रालयले देशका प्रमुख राजमार्गहरूमा पहिरो नियन्त्रणकाे प्राथमिकतामा राखेको छ । कोशी, मध्यपहाडी, पुष्पलाल, अरनिको, सिद्धार्थ, कालिगण्डकी, मदनभण्डारी, राप्ती, कर्णाली, पृथ्वी लागायत राजमार्गमा पहिरो नियन्त्रण गर्न बजेट छुट्याएको हो ।
सरकारले वर्षौंदेखि मुख्य राजमार्गहरूमा पहिरो नियन्त्रणमा अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ । तर, पर्याप्त नहुँदा वर्षेनी वर्षायाममा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै धनजनको समेत क्षति हुँदै आएको छ ।
अहिले पनि विभिन्न राजमार्गमा पहिरो नियन्त्रणका काम हुँदै आएका छन् । आगामी आवमा पनि देशका मुख्य राजमार्गका ६८ खण्डमा पहिरो नियन्त्रण गर्न मन्त्रालयले बजेट छुट्याएको हो । मन्त्रालयले राजमार्गका पहिरो नियन्त्रण गर्नुपर्ने ठाउँहरू समेत पहिचान गरेर बजेट छुट्याएको हो ।
मन्त्रालयले यसअघि राजमार्ग सर्मत सम्भार अन्तर्गत पहिरो नियन्त्रणका लागि बजेट छुट्याउँथ्यो । आगामी वर्षमा भने पहिरो नियन्त्रण शिर्षकमै बजेट विनियोजन गरेको हो ।
बजेट विनियोजन गरिएका सडकमा पहिरो नियन्त्रणका लागि आगामी आवमा ठेक्का लगाइ काम थालिने मन्त्रालयले जनाएको छ ।
कुन सडकले कति पाए बजेट ?
मन्त्रालयले साँफेबगर-मार्तडी-कोल्टी सडकको साँफेबगर-रक्से-कोल्टी-ओखार्तोला-मार्तडी सडक खण्ड तथा बुडिनन्दा नदीमा यातायात संचालन गर्न सबैभन्दा धेरै ५० करोड रुपैयाँ बजेट छुट्याएको छ ।
त्यस्तै, कोशी राजमार्गको केवाबेँसी-सभाखोला-खाँदबारी सडक खण्डका लागि ३ करोड, पुष्पलाल राजमार्गमा पर्ने लेगुवा-भोजपुर खण्डका लागि समेत ३ करोड २४ लाख, धनकुटामा मुलघाट-पात्लेखोला सडकले ५ करोड, हिलेपानी-ओखलढुंगा र मुढे-सल्लेरी सडक खण्डका लागि ४ करोड, हलेसी-दिक्तेल सडकका लागि ३ करोड, दिक्तेल-चखेवा सडक ३ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
त्यस्तै, चीनसँगको प्रमुख व्यापारिक दुई सडकका लागि कुल २२ करोड रुपैयाँ छुट्याएको छ । जसमा अरनिको राजमार्गको बाह्रबिसे-कोदारी खण्डका लागि ६ करोड ९५ लाख र दोलालघाट-लामोसाँघु खण्डमा ६ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै, बालाजु-बेत्रावती-धुन्चे-स्याफ्रुबेँसी सडक खण्डका लागि ९ करोड बजेट विनियोजन भएको छ । चरिकोट-सिंगटी सडकमा ३ करोड विनियोजन गरिएको छ ।
आपटारी-मुग्लिन खण्डमा ६ करोड ४५ लाख, खैरेनीटार-भीमाद-कावासोती सडकको भुमरिघाट-पाङ्ग्रे-नवलपुर खण्डमा ३ करोड ६९ लाख, सीतापाइला-भीमढुंगा ३ करोड, सामाखुशी-टोखा-गुर्जे ३ करोड ५० लाख, बालाजु बाइपास-नागार्जुन-ठूलोखोला ३ करोड र स्वीकृत राष्ट्रिय राजमार्गहरूका लागि १५ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
नौबिसे-मुग्लिङ-पोखरा सडकका लागि ३ करोड, आबुखैरेनी-गोरखा घ्याम्पेसाल सडक (३ स्थान) ९ करोड ५० लाख, खैरेनीटार-भिमाद-कावासोती सडक ३ करोड, राम्दी-स्याङ्जा-पोखरा खण्डकलाई २ करोड २५ लाख, मध्यपहाडी राजमार्गको पोखरा-हरिचोक-हेम्जा-नयाँपुल-मालढुंगा खण्डलाई ९ करोड १० लाख, कालिगण्डकी पुल-पातिहाल्ने खण्ड बागलुङखण्डको दुई स्थानमा ७ करोड ६१ लाख, तौलिहवा-गोरुसिंगे-सन्धीखर्क सडकमा ३ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
वर्तुङ-तानसेन-रिडी-वामिटक्सार-खर्वाङ सडकको रिडी-रुद्रवेणी-वामिटक्सार खण्डका लागि ५ करोड २७ लाख, मदन भण्डारी राजमार्गको रानीमहल-रिडी खण्ड ३ करोड २१ लाख, भालुवाङ-विङ-रोल्पा-माडीचौर-दारबोट सडकको भालुवाङ चकचके खण्डका दुई ठाउँमा ८ करोड, राप्ती राजमार्गको चार ठाउँका लागि ११ करोड ७७ लाख बजेट छुट्याइएको छ ।
जमुनाह-नेपालगन्ज कोहलपुर हर्रे खण्डमा ३ करोड, खौलापास पिपल छरेबगर राप्ती राजमार्ग ३ करोड, मध्यपहाडी राजमार्गको स्यालापासा-मुसीकोट-चौरजहारी खण्डको ४ खण्डमा १२ करोड, कर्णाली राजमार्ग (जुम्ला) ३ करोड, सुर्खेत-दैलेख-महाबुलेख गाल्जे-नाग्मा-गमगढी-नाक्चालाग्ना सडकको ५ खण्डमा १५ करोड ४२ लाख र खुलालु-मान्मा-नाग्मा-जुम्ला सडकको दुई खण्डका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
रारा राजमार्गको कुडारी ताल्चा-रारा खण्डलाई ३ करोड, सुर्खेत-दैलेख-महावुलेख-गाल्जे खण्डलाई २० करोड ८६ लाख, जमुनाह नेपालगन्ज कोहलपुर सुर्खेत जुम्ला सडकका दुईखण्ड ६ करोड ८० लाख, धनगढी-सअजपुर-बुडर-स्याउले सडकले १ करोड ६० लाख, मध्यपहाडी राजमार्गको सिलगढी-स्याउले बजार सडकको ४ खण्डका लागि खण्डका ८ करोड २० लाख, मंगलसेन-बयलपाटा-साँफेबगर-चौखुट्टे खण्डमा ३ करोड २१ लाख रकम छुट्याइएको मन्त्रालयले जनाएको छ ।
खोड्पे-चैनपुर (बझाङ) सडकको ४ खण्डका लागि ११ करोड २० लाख, सतबाँझ-थाकतोली-दार्चुला-टिंकर सडकको ३ खण्डका लागि ९ करोड ५२ लाख, अनारखोली-पाटन-सतबाँझ झुलाघाट सडकको दुई खण्ड ६ करोड ७८ लाख र धनगढी-अत्तरिया सहजपुर सडकका लागि १ करोड ९३ लाख रुपैयाँ बजेट छुट्याएको हो ।


