काठमाडौं । सन् २०१८ बाट विद्युतीय एसयूभी बिक्री सुरू भएको नेपाली बजारमा ३ एसयूभीले आफूलाई बलियो बनाएका छन् । विद्युतीय कारको बिक्री बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्डाई कोना इलेक्ट्रीक विगत ५ वर्षमा ६८३ युनिट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
बजारमा इलेक्ट्रीक एसयूभीको बिक्री सुरूआत गर्ने मोडल भए पनि धेरै आयात भएका शीर्ष तीन एसयूभीको सूचीमा कोना अटाउन सकेन । टप तीन भित्र टाटा नेक्सन, बीवाइडी एटो–थ्री र एमजी जेडएस ईभी पर्न सफल भएका छन् ।

सन् २०२२ को अन्तिम तिर नेपाली बजारमा प्रवेश गरेको एटो–थ्री सन् २०२४मा पुग्दा सर्वाधिक धेरै आयात भइरहेको मोडल हो । तर, समग्र आयातमा अहिले पनि टाटा नेक्सन ईभी सबैभन्दा अगाडि देखिन्छ । साथै, सूचीको तेस्रो स्थानमा एमजी जेडएस ईभी रहन सफल भएको छ ।
एमजीले जेडएस ईभी सन् २०१९ देखि नेपाल ल्याएर बिक्री गर्दै आएको छ । मासमा सबैभन्दा धेरै ईभी बिक्री गर्दै पूरै विद्युतीय कारको बजारमा उछाल ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जेडएस ईभी करको चपेटामा पनि पर्दै आएको मोडल हो ।
हामीले यी तीनवटै मोडलले अंग्रेजी आर्थिक वर्ष अप्रिल १ तारिखदेखि मार्च ३१ सम्मलाई एक वर्ष मानेर तथ्यांक प्रस्तुत गरेका छौं ।
तेस्रो धेरै आयात भएको जेडएस ईभी

सन् २०१९/२० आर्थिक वर्षमा जेडएस ईभीको आयात १०७ युनिट भएको थियो । त्यस्तै, २०२० मा १२१ युनिट जेडएस ईभी आयात भएकोमा २०२१ मा ६९९ युनिट जेडएस ईभी आएको थियो ।
विद्युतीय कारको आयात बढेकोभन्दै सरकारले कर हेरफेर गरेपछि २०२२ मा जेडएस ईभीको आयात अत्यन्त न्यून हुन पुग्यो । त्यस आर्थिक वर्षमा ९ युनिट मात्रै जेडएस ईभी नेपाल आएको थियो ।
पारामाउन्ट मोटर्सले जेडएस ईभीको मोटर पावर ९९ किलोवाट बनाएर २०२३ मा पुनः ल्याउन थालेसँगै उक्त वर्ष १००३ युनिट जेडएस ईभी नेपाल आयो । आर्थिक वर्ष २०२४/०२५ लागेसँगै पछिल्लो डेढ महिनामा केबल ५ युनिट जेडएस ईभी आयात भएको छ । अहिलेसम्म १ हजार ९४४ युनिट जेडएस ईभी आयात भएको देखिन्छ । कम्पनीले बजेटलाई ध्यानमा राखेर आयात गरेको ठूलो संख्या यो तथ्यांकमा जोडिएको छैन ।
दोस्रो धेरै आयात एटो–थ्री

अहिलेको हटकेक मोडल एटो–थ्री हो । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले एटो–थ्रीलाई आर्थिक वर्ष २०२२/२३ को अन्तिम तिर बजारमा ल्याएको हो । उक्त आर्थिक वर्षमा केबल १२ युनिट मात्रै एटो–थ्री आयात भएको थियो ।
सुरूमा ९० लाख रुपैयाँ मूल्य र १५० किलोवाटको मोटरमा मात्रै उपलब्ध एटो–थ्री ९९ किलोवाटको मोटर तथा ५० र ६० किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आएसँगै आयात बढेको हो । आर्थिक वर्ष २०२३/२४ मा एटो–थ्री १७५९ युनिट आयात भएको थियो ।
कम्पनीले पछिल्लो डेढ महिनामा पनि ४१४ युनिट एटो–थ्री नेपाल ल्याएको छ । बजेट अगाडि कम्पनीले ल्याइरहेको गाडीको संख्या यहाँ उल्लेख भएको छैन । त्यसअघि एटो–थ्रीको कुल आयात २ हजार १८५ युनिट भएको देखिन्छ ।
सर्वाधिक आयात भएको नेक्सन ईभी

उच्च ग्राउन्ड क्लियरेन्स, एसयूभी डिजाइन र उत्कृष्ट मूल्यको कारण धेरै मानिसको रोजाइमा पर्न सफल नेक्सन ईभी सन् २०२१ मा नेपाल आएको थियो । नेपाल आएदेखि नै ग्राहकले यसलाई रुचाएका हुन् ।
आर्थिक वर्ष २०२१/२२ मा ४४६ युनिट आयात भएको नेक्सन अर्को वर्ष १७०३ युनिट र २०२३ मा ६२५ युनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ । अहिलेसम्म कुल मिलाएर २ हजार ७७४ युनिट नेक्सन ईभी आयात भएको छ ।

