काठमाडौं । अहिले विभिन्न कम्पनीले गाडी किन्ने ग्राहकलाई अफर गरिरहेका छन् । ३० लाख हाराहारी मूल्यमा उत्कृष्ट ह्याचव्याक कार किन्न चाहनेको लागि हुन्डाई, मारुती सुजुकी र फक्सवागनको तीनकार उत्कृष्ट हुन सक्छन् । कम्पनीले ल्याएको अफरमा सुरुवाति वर्ष मासिक १० हजारदेखि ह्याचव्याक कार किन्न सकिने छ ।
अहिले बजारमा बिक्री भइरहेका र ग्राहकलाई अफर प्रदान गरेका ग्राण्ड आई १०, सुजुकी स्वीफ्ट र फक्सवागन पोलो तीन वटै कार ग्राहकको रोजाइमा पर्दै आएका मोडल हुन् ।
फक्सवागन र हुन्डाईले आफ्नो ग्राण्ड आई १० र पोलोमा पहिलो वर्ष मासिक किस्तामा छुट दिने घोषणा गरेका छन् भने मारुती सुजुकी स्वीफ्टमा नगद छुट र २५ प्रतिशत मात्र डाउन पेमेन्टमा कार दिने घोषणा गरेको छ । यस्तोमा अफरमा ह्याचव्याक कार किन्नेको लागि यी तीनमा उत्कृष्ट छनोट हुन सक्ने छन् ।
कम्पनी अनुसारको अफर
विश्व प्रसिद्ध जर्मन ब्राण्ड फक्सवागनले मासिक १० हजार किस्तामा नयाँ कार दिने अफर ल्याएको छ । पुजा इन्टरनेशनलले नेपाली बजारमा आधिकारीक वितरकको काम गर्दै आएको फक्सवागनको पोलो कम्पनीको सबैभन्दा सस्तो कार हो । यसको मूल्य २९ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री वितरण भइरहेको छ ।

कम्पनीले अहिले पोलो किन्ने ग्राहकलाई फ्रि एसोशरिज, एक वर्षको सडक दस्तुर, सरल फाइनान्स सुविधा, ४ वर्षसम्म निःशुल्क सर्भिसिङ जस्ता अफरहरु गरेको छ ।
कम्पनीले ल्याएको अफरमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी रकमलाई ७ वर्षको मासिक किस्तामा किन्न सकिन्छ ।
कम्पनीको अफर अनुसार १० प्रतिशत व्याजदरमा पोलो किन्दा मासिक किस्ता २४ हजार ४४५ रुपैयाँ हाराहारीमा पर्छ । तर, उक्त मासिक किस्ता एक वर्षसम्म ग्राहकले मासिक १० हजार रुपैयाँ तिरे पुग्छ भने बाँकी रकम कम्पनीले तिरिदिने छ ।
गाडीको १३ औं किस्ताबाट ग्राहकले पुरै लाग्ने २४ हजार ४४५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले कोरोना भाइरसको संक्रमणको कारण लामो लकडाउनले मानिसको आम्दानीमा ह्रास आएको समयमा २५ प्रतिशत डाउन पेमेन्टमा स्वीफ्ट किन्न सक्नेगरि योजना ल्याएको छ । तर यसकाे मासिक किस्ता भने बढी पर्ने छ ।

कम्पनीको यस योजनामा ग्राहकले गाडीको मूल्यको २५ प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्ने छ । अहिले स्वीफ्ट नेपालमा दुई भेरियन्टमा बिक्री वितरण भइरहेको छ । भिएक्सआई र जेडएक्सआई मोडलको मूल्य क्रमश २९ लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यी दुबै मोडल किन्न चाहने ग्राहकलाई कम्पनीले १ लाख रुपैयाँ नगद छुट दिएको कारण भिएक्सआई भेरियन्टको खरिद मूल्य २८ लाख ९९ हजार र जेडएक्सआई भेरियन्टको ३१ लाख ९९ हजार रुपैयाँ हुन्छ ।
यसमा कम्पनीले एक वर्षको सडक दस्तुर, एक वर्षको बीमा सुविधा जस्ता अफरसमेत दिएको छ । नेपाली बजारमा सन् २००५ देखिनै बिक्री वितरण हुँदै आएको स्वीफ्ट निकै सफल मोडल हो ।
हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले सन् २०१३ मा नेपाली बजारमा पहिलो पल्ट ल्याएको ग्राण्ड आई १० अहिलेपनि ग्राहकको रोजाईमा पर्दै आएको छ ।
साइज, सुरक्षा, डिजाइन, आरामदायी र फिचर प्याक भएकै कारण यसलाई ग्राहकले निकै मनपराएको बिक्रेता कम्पनीको भनाई छ । बजारमा यो गाडीको बिक्री धेरै हुनुको पछाडि अर्को मुख्य कारण रिसेल मूल्यपनि हो ।

कम्पनीको स्कीममा ग्राहकले ग्राण्ड आई १० किन्ने हो भने १ लाख २० हजार नगद छुट दिने छ । यसका अलावा कम्पनीले दिने बैंकबाट ग्राहकले १०.२२ र १०.३३ प्रतिशत व्याजदरमा ८ वर्षको लागि कर्जा प्राप्त गर्न सक्ने छन् । त्यसमा पनि कम्पनीले मासिक किस्ताको ५० प्रतिशत एक वर्षसम्म व्योहोर्ने जनाएको छ ।
कम्पनीले ल्याएको स्कीममा ग्राण्ड आई १० किन्न चाहने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने छ, भने बाँकी रकम कर्जा लिन पाउने छन् । त्यसरी कर्जा लिँदा मासिक किस्ता २१ हजार ७६६ रुपैयाँ पर्छ । कम्पनीले पहिलो एक वर्ष ५० प्रतिशत तिरिदिने भएकोले ग्राहकले पहिलो वर्ष १० हजार ८८३ रुपैयाँ मात्रै तिर्नु पर्ने हुन्छ ।
अहिले नेपाली बजारमा ग्राण्ड आई १० को दुई भेरियन्ट मात्रै बिक्री वितरण हुँदै आएको छ । बीएस ४ इन्जिन भएको मग्ना भेरियन्टको मूल्य २९ लाख ५६ हजार र बीएस ६ इन्जिनको मूल्य ३० लाख ५६ हजार रहेको छ । त्यसैगरि स्पोर्टज भेरियन्टमा पनि बीएस ४ को मूल्य ३१ लाख ९६ हजार र बीएस ६ इन्जिनको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


