काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
भदौ १० गते भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनस्थापनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका सदस्य अमृत लम्सालले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकका संचालक समिति सदस्य लम्सालले महाभूकम्प, महामारी लगायतका राष्ट्रिय विपद्को समयमा बैंकले निरन्तर आर्थिक सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
बाढी पीडितका लागि राहत स्वरूप सहयोग रकम प्रदान गरेकोमा अर्थमन्त्री डा. वाग्लेले नेपाल बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे ।
बैंकले प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।


