३० देखि ४० लाख मूल्यका सर्वाधिक विक्री हुने ४ कार

काठमाडौं । बजारमा ३० लाखदेखि ४० लाखसम्म खर्च गरेर नयाँ कार किन्ने मानिससँग थुप्रै छनोट रहेका छन् । यो मूल्यमा ह्याचव्याक, प्रिमियम ह्याचव्याक, सेडान र सब फोर मिटर एसयूभी ग्राहकले खरिद गर्न सक्छन् ।

विशेषत ह्याचव्याक सेग्मेन्टमा विक्री हुने ग्राण्ड आई १० नियोस, मारुती सुजुकी स्वीफ्ट र टाटा टियागो ३० देखि ३५ लाखसम्ममा नै ग्राहकले खरिद गर्न सक्ने छन् ।

त्यसैगरी प्रिमियम ह्याचव्याक सेग्मेन्टमा विक्री हुने हुन्डाई आई २०, मारुती सुजुकी बलेनो, टाटा अल्ट्रोज र फक्सवागन पोलोका केही भेरियन्ट ४० लाख भित्रै खरिद गर्न सकिन्छ ।

सेडान कार खोज्ने ग्राहकले पनि ४० लाख भित्रै केही मोडल छनोट गर्न सक्ने छन् । जसमा हुन्डाई अउरा, मारुती सुजुकी डिजायर, स्कोडा स्यापीड, टाटा टिगोर जस्ता मोडलका अधिकांश मोडल ग्राहकले छनोटमा पाउने छन् ।

बजारमा चल्तीका सब फोर मिटर एसयूभी भेन्यू, नेक्सन, सोनेट, एक्सयूभी ३०० जस्ता मोडलका इन्ट्री भेरियन्ट ३५ लाख देखि ४० लाख भित्रै खरिद गर्न पाइन्छ । तर, यही सेग्मेन्टमा विक्री हुने म्याग्नाइट र काइगरको अधिकांश भेरियन्ट ४० लाख भित्र कै मूल्यमा पाउन सकिन्छ ।

यस्तोमा बजारमा उपलब्ध ३० देखि ४० लाख मूल्य भित्रका सर्वाधिक विक्री हुने ४ मोडल यस प्रकार रहेका छन् ।

१. म्याग्नाइटः विभिन्न ११ भेरियन्ट किन्न पाइने निसान म्याग्नाइट १.० नेचुरल्ली एस्पीरेटेड र टर्बो इन्जिन अप्सनमा उपलब्ध रहेको छ । यसको सुरुवाती भेरियन्टको मूल्य ३० लाख ९९ हजार बाटै ग्राहकले खरिद गर्न सक्ने छन् ।

निसान म्याग्नाइटमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचर पाउन सकिन्छ ।

कारमा दिइएको लाइटहरु सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ ।

२. ग्राण्डआई १० नियोसः हुन्डाई ग्रान्ड आई १० नियोस एक वर्षअघि नेपाल आएको मोडल हो । नियोसको म्याग्ना, म्याग्ना एएमटी र स्पोर्टज् भेरियन्ट उपलब्ध रहेको छ ।

कम्पनीले ग्राण्ड आई १० नियोसको म्याग्ना भेरियन्टको मूल्य ३१ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ३४ लाख ५६ हजार तोकेको छ । मग्ना भेरियन्ट अटोमेटिक गियरमा पनि उपलब्ध रहेको छ । मग्ना अटोमेटिकको मूल्य ३४ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

ग्राण्ड आई १० नियोसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जस्ता विशेषता दिइएको छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ ।

यसमा मेसिन कट अलोय ह्वील दिइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइट सेटअप दिइएको छ । ग्रान्ड आई १० को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएच पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यसको ड्याशबोर्ड दिइएको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, आकर्षक स्टेयरिंग ह्वीलले गाडीलाई प्रिमियम लुक्स दिएको छ ।

इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुने छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबीएस, इबीडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर दिइएको छ । हुन्डाईको कनेक्टेड कार टेक्नोलोजीको विशेषता यसमा पाउन सकिन्छ ।

३. स्वीफ्टः मारुती सुजुकी स्वीफ्ट नेपाल सफल ह्याचव्याक कार हो । कम्पनीले स्वीफ्टको भिएक्सआई र जेडएक्सआई दुई भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ । भिएक्सआई भेरियन्टको मूल्य ३२ लाख ४९ हजार र जेडएक्सआई भेरियन्टको मूल्य ३५ लाख ४९ हजार रुपैयाँ कायम गरेर विक्री गर्दै आएको छ ।

नेपालमा केही समय अघि आएको फेसलिफ्ट स्वीफ्टमा नयाँ ग्रिल दिइएको छ । ग्रिलको बीचमा लामो सिधा क्रोम फिनिसिङले थप आकर्षक बनाएको छ । एलइडी प्रोजेक्टर हेडल्याम्पको साथमा दिइएको डे टाइम रनिङ लाइट, १५ इन्चको अलोय ह्वील र ड्यूल टोन कलर अप्सनसमेत नयाँ स्वीफ्टमा पाउन सकिन्छ ।

स्वीफ्टको इन्ट्रुमेन्ट क्लष्टर पनि परिमार्जन गरिएको छ । यसमा ४.२ इन्चको कलर टिएफटी डिस्प्ले पाउन सकिन्छ । पहिलाको मोनोक्रोम यूनिटको तुलनमा टिएफटी डिस्प्ले निकै उत्कृष्ट देखिन्छ । ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पहिलेभन्दा राम्रो सिट क्वालिटी, क्रुज कन्ट्रोल, नयाँ पार्किङ क्यामेरा, स्टेरिङ माउन्ट कन्ट्रोल, लेदर र्याप स्टेरिङ ह्वील, इन्जिन स्टार्ट/स्टप बटम, अटो क्लाइमेट कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेका छन् ।

सुरक्षाको लागि कारमा दुई एयरव्याग, इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम (इएसपी) दिइएको छ । यस प्रोग्रामको साथमा हिल होल्ड एसिस्ट प्रदान गरिएको छ । एबीएस, इबीडी, आइएसओ फिक्स चाइल्ड सिट पाउन सकिन्छ ।

४. काइगरः काठमाडौं । रेनोले काइगर नेपालमा विभिन्न १७ भेरियन्टमा किन्न पाइन्छ । करिब ५ महिनाअघि नेपालमा विक्री सुरु भएको काइगमा १.० लिटर नेचुरल्ली एस्पीरेटेड र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।

कम्पनीले काइगरको इन्ट्री भेरियन्ट आरएक्सईको मूल्य २९ लाख ९९ हजार तोकेर विक्री गर्दै आएको छ । यसको टप भेरियन्टको मूल्य भने ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर नयाँ एसयूभीमा पाउन सकिन्छ ।

कम्पनीले यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । जसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचर काइगरमा पाउन सकिन्छ ।


Back_to_top