काठमाडौं । रिकन्डिसन बजारमा ग्राहकको चाप बढेसँगै मोटरसाइकल अभाव देखिन थालेको छ । भारतमा कोरोनाको दोस्रो लहर उच्चरुपमा फैलन थालेसँगै नयाँ मोटरसाइकल समेत अभाव देखिन थालेको हो ।
केही समय अघिसम्म रिकन्डिसन हाउसमा भरिभराउ रहेको पुराना मोटरसाइकल अहिले कोरोना बढ्न थालेसँगै अभाव हुन थालेको हो ।
कोभिडका कारण यातायात क्षेत्र पुर्णरुपमा संचालनमा आएतापनि सार्ववजिनक सवारी साधनमा यात्रा गर्न डरलाग्दो अबस्था रहेकाले आफ्नै साधन किन्ने बढेको विक्रेताहरुको भनाई छ ।
बानेश्वरमा लामो समयदेखि रिकन्डीसन हाउस संचालन गर्दै आएका सुजन श्रेष्ठका अनुसार अहिले मोटरसाइकलको अभाव छ । कम्पनीहरुमा नयाँ मोटरसाइकल अभाव सुरु भएको कारण रिकन्डिसन हाउसहरुमा पनि नयाँ मोटरसाइकल नआएको उनको बुझाई छ ।
केहि समयअघि विभिन्न कम्पनीले लगाएको एक्सचेन्ज मेलाबाट आएका मोटरसाइकल अहिले सबै विक्री भइसकेको अबस्था छ । अब केहि मात्रामा स्कुटरहरु उपलब्ध छन् । लकडाउनको हल्लासँगै दुईपाङ्ग्रे सवारी साधनमा विक्री चाप देखिएको उनले बताए ।
ग्वार्कोमा रिकन्डिसन हाउस चलाइरहेका धुब्र अधिकारी पनि नयाँ मोटरसाइकलको उपलब्धता नभएकाले पुराना मोटरसाइकलको अभाव भएको बताउँछन् ।
लकडाउनको हल्ला र नयाँ मोटरसाइकलको आयात कम हुन थालेसँगै सेकेन्ड ह्यान्ड बजारमा अभाव देखिएको बालाजुमा रिकन्डिसन हाउस चलाउँदै आएका व्यवसायीहरुको बुझाई छ ।

