बजारमा थपिँदै ४ नयाँ पेट्रोलबाट चल्ने एसयूभी

काठमाडौं । नेपाली बजारमा बढ्दो ईभी क्रेजका बीच चार नयाँ पेट्रोल एसयूभी थपिने भएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पेट्रोल कारको आयात ५४ प्रतिशतले बढेसँगै बिक्रेता कम्पनीहरू बजारमा नयाँ मोडल थप्ने तयारीमा जुटेका हुन् ।

अहिले पेट्रोलियम पदार्थबाट चल्ने एसयूभीमा धेरै छनोट उपलब्ध छैन । त्यसैले पेट्रोलियम पदार्थबाट चल्ने कार उत्पादन गर्ने ब्राण्डहरूका नयाँ मोडल बजारमा आउन लागेका हुन् ।

स्कोडा, हुन्डाई, टाटा र सुजुकीले नयाँ पेट्रोलियम पदार्थबाट चल्ने एसयूभी बजारमा उपलब्ध गराउने तयारी थालेका छन् । जसमा स्कोडा काइल्याक, हुन्डाईको नयाँ जेनेरेशन भेन्यू, टाटा सियरा र सुजुकी भिक्टोरिस मोडल नेपाल आउने छन् ।

अहिले बजारमा आउन लागेका चारवटै एसयूभीको मूल्य तोकिएको छैन । तर, हाम्रो अनुमान अनुसार ४० लाख रुपैयाँदेखि ७५ लाख रुपैयाँसम्म मूल्य कायम भएर चार एसयूभी बजारमा आउने छन् ।

मारुती सुजुकी भिक्टोरिस

सीजी मोटोकर्पले माघ अन्तिमदेखि नेपालमा बिक्री सुरू गर्ने योजना सहित भिक्टोरिस एसयूभी नेपाल ल्याउँदैछ । हाम्रो अनुमान अनुसार भिक्टोरिसको मूल्य ५२ लाखदेखि ७५ लाख रुपैयाँ भित्रै रहने गरी विभिन्न भेरियन्ट आउने छ ।

सुजुकीले उत्पादन गरेको भिक्टोरिस एसयूभीको टप भेरियन्टमा लेभल २ एडास फिचर दिएको छ । भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्लेको कम्बिनेसन ड्यासबोर्डमा उत्कृष्ट छ ।

एसयूभीलाई टेक फिचर र सुरक्षाको लागि अब्बल बनाउन वायरलेस स्मार्टफोन कनेक्टिभिटी, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ एयरब्यागजस्ता फिचर दिइएको छ ।

सुजुकीले यसलाई दुई इन्जिन अप्सनमा ल्याएको छ । जसमा १.५ लिटर पेट्रोल र १.५ लिटर हाइब्रिड पेट्रोल इन्जिन उपलब्ध छ ।

स्कोडा काइल्याक

चार मिटरभन्दा केही मिलिमिटर छोटो एसयूभी काइल्याक स्कोडाको इन्ट्री लेभल एसयूभी हो । ‘मोर्डन सोलिड डिजाइन ल्याङ्वेज’मा तयार भएको काइल्याक भारतमा राम्रो व्यापार गरिरहेको छ ।

काइल्याकको क्याबिन निकै स्मार्ट छ । आकर्षक एसी भेन्ट, टु स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १० इन्चको इन्फोटेन्मेन्ट स्क्रीन रहेको काइल्याकको टप भेरियन्टमा सिंगल प्यानल सनरुफ, किलेस इन्ट्री, वायरलेस फोन चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट दिएको छ ।

स्कोडले काइल्याकमा फक्सवागेन ग्रुपले उत्पादन गरेको थ्री सिलिण्डर १.० टीएसआई टर्बो पेट्रोल इन्जिन उपलब्ध छ । कुशक एसयूभीमा पनि प्रयोग भएको उक्त इन्जिनले ११५ ब्रेकहर्स पावर र १७८ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।

स्कोडा एमएडब्लू क्यारियरले नेपालमा बिक्री गर्ने काइल्याक विभिन्न ७ भेरियन्टमा उपलब्ध गराउने तयारी गरिरहेको छ । जनवरीमा नै बिक्री सुरू हुने काइल्याकको सुरूवाती मूल्य ४५ लाख रुपैयाँ हाराहारी रहने अनुमान छ ।

सेकेण्ड जेनेरेसन हुन्डाई भेन्यू

माघ अन्तिमसम्ममा नेपाल आउन सक्ने अर्को मोडल हुन्डाई भेन्यूको सेकेण्ड जेनेरेसन मोडल पनि हो । भारतमा लन्च भइसकेको नयाँ जेनेरेस भेन्यूमा ठूलो परिमार्जन देख्न पाइन्छ ।

डिजाइनका हिसाबले ठूलो परिमार्जन भएको भेन्यूमा मेकानिकल परिवर्तन भने छैन । नयाँ जेनेरेसन भेन्यूको ड्यासबोर्ड, स्टेरिङ, स्क्रीन, सिट क्वालिटी, टेक फिचरमा व्यापक परिमार्जन भएको छ ।

बाहिरी बनोटमा पनि ठूलै परिवर्तन पाउन सकिन्छ । फ्रन्ट ग्रिल, हेडल्याम्प हाउजिङदेखि बम्परसम्म परिमार्जन भएको छ । पछाडिको भागमा रहेको टेल लाइटदेखि साइड बडी प्यानलमा पनि परिमार्जन छ । इन्जिन भने १.२ लिटर नेचुरल्ली एस्पीरेटेड, १.० टर्बो इन्जिन र १.५ लिटर डिजेल इन्जिन दिइएको छ ।

टाटा सियरा

टाटा मोटर्सले आज एक कार्यक्रमका बीच सियरा एसयूभी भारतमा सार्वजनिक गर्दैछ । सियरा एसयूभी टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा बनेको हो ।

बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियरामा सबै लाइट एलईडी प्रयोग भएको छ । ठूलो १९ इन्चको अलोय ह्वील, फ्लस ढोका ह्याण्डल, कर्नरिङ फग लाइट यसमा पाउन सकिन्छ ।

टाटाले सियरा एसयूभी कम्पनीकै सबैभन्दा धेरै टेक फिचर भएको एसयूभी मोडल हो । यसमा ट्रिपल स्क्रीन ड्यासबोर्ड रहेको छ । १२.३ इन्चको दुइटा र १०.२५ इन्चको एउटा टचस्क्रीन राखिएको छ ।

सियरा एसयूभीमा १.५ लिटर क्षमताको डाइरेक्ट इन्जेक्सन टर्बो चाज्र्ड पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १७० हर्सपावर र २८० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको म्यानुअल र ७ स्पीडको अटोमेटिक गियरबक्स छ ।

सियरा १.५ लिटर डिजेल इन्जिनमा पनि उपलब्ध हुनेछ । यसले ११८ हर्सपावर र २६० न्युटन मिटर टर्क दिन्छ । टाटाले सियरा एसयूभीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, लेभल २ एडास, क्रुज कन्ट्रोल जस्ता फिचर दिएको छ ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले फागुन महिनासम्ममा नेपालमा यसको बिक्री थाल्ने अनुमान गर्न सकिन्छ । सियरा एसयूभीको मूल्यको विषयमा कुनै जानकारी बाहिर आएको छैन ।


Back_to_top