काठमाडौं । इलेक्ट्रीक भेहिकलमा टेक्नोलोजीको विकास द्रुत गतिमा भइरहेको छ । नयाँ टेक्नोलोजीको विकाससँगै दिगो यातायातमा क्रान्तिकारी परिवर्तन भइरहेको मानिन्छ ।
ईभी टेक्नोलोजी विकासको एक महत्वपूर्ण पक्ष भनेको ब्याट्रीको विकासमा भएको तीव्र्रता हो । विशेषगरी हाइ भोल्टेज ब्याट्री सिस्टममा भएको विकासले ईभीलाई सहज र उपयोगी बनाएको छ । पछिल्लो समय ८०० भोल्ट ईभी आर्किटेक्चरको प्रयोगसँगै विद्युतीय साधनको पफर्मेन्समा सुधारसँगै तीव्र गतिमा चार्ज गर्न सकिएको छ ।
विद्युतीय कार विकासमा लामो समयदेखि प्रयोग हुँदै आएको ४०० भोल्ट आर्किटेक्चरको सट्टामा नयाँ प्लेटफर्महरू बन्न थालेका छन् । अहिले प्रिमियम गाडीमा छाडेर बजेट फ्रेण्डली गाडीमा पनि ८०० भोल्ट आर्किटेक्चर प्रयोग हुन थालेका छन् । यसले ईभीको प्रयोगलाई थप मजबुद बनाउने कुरामा दुई मत छैन ।
परम्परागत ४०० भोल्ट आर्किटेक्चरमा ब्याट्रीको भोल्टेज ४०० मै फिक्स नभई ३०० देखि ५०० भोल्टको रेन्जमा रहेको हुन्छ । ब्याट्रीको भोल्टेजलाई स्टेट अफ चार्ज, टेम्प्रेचर, आयु र अपरेशन कण्डिसनले प्रभाव पार्छ । ४०० भोल्ट आर्किटेक्चर लामो समयदेखि ईभीमा स्ट्याण्डर्ड रूपमा प्रयोग भएकाले यसको लागत कम रहेको छ ।
त्यसैगरी, पछिल्लो समय प्रयोग बढ्दै गएको ८०० भोल्ट आर्किटेक्चरमा पनि ४०० को जस्तै फिक्स भोल्टेज हुँदैन । यसको भोल्टेज पनि विभिन्न तत्वहरूले प्रभाव पार्ने भएकोले ६०० देखि ९०० सम्म हुन्छ । ८०० भोल्ट आर्किटेक्चर तुलनात्मक रूपमा प्रिमियम कारहरूमा प्रयोग भइरहेका छन् ।

नयाँ टेक्नोलोजी भएकोले ८०० भोल्ट आर्किटेक्चरको लागत तुलनात्मक रूपमा धेरै छ । यो आर्किटेक्चरको प्रयोगले ‘कस्टुमर एक्सपिरियन्स’ बढाउँछ । ८०० भोल्ट आर्किटेक्चर प्रयोग भएको ईभीको चार्जिङ क्षमता बढी हुने र रेन्ज समेत धेरै हुन्छ । यसको तौल समेत कम हुने भएकोले इफिसियन्सी बढ्छ ।
भोल्टेज धेरै हुनाले करेन्ट कम लाग्छ, फलस्वरूप पातलो केबल र सानो साइजको इलेक्ट्रोनिक कम्पोनेन्टहरू प्रयोग भएका हुन्छन् । यसले भेहिकलको तौल घटाउनुको साथै तापक्रमबाट हुने इनर्जी लस समेत घटाउँछ । हाइ भोल्टेज ब्याट्रीले इलेक्ट्रीक मोटरमा धेरै पावर दिन्छ । यसले गर्दा छिटो एक्सलरेसन गर्न सकिन्छ । यो सिस्टमले रिजेनेरेटीभ ब्रेकिङबाट धेरै इनर्जी क्याप्चर गर्न सक्छ ।
८०० भोल्टमा तयार भएका विद्युतीय कारको चार्जिङको समय समेत एकदमै कम हुन्छ । तर, यसको लागि फास्ट चार्जरको क्षमता भने धेरै हुनुपर्छ । अहिले उपलब्ध अधिकांश पब्लिक फास्ट चार्जरहरूको डिजाइन ४०० भोल्टमा बनेका ईभीमैत्री छन् ।


