कम ब्याजदरमा मोटरसाइकल र स्कुटर, कुन ब्राण्डको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले कार किन्नेलाई सहजै कर्जा दिन्छन् । तर, कम आय भएकाले चढ्ने मोटरसाइकलमा कर्जा दिने उनीहरूको नीति नै छैन ।

वार्षिक ३ लाख हाराहारीमा मोटरसाइकल बिक्री हुने नेपाली अटोमोबाइल बजारमा वाणिज्य बैंकहरूले लगानी गर्न चाहेको देखिदैन् ।

मोटरसाइकलमा कर्जा हायर पर्चेज कम्पनीहरूले मात्रै दिँदै आएका छन् । एकाध फाइनान्स कम्पनीले कर्जा दिने भए पनि प्रक्रियागत जटिलता धेरै छन् । हायर पर्चेज कम्पनीसँग कर्जा लिँदा स्वभाविका महँगो ब्याजदर पर्न जान्छ ।

नेपालमा सबैभन्दा धेरै दुईपाँग्रे सवारी साधनमा कर्जा लगानी गर्ने कम्पनी हुलाश फिन सर्भ रहेको छ । यसले बजाज, ट्रायम्फ, केटीएम, हिरो, रोयल इनफिल्ड जस्ता ब्राण्डका मोटरसाइकलमा लगानी गर्दै आएको छ ।

अहिले बजारमा भएका इनभेष्टमेन्ट कम्पनीहरूले १ प्रतिशतदेखि १२ प्रतिशतसम्ममा मोटरसाइकल तथा स्कुटर किन्नेलाई कर्जा दिँदै आएका छन् ।

खासगरी मोटरसाइकल बिक्रेताहरूले नै अधिकांश इन्भेस्टमेन्ट कम्पनी चलाइरहेको कारण उनीहरूले मिलाएर स्कीम नै संचालन गरेर कर्जा दिदै आएका छन् ।

कुन कम्पनीमा कति ब्याज लाग्छ ?

होन्डा

होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले स्याकार फाइन्नासिङ मार्फत कर्जा सुविधा दिँदै आएको छ । कम्पनीले होन्डाको मोटरसाइकल तथा स्कुटर किस्ताबन्दीमा किन्न चाहनेको लागि १ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीको स्कीम अनुसार सुरुमा मोटरसाइकलको मूल्यको ६० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम एक वर्षमा तिर्नेले १ प्रतिशत ब्याजदरमा कर्जा पाउने हुन् ।

कम्पनीले ४० प्रतिशत डाउन पेमेन्ट गरेर बाकि रकम २ वर्षमा तिर्ने ग्राहकसँग ११ प्रतिशतसम्म ब्याज लिँदै आएको छ ।

बजाज

बजाज मोटरसाइकल बिक्री गर्ने गोल्छा अर्गनाइजेशन अन्र्तगतको हुलास इन्भेष्मेन्ट प्रालिले बजाज र अन्य ब्राण्डका मोटरसाइकल किन्ने ग्राहकलाई फाइनान्स सुविधा दिँदै आएको छ ।

हुलास इन्भेष्टमेन्टले न्यूनतम ४० प्रतिशतदेखि माथिको डाउन पेमेन्टमा सवारी कर्जा उपलब्ध गराउँदै आएको छ । अधिकतम २ वर्षको अवधिसम्म फाइनान्स सुविधा दिँदै आएको यस कम्पनीले मासिक ११.९९ प्रतिशतमै ब्याज उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले रोयल रोयल इनफिल्ड, हिरो लगायत अन्य ब्रान्डलाई पनि कर्जा उपलब्ध गराउँदै आएको छ ।

यामाहा

यामाहाले एमएडब्लू इन्भेष्मेन्ट प्रालि मार्फत कर्जा दिदै आएको छ । कम्पनीले किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकलाई अधिकतम दुई वर्षे अवधिको लागि फाइनान्स सुविधा प्रदान गर्ने जनाएको छ ।

यामाहाका ग्राहकलाई ४०/५०/६० प्रतिशत डाउनपेमेन्ट गरेर क्रमशः ७, ८.९९ र ९.९९ प्रतिशत ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न कर्जा दिइरहेको छ ।

टीभीएस

जगदम्बा इन्भेष्टमेन्ट प्रालिले टीभीएस कम्पनीको मोटरसाइकल तथा स्कुटरका कर्जा लगानी गर्दै आएको छ । यो फाइनान्स कम्पनीले अधिकतम दुइ वर्षे अवधिका लागि अटो कर्जा उपलब्ध गराउँदै आएको छ ।


हाल टीभीएसले ४०/५० प्रतिशत डाउनपेमेन्टमा फाइनान्स सुविधा दिइरहेको छ । टीभीएसले आफ्नो बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकलाई १८ महिना र २ वर्षे अवधिको लोन उपलब्ध गराउँदा ७.९९ प्रतिशतमै कर्जा उपलब्ध गराउँदै आएको छ ।

हिरो

हिरोको बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकलाई जगदम्बा इन्भेष्टमेन्टले ४० प्रतिशतमा डाउन पेमेन्ट गर्नेलाई ११.९९ र ५० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई ८.९९ प्रतिशतमै कर्जा उपलब्ध गराउँछ ।
यसमा ग्राहकले २ वर्षमा बाँकी रकम बुझाउनु पर्ने हुन्छ ।

रोयल इनफिल्ड

मिड साइज प्रिमियम मोटरसाइकल रोयल इनफिल्ड बिक्री गर्ने कम्पनी अल्फा अटोमोटिभले हुलाश फिन सर्भमार्फत ग्राहकलाई कर्जा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले २ वर्षको किस्ता अवधि राखेर ६० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई ९.९९ प्रतिशतमै कर्जा उपलब्ध गराउँदै आएको छ ।


Back_to_top