काठमाडौं । अहिले बजारमा कम मूल्यमा पाइने ईभीको विषयमा धेरै चर्चा हुने गरेको छ । नेपालमा कार किन्छु भन्ने मानिसले लगभग २४ लाखभन्दा कम मूल्यमा पाउँछु भन्ने कल्पना पनि गर्न छाडेका थिए । त्यस्तो समयमा आएका मिनी कारहरु १४ लाखमै चढ्न पाइने अवस्था सृजना भएको छ ।
विद्युतीय कारको इनोभेसन नै साना कारबाट सुरु भएको हो । स्मार्ट मोविलिटीको क्षेत्रमा काम गर्ने भन्दै मिनी ईभीको इनोभेसनमा सुरुदेखि नै कम्पनीहरुले लगानी गरेका थिए । अहिले धेरै ब्राण्डले ठूला एसयूभीदेखि साना मिनी कारमा पनि काम गर्दै आएका छन् ।
मूल्यका हिसावले सस्तो हुनु मिनी कारको मुख्य विशेषता हो । तर, त्यसबाहेक पनि ईभी भएकै कारण साना कारको फाइदा धेरै छन् । त्यसलाई समग्रमा मुख्य फाइदाको रुपमा हामीले यसरी विभाजन गरेका छौं ।
मूल्य र न्यून कर
मूल्यको हिसावले १४ लाखदेखि २५ लाखसम्म मूल्यमा साना मिनी कारहरु बजारमा किन्न पाइन्छ । अहिले नै सेरेस, एमजी, विलिङ, हेनरी जस्ता ब्राण्डसँग मिनी कार हाम्रो बजारमा उपलब्ध छन् । अन्तर्राष्ट्रिय बजारमा लगभग हरेक ब्राण्डसँग मिनी कार छन् ।
यहाँ टाटाको टियागो ह्याचव्याक भएपनि मूल्यका हिसावले मिनीकारको जस्तै भएको कारण सानो कार किन्ने योजना बनाउनेको लागि टियागो ईभी पनि एक विकल्प हो ।

मिनी ईभीहरु सबै ५० किलोवाटभन्दा कम क्षमताको मोटर पावरमा छन् । त्यसैले यी कारले वार्षिक करको रुपमा १० हजार रुपैयाँ मात्रै तिर्दा पुग्छ । मिनी कारमा १० प्रतिशत भन्सार महशुल, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर मात्रै लाग्छ । त्यसैले यसको मूल्य तुलनात्मक रुपमा कम भएको हो ।
पार्किङ र ड्राइभिङ
काठमाडौं लगायत देशका प्रमुख सहरहरुको सबैभन्दा ठूलो समस्या पार्किङ हो । अफिस होस् वा घर धेरै मानिससँग ठूलो साइजको पार्किङ उपलब्ध छैन । त्यसैले मिनीकार पार्किङ थोरै हुने मानिसले पनि किन्न सक्ने भए । त्यसमाथि उपत्यकामा त सार्वजनिक पार्किङको व्यवस्था राम्रो छैन । त्यसैले साना कार तुलनात्मक रुपमा पार्किङको लागि सहज हुने हुँदा धेरैले रोज्न सक्छन् ।

चलाउन पनि निकै सहज मानिने मिनी कार धेरै मानिसले सिकेको छोटो समयमा नै चलाउन सक्ने भए । इलेक्ट्रीक मोटर भएको कारण गियर नहुँनु, इन्ट्यान्ट पावर पाउनु, ब्रेकिङ निकै राम्रो हुनु जस्ता कारण यसको ड्राइभिङ प्लेजर पनि उत्कृष्ट हुन्छ ।
चार्जिङ र विद्युत खपत
मिनी कारमा १३ देखि २४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको हुन्छ । यी कारलाई एक पटक फुल चार्ज गर्न १३ देखि २४ यूनिट विजुली लाग्ने भयो । त्यसको मतलव यसको एक पटकको खर्च केबल १३० देखि २४० रुपैयाँ मात्रै लाग्छ ।

मिनी कारहरुले डिसी फास्ट चार्जर सपोर्ट गर्दैनन् । त्यसैले यी कार घरमै चार्ज गर्नु पर्ने हुन्छ । घरमा चार्ज गर्दा अझ थप सस्तो पर्छ । यसरी एक पटकको चार्जमा १५० देखि २०० किलोमिटरसम्म सजिलै रेन्ज पाइने भएको कारण यसको इन्धन खर्च १ रुपैयाँ हाराहारी मात्रै पर्छ ।
स्मार्ट मोविलिटी
विद्युतीय साधन स्मार्ट हुन्छन् । टेक्नोलोजीको भरपुर प्रयोग गरेर बनाइने कारण इलेक्ट्रोनिक्स ग्याजेट जस्तै कारहरु पनि स्मार्ट हुन्छन् ।
सुरुमा आफुलाई अलग देखाउन र बातावरण प्रति सचेत देखाउन केही मानिसले प्रयोग गरेका थिए । त्यसको लागि विभिन्न कुटनीतिक नियोगहरुले पनि पहल गरेकै हुन् ।

अहिले धेरै मानिसले ईभीको प्रयोग सुरु गरे । चलाउँदै जाँदा सबैले सहज महसुस गर्न थालेसँगै प्रयोग बढेको हो । अहिले पनि मिनी ईभीलाई संसारभर स्मार्ट मोविलीटीको रुपमा परिभाषित गरेको पाइन्छ ।

