ईभी चार्ज गर्न देशभर यी स्थानमा छन् फास्ट चार्जर

काठमाडौं । दशैंको टीका थाप्ने क्रम सुरु भएको छ । आफुभन्दा ठूलाबडाको आशिर्वाद लिन ईभी चढेर जाने योजनामा तपाई हुनुहुन्छ भने देशभर रहेका चार्जरहरुको बारेमा जानकारी आवश्यक हुन्छ ।

इलेक्ट्रीक गाडीको बढ्दो प्रयोगसँगै काठमाडौबाट टाढा जानु पर्ने ईभी चालकलाई भने केहि तनाव थपिने गरेको छ । सामान्यतथा नेपालमा चल्तीका ईभीको रेन्ज २०० देखि ३०० किलोमिटर छ । यस्तोमा बीच बाटोमा कहाँ ईभी चार्ज गर्ने भन्ने विषयमा योजना बनाएर हिड्दा राम्रो हुन्छ ।

यात्रामा निस्कनु अघि एनइए चार्जर एप डाउनलोड गर्नुपर्छ । उक्त एपमा नेपाल विद्युत प्राधिकरणले संचालनमा ल्याएको ५१ स्थानको चार्जरहरु उपलब्ध छ । निकै तिब्र गतिमा चार्ज गर्न सक्ने यी चार्जिङ स्टेशनमा सीसीएस टु र जिवीटी चार्जर पाउन सकिन्छ ।

विभिन्न निजी कम्पनीले पनि फास्ट चार्जरहरु संचालनमा ल्याएका छन् । यी चार्जरमा कम्पनीहरुले आफ्नै ब्राण्डको ईभीलाई प्राथमिकता दिने गरेको पाइन्छ । यद्यपि, एमजी र बीवाइडीले अहिलेसम्म अन्य ब्राण्डलाई पनि चार्जर उपलब्ध गराएका छन् ।

नेपाल बिद्युत प्राधिकरणको हेड अफिस रत्नपार्क, पुलिसक्लब प्रदर्शनीमार्ग, नेपाल प्रहरीको सामाखुसी पेट्रोल पम्प, पूल्चोक तथा बल्खुको साझा पेट्रोल पम्प र भक्तपुरको एनइए ट्रेनिङ सेन्टर खरिपाटीमा प्राधिकरणले फास्ट चार्जर संचालन गरेको छ ।

काठमाडौबाट पश्चिम लाग्ने हो भने सबैभन्दा नजिक ३१ किलोमिटरको दूरीमा माहादेबबेसी धार्केमा फास्ट चार्जर पाउन सकिन्छ ।

यदि नुवाकोट जाने हो भने काठमाडौंबाट ७३ किलोमिटरको दूरीमा नुवाकोटको बट्टार स्थीत हावाघरमा फास्ट चार्जर छ । धार्केबाट सिधा अगाडि जाने हो भने ८० किलोमिटरको दूरीमा मूङ्लीन पूलमा फास्ट चार्जर पाउन सकिन्छ ।

त्यहाँबाट दाहिने पोखरा लाग्ने हो भने ८२ किलोमिटरको दूरीमा कास्कीको वेगनास तालमा चार्जर पाउन सकिन्छ । वेगनास नगई सिधै अगाडि बढ्दा मुग्लीनबाट ९२ किलोमिटरको दूरीमा मालेपाटन पोखारमा चार्जर रहेको छ ।

पोखराबाट अगाडि बढ्दा ५८ किलोमिटरको दूरीमा पर्वतको कुस्मामा पनि फास्ट चार्जर स्थापना भइसकेको छ ।

मूङ्लीनबाट पूर्व लाग्दा ५० किलोमिटरको दूरीमा भरतपुरको केन्द्रीय बस टर्मिनल (पासर बसपार्क)मा फास्ट चार्जर पाउन सकिन्छ ।

नारायणगढ पूर्व

अब भरतपूरबाट पूर्व लाग्ने हो भने ७८ किलोमिटरको दूरीमा हेटौडाको रातोमाटेमा एनइएको फास्ट चार्जर छ । हेटौडाबाट अगाडि बढ्दा ८८ किलोमिटरको दूरीमा सर्लाहीको हरिवन र त्यहाँबाट ४५ किलोमिटर अगाडि बर्दिबासमा पनि प्राधिकरणले चार्जर संचालनमा ल्याएको छ ।

सिराहाको लाहानमा र लहानबाट पूर्व लाग्दा १०५ किलोमिटरको दुरीमा इटहरीमा पनि फास्ट चार्जर छ । त्यहाँबाट अझै पूर्वतर्फ अगाडि बढ्ने हो भने मात्र ४४ किलोमिटरको दूरीमा दमक बसपार्क र अर्को करिब ५० किलोमिटरको दूरीमा बिर्तामोड बसपार्कमा पनि फास्ट चार्जर छन् ।

यदि तपाई भिमानको बाटो हुँदै पूर्व जाने हो भने एकै पटक उदयपूरको बेलकामा मात्रै फास्ट चार्जर पाउन सक्नुहुन्छ ।

नारायणगढ पश्चिम

नारायणगढबाट पश्चिम लाग्ने हो भने १४० किलोमिटर पर बुटवल बसपार्कमा फास्ट चार्जर छ । बुटवलबाट पश्चिम लाग्दा ११६ किलोमिटरको दूरीमा दाङको लमही बसपार्कमा पनि प्राधिकरणको चार्जर सुरु भइसकेको छ ।

लमहीबाट अगाडि बढ्दा ११७ किलोमिटरको दूरीमा कोहलपूर बसपार्कमा फास्ट चार्जर रहेको छ । कोहलपूरबाट पश्चिम लाग्ने हो भने १६५ किलोमिटरको दूरीमा धनगढीमा फास्ट चार्जर रहेको छ ।

कोहलपूरबाट उत्तर लाग्ने हो भने ९२ किलोमिटरको दूरीमा रहेको बिरेन्द्रनगरको सूर्खेत बसपार्कमा फास्ट चार्जर पाउन सकिन्छ ।

नेपालमा इलेक्ट्रीक गाडि बिक्री गर्दै आएका कम्पनीहरु सिप्रदी ट्रेडिङ, साइमेक्स इंक, प्यारामाउण्ट मोटर्सले पनि आफ्नो शोरुम, डिलर सर्भिस सेन्टरका साथै नेपालका मूख्य सहर तथा हाइवेमा डीसी फास्ट चार्जर संचालनमा ल्याएका छन् ।

त्यस्तै धेरै संख्यामा होटलहरुमा पनि विभिन्न कम्पनीहरुले ७ किलोवाटको एसी फास्ट चार्जर जडान गरेका छन् ।


Back_to_top