काठमाडौं । अक्टोबर महिनामा भारतमा कारको बिक्री नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । खासगरी दिपावलीको अवसर पारेर नयाँ गाडी किन्नेहरूको कारण अक्टोबर महिनाको बिक्री धेरै हुनेगर्छ ।
सन् २०२५ अक्टोबरमा निकै ठूलो संख्यामा कार बिक्री भएको तथ्यांक भारतीय कार उत्पादकहरूले बाहिर ल्याएका छन् । बाहिर आएको तथ्यांक अनुसार सुजुकी, महिन्द्रा, हुन्डाई, टाटा र टोयोटा कम्पनी टप ५ भित्र पर्न सफल भएका हुन् ।
यी टप ५ भित्र परेका बाहेकका अन्य ब्राण्डले पनि भारतमा राम्रो संख्यामा कार बिक्री गर्न सफल भएका छन् । यस हिसाबले यस पटकको अक्टोबरमा सबै कम्पनीले मिलाएर करिब ५ लाख युनिट कार होलसेल बिक्री गरेको देखिन्छ ।
खासगरी भारतलाई नै केन्द्र बनाएर उत्पादन गर्दै आएका ब्राण्डहरू नै टप ५ भित्र परेका छन् ।

५. टोयोटा
जापानी ब्राण्ड टोयोटाले भारतलाई उच्च प्राथमिकतामा राखेर कार उत्पादन गर्दै आएको छ । टोयोटाको लागि जापान बाहिर अमेरिका र चीनपछिको ठूलो बजार भारत हो । त्यसैले उसको प्राथमिकता भारतमा बढ्दै गएको छ । टोयोटाले अक्टोबरमा ४२ हजार ८९२ युनिट कार होलसेल बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
४. टाटा
भारतीय अटोमोबाइल बजारमा निरन्तर राम्रो बिक्री पाइरहेको टाटा धेरै कार बिक्री गर्ने कम्पनीको सूचीमा चौथो स्थानमा छ । टाटाले अक्टोबरमा ६१ हजार २९५ युनिट कार बिक्री गरेको छ । जसमा निर्यातको हिस्सा केबल १६१ युनिट मात्रै देखिन्छ । कुल बिक्रीमा ९ हजार २८६ युनिट विद्युतीय कार छन् ।

३. हुन्डाई मोटर्स
कोरियाली कम्पनी हुन्डाईले भारतलाई विशेष महत्व दिँदै आएको छ । २५ वर्षपछि कम्पनीले पब्लिकमा सेयर बिक्री गर्दै उठेको रकम पुनः लगानी गर्ने योजना तयार पारेको छ । लामो समय दोस्रो ठूलो उत्पादक रहेको हुन्डाई स्थानीय बजारमा बिक्रीको हिसाबले चौथो नम्बरमा देखिएको छ । हुन्डाईले भारतमा ५३ हजार ७९२ युनिट कार बिक्री गरेको छ । अक्टोबरमा भारतबाट निर्यात १६ हजार १०२ युनिट गर्दा कुल बिक्री ६९ हजार ८९४ युनिट पुगेको हो ।
२. महिन्द्रा
भारतीय एसयूभी एक्सपर्टले बिक्रीमा उछाल ल्याइरहेको छ । कम्पनीले अक्टोबर महिनामा प्रष्ट दोस्रो स्थान पाएको छ । कम्पनीले एक महिनामा ७१ हजार ६२४ युनिट कार बिक्री गरेको हो । जुन एक महिनामै पाएको अहिलेसम्मकै सबैभन्दा धेरै युनिट बिक्री हो ।

१. मारुती सुजुकी
इन्डो-जापानी ब्राण्ड मारुती सुजुकी भारतमा निकै सफल ब्राण्ड हो । उसको नजिक अहिलेसम्म कुनै पनि ब्राण्ड आइपुग्न सकेको छैन । सुजुकीले २ लाख १६ हजार ५३७ युनिट कार अक्टोबरमा बिक्री गरेको छ । जसमा स्थानीय बजारमा १ लाख ७६ हजार ३१८ युनिट र निर्यात ३१ हजार ३०४ युनिट छ ।

