नेपालमा बलियो बन्दै ५ चिनियाँ कार ब्राण्ड

काठमाडौं । दुई दर्जन बढी चिनियाँ कार ब्राण्ड नेपालमा बिक्री हुँदै आएका छन् । सन् २०२५ जनवरीदेखि २०२६ फेब्रुअरी १५ तारिखसम्म भएको आयातका आधारमा ५ चिनियाँ कार ब्राण्ड नेपालमा स्थापित हुने बाटोमा देखिन्छन् ।

आयात र बिक्रीको आधारमा बीवाइडीको प्रतिस्पर्धी नै छैन जस्तो लाग्छ । चीनबाट गाडी आयात गर्ने कम्पनीको टप लिस्टमा साइमेक्स इंक छ । बीवाइडीका उत्पादन नेपाली सडकमा पनि बाक्लो संख्यामा देखिन्छ ।

यसका अलावा एमजी, डोङफेङ, ओमोडा/जेको/आइकार र दीपलका उत्पादनले बजारमा बलियो पकड बनाउँदै लगेका छन् । विशेषगरी चिनियाँ उत्पादन प्रतिस्पर्धी मूल्य, आकर्षक डिजाइन, भरपुर प्रविधिमैत्री फिचरका कारण सफल भएका हुन् ।

दुई दर्जन बढी चिनियाँ ब्राण्ड उपलब्ध बजारमा आयातको आधारमा बलिया देखिएका ५ कम्पनीको बारेमा यहाँ चर्चा गरिएको छ ।

बीवाइडी

न्यू इनर्जी भेहिकलमा विश्वकै ठूलो उत्पादक रहेको बीवाइडीका कारमा नेपाली उपभोक्ताले जमेर पैसा खनाइरहेका छन् । साइमेक्स इंकको बलियो नेटवर्क, सर्भिसमा कम्पनीले देखाएको तत्परता र ब्राण्ड बनाउन लगाएको रणनीतिले बीवाइडीलाई अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि उभ्याएको छ ।

विगत दुई वर्षदेखि बीवाइडी नेपालमा सर्वाधिक कार बिक्री गर्ने ब्राण्ड समेत हो । सन् २०२५ जनवरीदेखि २०२६ फेब्रुअरी १५ तारिखसम्मको आयात तथ्यांक अनुसार बीवाइडीले ३ हजार ६०४ युनिट कार आयात गरेको देखिन्छ ।

बीवाइडीसँग मूल्यका हिसाबले २९ लाखदेखि झण्डै २ करोडसम्मका कार छन् । कम्पनीको एटो सिरिज नेपालमा सर्वाधिक सफल छन् । साथै, डल्फिनले पनि ह्याचब्याक सेग्मेन्टमा ठूलो उथलपुथल ल्यायो ।

एमजी

चिनियाँ ब्राण्डको कारका रूपमा ईभीलाई बलियोसँग स्थापित गर्ने एमजी हो । ब्रिटिस डीएन भनिने एमजी चीनमाभन्दा युरोप र एशियाका अन्यदेशमा सफल मानिन्छ । एमजी जेडएसदेखि नै राम्रो बिक्री पाउन सफल एमजीका ईभी अहिले पनि चल्तीमा छन् ।

पारामाउन्ट मोटर्स आधिकारिक बिक्रेता रहेको एमजीले सन् २०२५ जनवरीदेखि २०२६ फेब्रुअरी १५ तारिखसम्ममा १ हजार १८८ युनिट कार आयात गरेको छ । कम्पनीले आयात गरेको मोडलमा सर्वाधिक सफल एमजी एस फाइभ छ ।

त्यसैगरी, एमजी फोर, एमजी कोमेट र आइएम सिक्सको आयात पनि कम्पनीले गर्दै आएको छ । एमजीको पनि बलियो बिक्री केन्द्रसँगै थपिँदै गएको सर्भिस नेटवर्क मुख्य स्ट्रेन्थ मानिन्छ ।

डोङफेङ नामी

एमएडब्लू वृद्धि आधिकारिक बिक्रेता रहेको डोङफेङ नामी ब्राण्ड छोटो समयमा धेरैको मन जित्न सफल भएको छ । नामीले नेपाल ल्याएको पहिलो मोडल नामी बक्स मूल्य, फिचर र डिजाइनको कारण धेरैले मनपराए ।

कम्पनीले सन् २०२५ जनवरीदेखि २०२६ फेब्रुअरी १५ तारिखसम्ममा ९७५ युनिट कार ल्याएको छ । जसमा नामी बक्सको संख्या धेरै छ भने केही महिना अगाडि आएको नामी भिगो एसयूभीको आयात पनि ३२७ युनिट पुगेको छ । नामीले पनि आफ्नो नेटवर्क बलियो बनाउँदै लगेको छ ।

ओमोडा/जेको/आइकार

सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइलले नेपालमा बिक्री गर्ने ओमोडा/जेको/आइकार पनि निकै बलियो ब्राण्ड बन्दै गएको छ । आफ्नो लाइनअपमा सबै मोडल एसयूभी मात्रै बिक्री गर्दै आएको कम्पनीले जनवरी २०२५ देखि २०२६ फेब्रुअरी १५ तारिखसम्ममा ८७४ युनिट गाडी ल्याएको छ ।

कम्पनीले नेपाल ल्याएको गाडीमा जेको ब्राण्डमा ३२२ युनिट, ओमोडा ब्राण्डमा ३५० युनिट र आइकार ब्राण्डमा २०२ युनिट आयात भएको छ । आइकार ब्राण्डको आयात डिसेम्बर २०२५ बाट मात्रै सुरू भएको हो । कम्पनीले आफ्नो बिक्री र सर्भिस स्टेशन बलियो बनाउँदै लगेको देखिन्छ ।

दीपल

एमएडब्लू वृद्धि आधिकारिक बिक्रेता रहेको दीपल ब्राण्ड पनि बलियोसँग स्थापित हुँदै गएको छ । सन् २०२५ जनवरीदेखि २०२६ फेब्रुअरी १५ तारिखसम्म कम्पनीले दीपलका ७२७ युनिट कार आयात गरेको देखिन्छ ।

कम्पनीले नेपाल ल्याएको कारमा सबैभन्दा धेरै दीपल एस-०५ रहेको छ । साथै, एस-०७, ई-०७ र एल-०७ जस्ता मोडल आयात गरेको देखिन्छ । पछिल्लो समय ब्राडिङ र मार्केटिङमा निकै जबरजस्त तरिकाले अगाडि आएको दीपल सर्भिस र बिक्री केन्द्र विस्तारमा पनि अग्रसर भएको देखिन्छ ।


Back_to_top