काठमाडौं । नेपालमा विद्युतीय कारको बिक्री तीव्र रूपमा बढ्दा जस्तो सुकै ब्राण्ड पनि ल्याउन कडा प्रतिस्पर्धा भयो । त्यसैले कमजोर आर्थिक अवस्था भएका ब्राण्डदेखि कमसल उत्पादनसम्म नेपाल आए ।
केही ब्राण्डले अहिले पनि ईभीलाई धराप थापेजसरी बिक्री गर्दै आएका छन् । तर, सुरूवाती दिनमा सस्ता ईभीभन्दै उपभोक्तालाई गाडी बिक्री गरेका कम्पनीहरू बन्द भइसकेका छन् ।
नेपाल सरकारले बजारमा जस्तोसुकै उत्पादन पनि सजिलै ल्याउन दिएको कारण यी ब्राण्डले उपभोक्ता ठग्न पाए । खासगरी गुगलमा पनि भेट्टाउन नसकिने ब्राण्ड नेममा आएका गाडीमा उपभोक्ता झुम्मिँदा अहिले आर्थिक क्षति व्यहोर्नु पर्ने अवस्था आएको हो ।
बजारबाट बन्द भएका धेरै ब्राण्डका गाडीमा अहिले सर्भिस पाउनै सकिँदैन । मारुती सुजुकी अल्टोमा लाग्ने पार्टसहरू ठोकठाक पारेर गाडी चढ्दै आएका धेरै उपभोक्ता अहिले ठगिएको अनुभव गर्न थालेका छन् ।
अहिलेसम्म नेपाल आएका तर, बिक्री बन्द भएका आधा दर्जन ब्राण्डका बारेमा हामीले यहाँ चर्चा गरेका छौं । यहाँ चर्चा गरेका बाहेक पनि करिब एक दर्जन ब्राण्ड डुब्ने अवस्थामा छन् ।
रेसेन्स
जिमिनी इन्कर्पोरेट प्रालिले ल्याएको त्यसमा पनि सोलार प्यानल जडान भएको रेसेन्स ब्राण्डका बारेमा खुबै चर्चा भयो । कम्पनीले २३० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भनेर खुबै ढोल पिट्यो । सुरूवाती केही युनिट उपभोक्तालाई बिक्री गरेसँगै शोरुममा सटर लाग्यो ।

रेसेन्स मिनी ईभीमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री र केबल १५ किलोवाट क्षमताको मोटर थियो । झट्ट हेर्दा निकै राम्रो बाहिरी बनोट रहेको कारमा डे टाइम रनिङ लाइट, कम्बिनेसन हेडलाइट, आकर्षक टेल लाइट थियो ।
कारको भित्र हेड रेष्टसहितको सिट, इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एड्जस्टेवल फ्रन्ट सिट, डिफगर, कप होल्डर थियो । सुरक्षाको लागि ब्रेक असिस्ट सिस्टम, इपिएस, रियर भ्यु क्यामेरा, चार्जिङ लिकेज प्रोटेक्सन, ओभर हिट प्रोटेक्सन उपलब्ध थियो ।
फिचर लोडेड ह्याचब्याक भन्दै बिक्री गरिएको रेसेन्स ईभीको मूल्य २४ लाख रुपैयाँ थियो ।
दिगो ई-८
दिगो ग्रुपले आफ्नै ब्राण्ड नेममा ल्याएको ई-८ ह्याचब्याक बन्द भएको तीन वर्ष हुन लागिसकेको छ । यसको कुनै पनि सामान उपभोक्ताले बजारमा भेट्टाउँदैनन् । दिगोले भ्यानहरू बिक्री गरिरहेको कारण सर्भिस सेन्टर भने छ ।

दिगो ई-८ कारको मूल्य २१ लाख ९४ हजार ५०० रुपैयाँ तोकेर बिक्री भएको थियो । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई ब्राण्ड एम्बास्डर बनाएर बिक्री थालिएको ई-८ कारमा पनि राम्रै संख्यामा उपभोक्ता ठगिएका छन् ।
सानो ह्याचब्याक कारमा १५.२ किलोवाट आवरको लिथियम ब्याट्री र १५ किलोवाटकै मोटर जडान भएको थियो ।
डेरी ब्राण्ड
अटोहोस्ट नामक कम्पनीले निकै तामझामको साथ नेपाल ल्याएको डेरी ब्राण्डले पनि थुप्रै उपभोक्तालाई बिचल्ली बनाएको छ । काठमाडौंको अनामनगरमा शोरुम नै राखेर डेरी ब्राण्डका ईभी-७ र ईएम-७ गरी दुई मोडल बिक्री गरिएको थियो ।
कम्पनीले ल्याएको ईएम-७ मा सोलार पनि उपलब्ध थियो । त्यतिबेला ईभी-७ को मूल्य २५ लाख ९९ हजार र ईएम-७ को मूल्य २६ लाख ५० हजार रुपैयाँ थियो ।
हाउजी
हाउजी अटोको उत्पादन खासै नेपालमा बिक्री सुरू नै भएन । सुरूमा सुमार्गी ग्रुप र पछि चौधरी ग्रुपले ल्याएको हाउजीको ईभी आधिकारिक बिक्री सुरू नहुँदै बन्द भयो । सुरूमा आएको दुई युनिट कार अहिले पनि गरुड सेक्युरिजीले प्रयोग गर्दै आएको बाटोमा देखिन्छ ।

हाउजीको सानो कारमा १५ इन्चको ह्वील, १८ किलोवाट आवरको ब्याट्री र २४ किलोवाटको मोटर थियो ।
आउजी अटोकै कावेई ब्राण्डमा पीकअप पनि नेपाल आएको थियो । यसको पनि अहिले अत्तोपत्तो नै छैन ।
नेटा अटो
सीजी मोटर्सले नेपाल ल्याएको नेटा अटो चीनमै बैंकरप्सीमा परेको हो । बैंकरप्सीमा परेसँगै यसको उत्पादन बन्द भयो । चीनमै उत्पादन बन्द भएसँगै नेटाको बिक्री नेपालमा पनि ठप्प भयो ।
नेपाली बजारमा प्रवेश गरेको छोटो समयमा नै नेटा सफलताको शिखर चढेको नेटा ब्राण्ड बन्द हुँदा धेरै उपभोक्तालाई अन्योलता सृजना भएका छ । नेटा ब्राण्डको सर्वाधिक सफल मोडल नेटा भी सन् २०२१ मा नेपाल प्रवेश गरेको हो ।

सन् २०२४ सम्म निकै रफ्तारमा बिक्री भएको नेटा भी कुल ७२५ युनिट नेपाली सडकमा छन् । त्यस्तै, ब्राण्डको कम्प्याक्ट एसयूभी नेटा एक्स भने ६३ युनिट आयात भएको देखिन्छ । निकै राम्रो बिक्री भइरहेको भए पनि उत्पादक नै बैंकरप्सीमा परेपछि नेटाका उत्पादन नेपालमा पनि बन्द भए ।

