काठमाडौं । दाङको घोराही-तुलसीपुर सडक चार लेनमा विस्तार सुरू भएको छ । निर्माणको जिम्मा पाएको दिवा/बन्दन भगवती जेभीले मंसिर १ गते घोराही उपमहानगरपालिका-१० अमराईदेखि सडक निर्माणको काम सुरू गरेको हो ।
कम्पनीले पहिलो चरणमा दुईवटा स्काभेटर प्रयोग गरेर सडकको दायाँबायाँ साइडमा माटो काट्ने, भर्ने तथा झार–झाडी फाल्ने काम सुरू भएको हो । उक्त सडकखण्डमा रहेका बिजुलीका पोलहरू सार्न बाँकी छ ।
सडक क्षेत्रमा परेका रुख, विद्युत पोलहरू हटाउनुपर्ने भए पनि अहिले निर्माण कम्पनीले तत्काल हटाउन नपर्ने ठाउँबाट सडक निर्माणको काम सुरू गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्रकुमार विष्टले जानकारी दिए ।
उनले बिजुलीका खम्बाहरू हटाउन केही दिनमै विद्युत प्राधिकरण वितरण केन्द्र, घोराही र तुलसीपुरलाई लागत अनुमान तयार गरी स्वीकृतिका लागि पठाइने बताए ।
‘यस सडक खण्डको विभिन्न ठाउँमा रुख, विद्युत पोलहरू हटाउनुपर्ने छ । अहिले हटाउनु नपर्ने ठाउँबाट काम सुरू भएको छ । पोलहरु हटाउन लागत अनुमान तयार गरी स्वीकृतिका लागि विद्युत् प्राधिकरणमा पठाउँछौं,’ उनले भने ।
उनका अनुसार घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवा चोकसम्म २१.५८ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्न लागिएको हो ।
सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्र र फुटपाथसहित ३० मिटर कायम हुने छ । ग्रामीण क्षेत्रमा भने १५ मिटर मात्र कालोपत्रे हुने छ । सडकखण्डको करिब ९.५ किलोमिटर सडक सहरी क्षेत्रमा पर्नेछ ।
यस सडक निर्माणको ठेक्का दिवा र वन्दन भगवती जेभीले भ्याट बाहेक २ अर्ब २४ करोड ५६ लाख १७ हजार १३४ रुपैयाँमा पाएको छ । २०८२ असार २४ गते ठेक्का सम्झौता भएको यो सडक ३ वर्ष (२०८५ असार २४ गतेसम्म) सम्पन्न हुनुपर्नेछ ।
यसअघि भारतको एक्जिम बैङ्कको ऋण लगानीमा २०७६ सालदेखि घोराही-तुलसीपुर चारलेन सडक निर्माणको काम सुरू भएको थियो । तर, निर्माण व्यवसायीको लापरबाहीका कारण सडक लामो समयसम्म अलपत्र परेपछि सरकारले २०८० जेठमा भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँगको ठेक्का सम्झौता तोडेको थियो ।

