काठमाडौं । भारतमा ईभीको बजार हिस्सा तिब्र गतिमा बढ्न थालेको छ । सन् २०२५ को १० महिनामा १ लाख ७४ हजार ८३५ युनिट विद्युतीय कार बिक्री भएको हो ।
सन् २०२४ मा केबल १.६ प्रतिशत ईभीको हिस्सेदारी रहेको भारतमा सन् २०२५ मा बढेर ५ प्रतिशत माथि पुगिसकेको छ । भारतमा अहिले सबैभन्दा धेरै ईभी भारतीय ब्राण्डहरु टाटा र महिन्द्राले नै बिक्री गर्दै आएका छन् ।
टाटा मोटर्ससँग लामो ईभी लाइअप रहेको कारण पनि उसको बिक्री तिब्र गतिमा बढिरहेको हो । महिन्द्राले पनि नयाँ ईभी मोडल गत वर्ष सार्वजनिक गरेसँगै बिक्री बढाइरहेको छ । भारतीय ब्राण्ड टाटा र महिन्द्राले चालु वर्षको १० महिनामा १ लाख १ हजार ७२४ युनिट विद्युतीय कार बिक्री गरेको तथ्यांकमा देखिन्छ ।
भारतमा धेरै ईभी बिक्री गर्नेमा चिनियाँ उत्पादकहरु छन् । विशेषगरी, चिनियाँ लगानीको ब्राण्ड एमजी र चिनियाँ न्यू इनर्जी जाइन्ट बीवाइडी तथा जिली ग्रुपको स्वामित्वमा रहेको भोल्भोले राम्रो संख्यामा बिक्री गर्दै आएका छन् ।
सबैभन्दा धेरै ईभी बिक्री गर्ने चिनियाँ ब्राण्डमा एमजी छ । साथै, बीवाइडी र भोल्भोको बिक्री ठिकठाक छ । तीनवटै ब्राण्डले मिलाएर सन् २०२५ मा ५७ हजार २६० युनिट कार बिक्री गरेका छन् ।
भारतीय बजारमा निकै बलियो मानिएको कोरियन निर्माताहरुको अवस्था त्यति धेरै राम्रो छैन । हुन्डाई मोटर ग्रुपले भारतमा ११ हजार ३५ युनिट विद्युतीय कार बिक्री गरेका छन् । अहिले हुन्डाईले क्रेटा ईभी र कियाले कारेन्सको इलेक्ट्रीक मोडललाई प्राथमिकतामा राखेर बिक्री गर्दै आएका छन् ।
जर्मन लग्जरी कार निर्माताहरु मर्सिडिज, बीएमडब्लू, अउडी र मिनी जस्ता ब्राण्डले विद्युतीय कार बिक्री गर्दै आएका छन् । यी सबै ब्राण्ड भारतको लागि प्रिमियम मानिन्छ । प्रिमियम ब्राण्डका बाबजुद चार ब्राण्डले मिलाएर ३ हजार ७८९ युनिट ईभी बिक्री गरेका हुन् ।
यी धेरै संख्यामा कार बिक्री गर्ने बाहेक फ्रेन्च ब्राण्ड स्टेलान्टिसले ७५० युनिट सिट्रोनका ईभी बिक्री गरेको देखिन्छ । बहु चर्चित अमेरिकी कार निर्माता टेस्ला र भियतनामको ईभी ब्राण्ड भिनफास्ट निकै ठिलोगरी भारतमा आएका हुन् । दुबै ब्राण्डले ठूलो संख्यामा ईभी बिक्री गरिसकेका छैनन् ।
सन् २०२५ को अक्टोबर अन्तिमसम्ममा टेस्लाले १६५ युनिट र भिनफास्टले ११२ युनिट कार बिक्री गरेका छन् ।

